Monday, September 3, 2012

हाम्रा मान्छे कहां छन् ?


श्रृजना आचार्य 
बर्दिया नौलापुर गाविस ४ रानीपुरकी ६० वर्षिया जगतकुमारी बस्नेतले आफ्ना वेपत्ता २ छोराको खोजि गर्न लागेको झण्डै ११ वर्ष भयो । २०५८ सालमा घरमै बसेका उनका लक्का जवान छोराहरुलाई तत्कालीन नेपाली सेनाले माओवादीको आरोपमा नियन्त्रणमा लिएर बेपत्ता बनाएको हो । उनका अर्का एक छोरा समेत यातनावाट अपाङ्ग बनाइएका छन् । 
छोरा केशर वहादुर बस्नेत र गणेश वहादुर बस्नेत मरेका हुन वा जिउंदै छन् भन्दै खोज्दै हिड्दा उनका पैतला खिइएका छन् । छोराको वियोगमा आंशु झार्दा झार्दा उनका आंखा समेत कमजोर भएका छन् । छोराको खोजि गरीदिन अनुनय गर्दै उनी नपुगेको कुनै सरकारी र गैरसरकारी निकाय छैन । तर उनको बिलौना अहिले सम्म कसैले सुनेको छैन । उमेरले डांडा कांडा ढाकिसक्यो तर उनको बुढेसकालमा सहारा दिने छोरा बेपत्ता छन् । बांकी रहेको एउटा छोरा पनि सेनाको यातनाले अपाङ्ग छन् । 
यस्तो अवस्थामा पनि उनको आशाको दियो अझै निभेको छैन । कुनै दिन त ति छोराहरुको अवस्था थाहा पाउन सक्छुकी भनेर उनी निरन्तर लागिरहेकी छन्. । त्यसैले कुनै पनि गैरसरकारी निकायले वेपत्ता र द्धन्द्ध पीडितका पक्षमा आयोजना गर्ने हरेक कार्यक्रममा उनी एउटा आश बोकेर जान्छिन् । कतै उनका छोराको विषयमा जानकारी पो पाइन्छकी भनेर तर फर्किदा उनी निरासा लिएर फर्किन्छिन् । छोरा छोरीको सहारामा बुढेसकाल बिताउनुपर्ने समयमा उनी छोरा जिउंदा छन् की मरेका छन् भन्दै खोज्दै हिडने गरेकी छन् । 
यस्तै आशा बोकेर यो पटकको वेपत्ता विरुद्धको अन्तराष्ट्रिय दिवस मनाउन बर्दियाको गुलरीया पुगेकी यि बुढी आमा एक पटक फेरी ति छोराको तस्बिर हेरेर रोइन् । ब्यानरमा उनका दुई छोराका तस्बिर पनि बेपत्ताका सुचिमा राखिएको थियो । दिउसो ११ वजेको टन्टलापुर घाममा त्यो ब्यानर लिएर र्यालीमा सहभागी भएर गुलरीया बजार घुमिन । ‘बेपत्तालाई सार्वजनिक गर’ भन्दै नारा लगाइन । अनि कार्यक्रम स्थल फिल्म हलमा पुगेर त्यो ब्यानर राखेर अनगिन्ति बेपत्ताको फोटोहरुमा आफ्ना छोराको तस्बिर खोज्न थालिन् । 

