Friday, February 24, 2012

परालको त्यान्द्रो

ठुलो समुन्द्रको छालमा परेर अन्तिम श्वास लिइरहको उसले त्यही छालमा बग्दै आएको सानो परालको त्यान्द्रोमा आफ्नो जिवन देख्छ । आफ्नो शरीरको तौल र त्यो परालको त्यान्द्रोको क्षमताको आकलन गर्न समेत चाहदैन । किनभने त्यो उसको चाहनाको विपरीत हुन पुग्छ ।
यो जिन्दगी र संसार देखि विरक्तिएर आफै देह त्याग गर्न खोजेको त्यो पल विर्सन्छ । मित्रता र विश्वासको बदलामा यो संसारवाट पाएको घात र तिरस्कार विर्सन्छ । हरेक पाइलामा गडेको कांडाको घाउ निको भएको छैन भन्ने विर्सन्छ । परालको त्यान्द्रो समातेर फेरी फर्कन लागेको यो संसारले उसलाई चिन्दैन, बुझ्दैन अनि यहां उसको कोही छैन भन्ने कुरा समेत विर्सन्छ । उसको आंखा अगाडी परेको त्यो परालको त्यान्द्रोले मरेको उसको मनमा फेरी जीवन भरीदिन्छ । आशा जगाई दिन्छ । उसले छोड्न चाहेको संसारमा चमत्कारीक परिवर्तन भएको महशुष गर्छ । यो संसारलाई उसको आवश्यकता छ र त जिवन बनेर परालको त्यान्द्रो उसको अगाडी देखा पर्यो भन्ने आफु अनुकुल परिस्थितिलाई ब्याख्या गर्छ । उसको प्रतिक्षामा कोही बसेको छ, उसको वियोगमा कोही छटपटिदैछ कल्पना सजाउन थाल्छ । यो स्वार्थी र घातक संसारमा अब कहिल्यै फर्केर आउदिन भनेर गरेको त्यो प्रण बिर्सन्छ । बिस्तारै हात अघि बढाउंछ । परालको त्यान्द्रोको सहारावाट त्यो विशाल समुन्द्रमा डुबिरहेको विशाल शरीरलाई पार लगाउने असफल प्रयास गर्छ । अनि अन्तिम पटक उसका ति कल्पना भताभुङ्ग हुन्छन् । सपना चकनाचुर हुन्छन् । परालको त्यान्द्रो देखेर प्राण भरीएको उसको मन अन्तिम पटक टुक्रिन्छ । विस्तारै विस्तारै त्यो समुन्द्रको गहिराईमा शरिर धसिदै जान्छ विलिन हुदै जान्छ । फेरी कहिल्यै नफर्किने गरी । 

