Wednesday, April 13, 2011



वास्तविक तथ्याङ्क नहुंदा वेपत्ता परिवार अन्यौलमा

श्रृजना आचार्य
नेपालगन्ज,२७ चैत–वेपत्ताका विषयमा सरकार, गैरसरकारी र अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुको फरक÷फरक तथ्याङ्क छन् । माओवादी शसस्त्र द्धन्द्धका क्रममा राज्य र तत्कालिन विद्रोही माओवादीका तर्फवाट विभिन्न वहानामा मानिस बेपत्ता बनाउने काम भयो । त्यो संगै विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय गैरसरकारी संस्थाले आफ्नो कार्यक्षेत्रमा द्धन्द्ध र मानवअधिकारलाई पनि जोडेर काम गर्न थाले ।
एउटै क्षेत्र र एउटै विषयमा काम गरेका विभिन्न गैरसरकारी संस्था र राज्यको वेपत्ता सम्बन्धि तथ्याङ्क भने फरक÷ फरक छ । जसले गर्दा वेपत्ता परिवारका सदस्यलाई अन्यौलता बढाएको छ । कसको तथ्याङ्कलाई विश्वास गर्ने भन्ने अन्यौलता बढाएको वेपत्ता परिवारका सदस्यले बताएका छन् ।
माओवादी शसस्त्र द्धन्द्ध संगै वेपत्ताका क्षेत्रमा काम थालेको इन्सेकले आफुहरु सबै भन्दा बढी वास्तविकताको नजिक पुगेको दावी गरेको छ । इन्सेकको तथ्याङ्कमा माओवादी शसस्त्र द्धन्द्धका क्रममा मुलुकभरवाट ९ सय ३५ जना नागरीक बेपत्ता भएका छन् ।
नागरीक वेपत्ता भएको विषयलाई आफ्नो कार्यक्षेत्र बनाएको अन्तराष्ट्रिय रेडक्रस आइसीआरसिले मुलुकभरवाट एक हजार तीन सय ७७ जना नागरीक बेपत्ता भएको जनाएको छ । एड्भोकेसी फोरमको तथ्याङ्क अनुसार पांच सय २९ जना बेपत्ता छन् ।
वेपत्ता परिवारका सदस्यलाई आफ्ना परिवारका सदस्य वेपत्ता हुनुको कारणवारे जानकारी दिई राहत र परिपुरण दिनुपर्ने राज्यसंग वेपत्ताको वास्तविक तथ्याङ्क नै छैन । राष्ट्रिय मानवअधिकार आयोग, इन्सेक, एड्भोकेसी फोरम र आइसिआरसीले सिफारीस गरेका निवेदनका आधारमा राहत दिने गरेको सरकारले वेपत्ताको वास्तविकता पत्ता लगाउने तर्फ ध्यान दिएको छ्रन । ‘हामी संग प्रत्येक वेपत्ता परिवारको विवरण सहितको तथ्याङ्क छ’ इन्सेकका क्षेत्रिय संयोजक भोला महतले भने–‘हामी वास्तविकताको नजिक पुगेका छौं । ’ उनले इन्सेकले दिएको तथ्याङ्कलाई राज्य र आइसीआरसीले पनि आधार बनाउने गरेको दावी गरे । संयोजक महतले आफुहरको देश ब्यापी संजाल भएकाले पनि पीडितको घरदैलोमै पुगेर वास्तविक तथ्याङ्क ल्याउन सकिएको बताए । त्यस्तै दावी एड्भोकेसी फोरमको पनि छ । ‘हामी पीडितको दैलोमै पुगेका हौं’ फोरमसंग आवद्ध कानुन ब्यवसायी रविन्द्र कर्णले भने–‘वास्तविकताको नजिक पुग्ने कोशीसमा कुनै कसर छोडेका छैनौ ।’
तर फरक÷फरक तथ्याङ्कका कारण वेपत्ता परिवारका सदस्यलाई भने अन्यौलता बढाएको छ । आइतवार महिला उपकार मञ्चले नेपालगन्जमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा सहभागी हुन आएका वेपत्ता परिवारका एक सदस्यले विभिन्न संस्थाको विभिन्नखाले तथ्याङ्कले कसलाई विश्वास गर्ने भन्ने अन्यौलता बढाएको बताए । ‘जिल्ला र सदरमुकाम भन्दा टाढा राज्य र सामाजिक संस्था जांदैनन् गाउंका हामीलाई केही थाहा हुंदैन’ उनले भने–‘हाम्रा हराएका मान्छेका नाम कुन संस्थामा लेखाउने अन्यौलमा परेका छौं ।’
वेपत्ता परिवारका अर्का सदस्य चन्द्रकला उप्रेतीले पीडित आफै घर÷घर नपुग्दा सम्म वास्तविकता आउन नसक्ने बताउंछिन् । ‘सामान्य राहत पाउने लोभका कारण पनि वेपत्ता ब्यक्तिको नाम समेत मृतकको सुचिमा लेखाइएका उदाहरण पनि छन्’ चन्द्रकलाले भनिन्–‘आफ्ना मान्छे किन र कसरी हराएका हुन् भन्ने जान्न पाउने अधिकारका वारेमा वकालत गर्दै तथ्याङ्क संकलन कार्यमा आफै पीडित हिड्ने बेला आएको छ ।’ उनले आफु त्यो अभियानमा लागेको बताइन् ।

No comments:

Post a Comment