छोरा केशर वहादुरको तस्बिर फेला पारेपछि उनी डांको छोडेर रुन थालिन् । भनिन ‘नानी यस्तो किन गर्छन के ? खाटा लागेको घाउ यो तस्बिर हेरेर फेरी आलो भयो, ’ यस्तो फोटो नराखि दिए पनि त हुन्थ्यो नि । ’ 
केशरलाई सेनाले पक्राउ गर्दा उनको विहे गर्ने कुरा चल्दै थियो । ‘घरमा बुहारी भित्र्याउने बेला भएको थियो, तर दैवले वेपत्ता पार्यो’ धोतीको सप्कोले आंशु पुछ्दै भनिन्–‘रुदा रुदा आंखा कमजोर भइसके दर्जन पटक फुल्टेक्रा आंखा देखाउन गइसके तर सन्चो पनि हुंदैन ।’ 
केशरको तस्विर हेरेर विह्वल बनेकी जगतकुमारीले गणेशको तस्बिर हेर्न सकिनन् । ‘अर्काे छोराको फोटो पनि त होलानी नानी देख्न नपरे हुन्थ्यो’ उनले भनिन्–‘यस्ता कार्यक्रम गरेर हामीलाई रुवाएर के फाइदा होला र ? ’
मध्यपश्चिमको वर्दिया जिल्ला जहां माओवादी शसस्त्र द्धन्द्धका क्रममा सबैभन्दा बढी झण्डै २५० बेपत्ता पारीए । मध्यपश्चिम क्षेत्रवाट राष्ट्रिय मानव अधिकार आयोगमा ६ सय ९६ जना वेपत्ताको खोजि गर्न भन्दै निवेदन परेको छ । उनीहरु कसैले पनि आफन्तका विषयमा जानकारी पाउन सकेका छैनन् । 
जगतकुमारी जस्तै आफन्तको खोजि गर्दै भौतारीनेहरुको न्यायको लडाई अझै सकिएको छैन । बर्दियाको गुलरीयामा वेपत्ता दिवस मनाउन पुगेका जगतकुमारी जस्तै थुप्रै वेपत्ताका आफन्तले आफ्ना वेपत्ता भएका पति, छोरा, छोरी को तस्बिर हेरेर आंशु बगाए । 
बर्दियाकी जगतकुमारीको जस्तै अवस्था बांके कोहलपुर ३ की देविसरा बिकको पनि छ । उनले पनि आफ्ना पती धन बहादुर विकको खोजि गर्न लागेको एक दशक बितेको छ । घर भित्र सुतेका उनका श्रीमान धनवहादुरलाई सुरक्षाकर्मीले वेपत्ता पारेका हुन् । कमाएर ल्याउने श्रीमान बेपत्ता भएको पीडा एकातिर छ भने अर्काेतिर बालबच्चा हुर्काउन र पढाउने समस्या । 
माओवादी शसस्त्र द्धन्द्ध सकिएर मुलुक शान्ति प्रकृयाको बाटोमा लागिसक्दा पनि बेपत्ता परिवारको पीडा भने जस्ताको तस्तै छ । आफन्त फर्केर आउने आश बोकेर बसेका छन् यिनिहरु । 
राज्यले उनीहरुको पीडा र समस्या नसुने पछि पीडितहरु आफै भेला हुने आफ्ना दुख सुनाउने र मन हलुका गर्ने गरेका छन् । त्यही मनको गाठो फुकाउन संधैका वर्षहरुमा झै यो वर्ष पनि बेपत्ता परिवारका सदस्यहरुले २९ औ अन्तराष्ट्रिय वेपत्ता दिवस मनाएका छन् । केही अपेक्षा र केही निराशाका बिचमा दिवस मनाउन बर्दियाको गुलरीयामा पुगेका बांके, वर्दिया, दाङ्ग र सुर्खेतका हजारौ बेपत्ता परिवारका सदस्यहरुले आफन्त सम्झेर आंशु बगाएका छन् । बेपत्ता भएका आफन्तको तस्बिर हेरेर रोए,तस्बिर बोकेर जुलुसमा सहभागी भए । खाटा बसेको घाउ आलो बनाउदै आफन्तवाट वियोग हुंदाको दर्दनाक घटनाको फेहरीस्त सुनाए । वेपत्ताका आफन्तले आफ्ना लागि केही गर्न नसकेको भन्दै सरकार र माओवादी पार्टीको चर्काे आलोचना गरे । 
आफन्त बेखबर हुंदाको बेदना र पीडा मनमा राखेर राज्यलाई नम्र तरिकाले न्याय मागेका वेपत्ताका परिवारहरुले अब भने आन्दोलन गर्ने उद्घोष गरेका छन् । आफन्तको अवस्था जान्न पाउने नैसर्गिक अधिकार प्रति राज्यले वेवास्ता गरेकाले बाध्य भएर आन्दोलनको बाटो समात्नु परेको उनीहरुको भनाई छ । 
बर्दियाको गुलरीयामा वेपत्ता दिवस मनाउन भेला भएका मध्यपश्चिमका वेपत्ता परीवारका सदस्यहरुले आफ्ना माग सम्बोधनका लागि दवाव दिन आन्दोलन गर्ने उद्घोष गरेका छन् । राजनीतिका आधारमा पीडितलाई विभाजित गरेर राजनीतिक दलका नेताहरु सत्ता लिप्सामा लागेकाले आन्दोलनको विकल्प नभएको उनीहरुको भनाई छ । बेपत्ता आफन्तको बारेमा सत्य तथ्य पत्ता नलाग्दा सम्म सम्पुर्ण वेपत्ता परिवारले संयुक्त रुपमा शान्तिपुर्ण तर शसक्त आन्दोलन गर्ने उद्घोष गर्दै यो वर्षको अन्तराष्ट्रिय वेपत्ता दिवस मनाएका छन् ।