Monday, February 13, 2012

बिचरा भेरी अञ्चल अस्पतालका कर्मचारी




श्रृजना आचार्य 
नेपालगन्ज स्थित भेरी अञ्चल अस्पतालमा आजकल धेरै कर्मचारीले बिदा लिएका छन् । म्यानेजमेन्ट सेक्टरमा काम गर्नेलाई निकै ठुलो समस्या आइलागेको छ । अस्पतालका सुपरीटेण्डेण्टको कोठामा काम लिएर जानुपर्यो भने कर्मचारीका लागि ठुलो टाउको दुखाई 
हुन्छ । सुपरिटेण्टेण्डको कोठामा जानु पुर्व नै के वहाना बनाएर निस्कने हो भनेर उपाय पहिले नै ठिक्क पारेर जानुपर्छ । नत्र फसीने डर हुन्छ । ‘दुई साता भयो धेरै कर्मचारीले वहाना बनाएर बिदा लिएका छन् ’ एक जना चिकित्सकले भने । 
म कार्यरत कान्तिपुर टिभीका लागि अस्पतालको अवस्थाका बिषयमा रिपोर्ट बनाउनुपर्ने थियो । त्यसैले एक साता अघि म अस्पताल पुगे । मध्य र सुदुरपश्चिमका विरामीलाई निको पार्न स्थापना गरीएको रेफर अस्पताल आफै बिरामी जस्तो छ । जता सुकै फोहर , अब्यवस्थित, विषयगत चिकित्सक छैनन्, दाताले दिएका प्रविधि पनि प्राविधिक नभएर संचालनमा छैनन् । 
त्यही विषयलाई रिपोर्ट बनाउने बिचार गरे । त्यहां पुगेर सुरुमा अस्पताल विकास समितिका अध्यक्षलाई भेटेर मलाई चाहिने सुचना लिए । सोही अनुसार भिजुअल पनि संकलन गरे । अब अस्पतालका सुपरीटेण्डेण्टलाई भेटेर उनको ‘वाइट’ लिनुपर्ने थियो । मलाई सुरुमै त्यहां कार्यरत कर्मचारीले देखाएको असजिलो पन देखेर अप्ठेरो लागिरहेको थियो । त्यसैले पुर्व सुपरीटेण्डेण्ट डा.श्याम सुन्दर यादवलाई भेट्ने योजना बनाए । तर उहां भेट हुनुभएन । अब पर्यो फसाद अस्पताल प्रमुखलाई नभेटी मेरो सामग्री पुरा नहुने । 
जे त पर्ला लागियो अस्पताल प्रमुख डा. नरेन्द्र रायको कोठामा । म लगायत हामी चार जना थियौ । सुरुमा कोठामा पसेर नमस्ते टक्रयायौ । हामी कोठा भित्र पसेको देखेर अस्पतालका केही कर्मचारी अस्पताल प्रमुखको कोठा अगाडी बाहिर राखिएको बेञ्चमा आएर बसे । डक्टर राय संगको हाम्रो भलाकुसारी बडो रुचिका साथ वाहिरवाट हेरीरहेका थिए । हाम्रो समाचारका लागि आवश्यक पर्ने प्रश्न मात्र राखेर बाहिर निस्कने योजना बनाएर हामी अस्पताल प्रमुखको कोठामा प्रवेश गरेका थियौ । तर हाम्रो योजना सबै बिफल भए । 
रिपोर्टिङ्गको क्रममा विषय अनुसार हामीले धेरै मानिस संग भेटघाट र कुराकानी गर्नुपर्छ । पत्रकारीता पेशा नै यस्तो हो त्यो क्रममा अनौठो अनौठो बानी ब्यहोरा भएका मानिसहरु संग जम्का भेट गर्ने मौका मिल्छ । यस्तो मौका कहिले मेरो लागि राम्रो अवसर हुनेगरेको छ भने कहिले ब्यवस्थापन गर्न निकै अप्ठेरो समेत पर्ने गरेको छ । आजको भेटको ब्यवस्थापनका लागि मलाई निकै कठिन भयो । 
मानसिक बिरामीका लागि डा. राय निकै सफल चिकित्सक हुन् यसमा कुनै दुई मत छैन । रायको कुशलता नेपालमै कहलिएका चिकित्सक मध्ये पर्छ । एउटा बिरामीको हैसीयतले उनिं संगको भेट सहज हुन्थ्यो होला तर अस्पताल प्रमुखसंग एउटा संचारकर्मीले हैसीयतले भेट्दा मैले लिन चाहेको सुचना लिन मलाई निकै कठिन भयो । 
