Sunday, April 10, 2011

खाडी हिंडेका दुई सय सात महिला हराए
श्रृजना आचार्य
नेपालगन्ज,२० मंसीर–आफ्नो छोरीको खोजि गरीदिन भन्दै साथमा लिएर गएका दलालसंग गुहार्न जांदा बर्दिया सानो श्री बाह्र नम्बर गाउंकी तुलसी बाठाले दलालकै हातवाट कुटाई खान पर्यो । कुबेत लैजान भन्दै छोरीलाई घरवाट लिएर गएका दलालले बेपत्ता पारेपछि तुलसी छोरीको खोजिमा चार वर्ष देखि भौतारीएकी छन् ।
विपन्न वाठा परिवारका अन्य सदस्य भारत रोजगारीका लागि गएको बेलामा एक्लै घरमा बसेकी राधालाई आफ्नै गाउंका शारदा वेगम र शेरवहादुर केसीले फकाएर कुबेत पठाउन भन्दै भारत लगेका थिए । तर वर्षाै सम्म छोरीको अत्तो पत्तो नभए पछि तुलसीले  प्रहरी र माइति नेपाल लगायतका संधसंस्थामा निवेदन दिएकी छन् । ‘छोरीको ठेगाना देउ भनेर माग्न जांदा उल्दै मलाई कुटे’ तुलसीले भनिन्–‘मेरो छोरी बेपत्ता पार्ने दलाल आफ्नै आंखा अगाडी घुमेको देख्दा पनि कारवाही गर्न सकिन ।’
बाठा मात्र होइन बाह् नम्बर गाउँकै अन्य दुई दर्जन बढी युवतीलाई बेगम र विकले खाडी मुलुक पठाउने भन्दै भारत लगेका छन् । उनीहरुले कुबेत पठाउन भन्दै भारत लगेका कति युवती सम्पर्कमा छैनन भने कति युवती वर्षाै पछि गाउं फर्किएका छन् ।
शेर वहादुरको घरै छेउकी पुतली बिक पांच वर्ष सम्पर्क विहिन भएर एकाएक घर फर्किइन । विदेशमा पैसा कमाउन भनेर गएकी विक पांच वर्ष पछि ज्यान जोगाएर फर्कनु सकेकोमा अहिले गर्व गर्छिन । कुबेतमा घरेलु काम गरेकी बिकले धेरै समय पारीश्रमिक विना काम गर्न परेको बताइन् ।
मानव वेचविखन विरुद्ध काम गर्ने गैरसरकारी संस्था र प्रहरी प्रशासनमा वैदेशीक रोजगारीका लागि खाडी मुलुक  गएका महिला हराएकोले खोजि गर्न आग्रह सहित परेको निवेदनको खात लागेको छ ।
आफन्त र दलाल मार्फत भारतको बाटो हुंदै रोजगारीका लागि खाडी मुलुक गएका महिला वर्षाै सम्म परिवारसंग सम्पर्क विहिन भई हराउने गरेका छन् । कमाउन गएका छोरी, बुहारी वर्षाै सम्म घरपरिवारको  सम्पर्कमा नआएपछि मात्र परिवारका सदस्यले खोजि सुरु गर्छन ।
नेपालगन्ज स्थित माइति नेपालको कार्यालयमा मात्र यो वर्ष वैदेशिक रोजगारीमा खाडी मुलुक गएका २ सय ७ वढि महिलालाई खोजि गर्न भन्दै निवेदन परेका छन् । ति मध्ये बाँके जिल्लाबाट  ३६ र बर्दियावाट २० जना हराएका छन् । बांकी मध्यपश्चिमका अन्य जिल्लाका निवेदन रहेको माइति नेपालले जनाएको छ । अन्य जिल्ला मध्ये सुर्खेतको सबैभन्दा बढी निवेदन छ । तर उद्दार प्रकृया र संयन्त्र नभएका कारण  माइति नेपालले अहिलेसम्म २० महिलालाई मात्र उद्दार गर्न सकेको जनाएको छ । गैरकानुनी तरीकाले भारतको बाटो हुंदै जाने भएकाले सरकारसंग उनीहरुका विषयमा सुचना नहुने र भ्रमण भिसामा गएका महिला खाडी मुलुकमा समेत लुकेर काम गर्नुपर्र्ने भएकाले उनीहरुलाई उद्दार गर्न कठिन हुने गरेको कोहरालाले बताए । युवती हराएको धेरै वर्ष पछि मात्र खोजिका लागि आग्रह आउने गरेकाले पनि खोजिमा कठिनाई हुने गरेको कोइरालाको भनाई छ । माइति नेपालमा २०५१ साल देखि हराएका युवतीको खोजि गर्न अहिले निवेदन परेको छ ।
गाउंमा रोजगारीको सम्भावना नभएकाले विपन्न र घरेलु हिंसा पीडित बढी बेचिने गरेको महिला विकास अधिकृत शोभा शाहको भनाई छ । आफ्नै आंखा अगाडी गएका अन्य ब्यक्ति वर्षाै सम्म हराउंदा पनि सोही दलालको भर परेर अन्य युवती विदेश जान छोडेका छैनन् ।
दलालले युवतीलाई प्रभावमा पर्ने गरेको परामर्श अत्यन्त प्रभावकारी हुने भएकाले पनि बेचविखन विरुद्ध गरीएका परामर्श र कार्यक्रम प्रंभावकारी हुन सकेको छैन । विदेशमा बेचिएर आएका महिलाले समेत दलाल विरुद्ध उजुरी दिन डराउने गरेका छन् ।
बेचविखनमा परेको उजुरी लिएर जिल्ला प्रहरी कहां पुगेका पीडितले नै अदालतमा आफ्नो बयान बदल्ने गरेकाले कानुनी कारवाही हुन नसकेको जिल्ला प्रहरी कार्यलय बाँकेका प्रहरी उपरिक्षक महेश विक्रम शाहले बताए । मानव बेचविखन तथा ओसार पसार विरुद्ध अदालतमा मुद्दा दायर भएका घटनामा पीडितहरुले  आर्थिक प्रलोभनमा परेर बयान बदल्ने गरेका छन् ।
मानव बेचविखनको मुद्दामा कारवाही चलाउन पीडितले दिएको बयान मुख्य आधार हुने जिल्ला अदालतले जनाएको छ । बाँके जिल्ला अदालतका न्यायधिश महेन्द्रराज गौतमले पिडितले दिएको बयानका आधार कतिपय दलाललाई २०वर्ष कैद सजाय समेत भएको बताए । तर यो कारवाहीको संख्या भने अत्यन्तै कम छ ।
बांके जिल्ला प्रहरी कार्यालयले गएको १० महिनामा ८ जना विरुद्ध मानव बेचविखन विरुद्धको मुद्या अदालतमा दर्ता गरेको थियो । पीडितले दिएको बयानका आधारमा मुद्दा चलाइएको ती घटनामा पीडितले नै बयान बदलेका कारण ६ जना अदालतवाट छुटेका छन् ।
बर्दिया सानौ श्रीका दुई दलाल शारदा वेगम र शेरवहादुर विरुद्ध पनि जिल्ला प्रहरी कार्यालयमा पटक पटक निवेदन परेको छ । तर, कानुनी प्रकृया जटिल भएका कारण उनीहरु अहिले सम्म कानुनको दायरामा आउन सकेका छैनन् ।

No comments:

Post a Comment