Tuesday, April 19, 2011

बांकेमा बन्य श्रोतको अवस्था अध्ययन सुरु

श्रृजना आचार्य
नेपालगन्ज,४ वैशाख– बांकेका रुख विरुवाले कति कार्वन ग्रहण गर्न सक्छन् होला ? जलवायु परिवर्तनले विश्वको ध्यान केन्द्रित गरिरहेको अहिलेको अवस्थामा यो प्रश्नले निकै महत्व राख्न सक्छ । वास्तवमा हाम्रा रुख विरुवा अहिलेको विग्रदो वातावरणीय परिवर्तनमा हामीलाई जोगाउन सक्षम छ छैन ? विश्व बातावरणलाई स्वच्छ राख्न हाम्रा भुमिमा भएका वोटविरुवाले कति प्रतिशत भुमिका खेलेको होला ?
यस्तै प्रश्नको जवाफ खोज्दै नेपाल र केहि विदेशमा समेत अनुभव संगालेका विज्ञ र विशेषज्ञहरु अहिले बांकेका जंगलमा घुम्दै छन् ।
बढ्दो कार्वनडाई अक्साईड (बायोमास) र त्यसलाई ग्रहणगर्न सक्ने जंगल तथा रुख बिरुवाको क्षमता पत्ता लगाउन बांकेका जंगलमा सर्भेक्षण सुरुभएको छ । बन अनुसन्धान बिभागले बांकेका जंगलमा भएका रुखको सख्या र अबस्था सर्भेक्षण गरी कार्वन ग्रहण गर्न सक्ने क्षमता पत्ता लगाउने राष्ट्रिय अभियान थालेको हो ।
फिनल्याण्ड सरकारको आर्थिक र प्राविधिक सहयोगमा संचालन गरेको राष्ट्रिय अभियानलाई सफल बनाउन नेपालमा पहिलो पटक आधुनिक विधि ‘लाइडर’ प्रविधि प्रयोगमा ल्याइएको छ । जसलाई ‘लाइट डिक्टेसन एण्ड रेन्जिङ्ग’ प्रविधि भनिन्छ ।
जसका लागि फिनल्याण्ड स्थित साझेदार संस्थाका अन्तराष्ट्रिय रिडार विज्ञ बशन्तराज गौतम, लाइडर प्रविधिविज्ञ हरि प्रसाद पोख्रेल, बन संरक्षण तथा अनुसन्धान विभागका अधिकृत बशन्त शर्मा र जिपिएस प्रविधिक विज्ञ सुजित कुमार झा लगायतको विज्ञ र विशेषज्ञहरु बांकेका जंगलमा रुखको गोलाई, घनत्व र रुखको गुणस्तर लगायतको अध्ययनमा ब्यस्त छन् ।
तराई र चुरे क्षेत्रका बनहरुको अध्ययन गरी कार्वन ग्रहण गर्न सक्ने क्षमता अध्ययनका लागि सुरु गरीएको सर्भेक्षणका क्रममा अहिले बांकेमा काम भइरहेको अन्तराष्ट्रिय रिडार विज्ञ बशन्तराज गौतमले बताए । देश भरीका तराई र चुरे क्षेत्रका अन्य जंगलमा पनि बांकेको जस्तै अन्य थप पांच समुहले सर्भेक्षण गरीरहेको विज्ञ गौतमले जानकारी दिए ।
हाम्रो मुलुकको जंगलले कति कार्वन ग्रहण गर्न सक्छन् भन्ने सर्भेक्षण नभएकाले अन्य ठुला मुलुकले उत्सर्गन गरेको कार्वनका कारण विग्रीएको बातावरणमा हामी पनि साझेदार बन्नुपर्ने अहिलेको अवस्था छ । तर यो सर्भेक्षण पछि कार्वन उत्सर्ग गरे वापत नेपालले अन्य मुलुकवाट लिन सक्ने लाभका विषयमा आवाज उठाउन राम्रो आधार हुन सक्ने विशेषज्ञहरुले बताएका छन् ।
त्यसका लागि आधार बनाउन सुदुर पश्चिमको कन्चनपुर देखि रौतहट सम्मको तराई र उत्तर चुरेको १० हजार स्क्वायर किलोमिटर क्षेत्रमा पर्न बन जंगलमा विशेषज्ञहरुको टोलीले सर्भेक्षण थालेको लाइडर प्रविधि विज्ञ हरि प्रसाद पोख्रेलले बताए ।
टोलीले यस अघि पहिलो चरणमा हवाई मार्गद्धारा सर्भे गरिसकेको छ । त्यसैको आधारमा अहिले दोस्रो चरणमा डीजीटल प्रबिधि द्धारा स्थलगत रुपमा प्लटीङ्ग गरेर बनको अवस्था अध्ययन गर्न थालिएको जिपिएस प्राविधिक सुजित कुमार झाले बताए ।
बांकेको बनको अवस्था अध्ययनका लागि कुशुममा प्रविधि सहितको वेस स्टेशन राखीएको छ । वेस स्टेशनसंग सहकार्य हुनेगरी बांकेका अन्य जंगल क्षेत्रमा रोवर स्टेशन स्थापना गरी रुखको अवस्था अध्ययन थालिएको झाले जानकारी दिए । ‘ति स्टेशनमा राखिएका प्रविधिले जंगलको अवस्था देखाउछ ’ झा ले भने ।
सर्भेक्षणका क्रममा पांच सेन्टिमिटर डायमिटर(गोलाई) भएका रुख देखि माथिका रुखको अभिलेख राखिएको छ’ विशेषज्ञ गौतमले भने–‘अध्ययन पछि प्राप्त नतिजाका आधारमा नेपालका जंगलले कति कार्वन ग्रहण गर्न सक्छन् भन्ने पत्ता लाग्छ । ’ अध्ययनका लागि बांकेको जंगललाई ८ प्लटमा विभाजन गरी सर्भेक्षण थालिएको हो । मुलुकभरीका जंगललाई चार देखि पांच हजार सम्मका नमुना प्लट बनाई अध्ययन थालिएको छ । सर्भेक्षण अवधिभर प्राविधिक र विज्ञहरुको टोली नमुना प्लटमै वेस स्थापना गरेर बस्ने भएका छन् ।
टोलीले एक महिना भित्र सर्भेक्षणको काम सम्पन्न गरी कात्तिक महिना भित्र प्रारभ्भिक नतिजा सार्वजनिक गर्ने जनाएको छ । सर्भेक्षणवाट प्राप्त भएको नजिताका आधारमा वातावरणीय सन्तुलन, बन संरक्षणका लागि सरकारलाई नीति निर्माणमा सहयोग पुग्ने सुझाव पेश गर्ने विज्ञहरुको जानकारी दिएका छन् । बन सर्भेक्षणका लागि फिल्याण्ड सरकारले आर्थिक र प्राविधिक सहयोग गरेको हो । फिल्याण्डको ५० करोड र नेपाल सरकारको ८ करोड लगानीमा सुरु भएको सर्भेक्षणमा डब्लु डब्लु एफले पनि सहयोग गरेको छ ।

5 comments:

  1. Thanks Srijana ji, for this news. I appreciate your young, energetic and vibrant work in the Nepalese media sector. Keep it up!

    Basanta

    ReplyDelete
  2. Thank you srijana ji for the article !!!

    ReplyDelete