न उनी मेरो प्रश्न राम्रो संग सुन्छन् नत उनंले बोलेको कुरा मैले ने बुझ्छु । कस्तो आपत पर्यो भने विषय केन्द्रित कुराकानी नै हुन सकेन । समाचारलाई चाहिएको विषय बस्तुमा कुराकानी गर्न गएका हामी बिचरा उनंको कुरा पो सुनेर बस्नु पर्ने अवस्था आयो । 
१० मिनटमा निस्कने भनेर गएका हामी आधा घण्टा बित्यो हाम्रो विषय बस्तुमा कुरा नै गर्न सकेनौ । त्यो क्रममा उनले आफ्नो ससुरालिको नाताका कारण अहिले सम्मका अस्पताल प्रमुखले गर्न नसेको ठुलो योजना भित्र्याएको खबर सुनाए । सामान्य औषधि उपचारको ब्यवस्था समेत नभएर सर्वसाधारणले मुद्धा हाल्नुपर्ने अवस्थामा पुगेको अस्पतालाई मेडिकल कलेज बनाउने योजना रहेको उनले सुनाए । 
आधाघण्टा सम्म यस्तै भलाकुसारी भइरहे । म आफ्नो समाचारको विषय केन्द्रित प्रश्न राख्दै जान्थे तर त्यो प्रश्नको जवाफ दिनुको साटो उनी आफ्नै कुरा अगाडी सार्थे । उनी भन्दै थिए ‘म अस्पताल प्रमुख भएर आएदेखि ब्यवस्थापनमा निकै कडा गरेको छु, विरामीको गुनासो त सुन्नै सक्दिन’ त्यति भन्दै गर्दा एकजना बिरामी गुनासो लिएर आइपुगे । ‘कि यहां निको हुंदैन भन्नु पथ्र्याे एक हप्ता उपचार गराइसके अझै डाक्टरले केही भन्दैनन् बिरामीका आफन्तको गुनासो थियो । ’ 
यति सुनीसके पछि उनी छेवैको सोफामा बसेकी एक जना महिला कर्मचारीसंग निकै कड्कीए । ‘तत्काल जानुस के भएको हो हेर्नुस ।’ 
उनी विरामीको आफन्त र महिला कर्मचारीसंग ब्यस्त हुन थालेपछि बाहिर निस्कने उपयुक्त समय यहि हो भन्ने सम्झेर म झोला बोकेर ढोकै निर पुगेको थिए । उनले देखेर बोलाए । मलाई तपाईको फोन नम्बर, इमेल आइडि सबै दिनुस् । तपाई संग कुरा गर्नुछ एक छिन बस्नु भन्दै थिए  म भने मैले मेरो नाम र अफिसको फोन नम्बर सबै लेखिदिएको छु भन्दै उनको कुरा सुनेको नसुन्यै गरेर बाहिर निस्कीए । म बाहिर निस्कदा सम्म पनि उनी के के भन्दै थिए । म हुन्छ सर भन्दै वाहिर वाहिरीए । मलाई त्यसरी निस्कीएको देखेका उनका कर्मचारी किन भाग्नुभयो भन्दै सोध्न थाले ? 
मेरो जस्तै हालत त्यहां काम गर्ने कर्मचारीले दिनहुं भोग्नुपर्ने रहेछ । एउटा काम लिएर प्रमुखको कोठामा गयो उनले नै अनेक कुरा सुनाउने । अनेक बहाना गरेर झमेला लगाउने । हस्ताक्षर गर्नुपर्ने कागजातमा हस्ताक्षर नगरीदिने । ‘तपाई एक छिन भेट्न आउंदा त भाग्नुपर्ने अवस्था आयो हामी कसरी दिनहुं काम गर्छौ होला एक जना कर्मचारीले गुनासो पोखे ।’ धेरै कर्मचारी यस्तै अवस्था आएकाले वहाना बनाएर बिदामा बसेका छन् । दुई साता भयो हाम्रो दुर्गती भएको छ । कर्मचारी गनथन गर्दै थिए । े
भेरी अञ्चल अस्पताल मध्य र सुदुरपश्चिमको केन्द्रबिन्दु । दिनहुं हजारौ नागरीक स्वास्थ्य सेवाका लागि पुग्छन् । दर्जनौ काम कर्मचारीले भ्याउनुपर्ने हुन्छ । त्यसका लागि एउटा कर्मचारीलाई दर्जनौ पटक अस्पताल प्रमुखलाई भेट्नुपर्ने हुन्छ । तर कर्मचारी उनको कोठामै जान चाहंदैनन् । 
‘अस्पतालको सबै काम चौपट छ’ खाजा खान जिल्ला अदालतको क्यान्टिनमा जांदा भेटिएका एक जना चिकित्सकले गुनासो सुनाए–‘हामीले त हुंदैन भनेका थियौं तर मन्त्रालयवाट आदेश आएकाले स्विकार गर्न कर लाग्यो ।’