Monday, May 30, 2011

नयां संविधानः आशा र निराशा


श्रृजना आचार्य
नेपालगन्ज,१५ जेठ–राजनीतिक दलहरुले संविधान सभाको म्याद थप्ने क्रममा गरेका पांच बुंदे समझदारी स्पष्ट  कार्ययोजना र मार्ग चित्र बिना आएका कारणले थपेको तीन महिनाको अवधिमा पनि संविधानको खाका तयार हुनेमा बांकेका धेरै नागरीक अगुवा आशावादी छैनन् ।
उनीहरुले यो समझदारी संविधान सभाको म्याद थप गर्नका लागि मात्र गरिएको समझदारी भनेका छन् । ‘प्रयास सकारात्मक हो तर कार्यान्वयन हुन्छ भन्नेमा शंका छ’ अधिवक्ता वशन्त गौतमले भने–‘पांच वुंदे सहमति अमुर्त छ ।’ उनले राजनीतिक दलले फेरी पनि पांच बुंदे सहमति पत्रमा उल्लेख भएका कुरामा टेकेर थप सहमति र सम्झौताका लागि राजनीतिक खिचातानीमा लाग्ने संकेत देखेका छन् । ‘स्पष्ट कार्ययोजना छैन सहमतिलाई जसले जसरी ब्याख्या गरे पनि हुन्छ’ अधिवक्ता गौतमले भने ।
सामाजिक कार्यकर्ता इश्वरी विकले त पांच बुंदे सहमतिलाई षडयन्त्रमुलक सहमति भनेका छन् । ‘पुर्ण निकासका रुपमा सहमतिलाई हेर्न सकिन्न, यो क्षणिक निकास हो’ विकले भने–‘स्पष्ट खाका नभएकाले भोलीका दिनमा झन संकट निम्त्याउंछ ।’
उनले सहमतिमा भएको प्रधानमन्त्रीले राजनीनामा दिने र राष्ट्रिय सरकार गठन गर्ने भन्ने विषयमा नै राजनीतिक दलहरु थपेको समय सम्म अलमलिन सक्ने बताए । ‘राजनीतिक दलहरुको चरित्र देखिएकै छ’ विकले भने–‘थपेको समयमा राष्ट्रिय सरकार पनि बन्ला भनेर ढुक्क हुन सकिन्न ।’
पत्रकार सुरेन्द्र काफ्लेले राजनीतिक दलको कृयाकलापलाई नाटक मञ्चनको संज्ञा दिए । ‘रातभरी नसुतेर टिभीमा राजनीतिक दलका कृयाकलाप हेरीयो’ पत्रकार काफ्लेले भने–‘नाटककै गरे जस्तो देखियो ।’ उनले पनि सरकार बन्ने कुराले लामो समय लिने र त्यसले संविधान निर्माणको विषयलाई पाखा लगाउन सक्ने आशंका ब्यक्त गरे । ‘विश्वास गर्ने आधार कहिं कतै देखिएन’ काफ्लेले भने–‘ कार्ययोजनाको खाका सहित सहमति आएको भए आशा गर्न सकिन्थ्यो ।’
तर उनले नागरीक संग राजनीतिक दललाई विश्वास गर्नु भन्दा अर्काे विकल्प नभएको बताए । ‘हामी नागरीक बाध्यताको घेरामा छौं’ उनले भने–‘राजनीतिक दललाई विश्वास गर्नु हाम्रो बाध्यता हो ।’ सर्वाेच्च अदालतले पनि संविधान सभाको म्याद ६ महिना भन्दा बढी थप्न नमिल्ने भनेर फैसला गरेकाले राजनीतिक दलहरुसंग तीन महिनामा संविधानको खाका ल्याउनुको विकल्प नभएको उनले बताए ।
ब्यवसायी दामोदर आचार्यले भने संविधान सभाको म्याद थपिएको विषयलाई सकारात्मक रुपमा लिएका छन् । उनले जसरी रातारात भएपनि राजनीतिक दलहरु एउटा सहमतिमा आए त्यसरीनै संविधान निर्माणको कामलाई पनि निरन्तरता दिए समयमै संविधानको खाका आउनेमा उनी विश्वस्त छन् ।
‘विश्वस्त त हुनै पर्छ’ ब्यासायी आचार्यले भने–‘राजनीतिक दललाई नकारात्मक रुपमा हेर्ने भन्दा पनि नागरीक अगुवाहरुले बाटो देखाउनुपर्छ ।’
अर्का सामाजिक कार्यकर्ता अञ्जु पाठकले अब पनि संविधानको खाका नआए मुलुक संकटमा जाने भएकाले राजनीतिक दलहरु बिच बिकल्प नभएको बताइन् । ‘संविधान सभाको बैठक समेत नबसेर सभासदहरुले तीन वर्षको महत्वपुर्ण समय खेर फालेका छन्’ पाठकले भनिन्–‘अब राजनीतिक दल र सभासदले समयको महत्वलाई बुझ्नुपर्छ ।’
बांकेका नागरीक अगुवाहरुले राजनीतिक दलको चरित्र सुधार्न र थपेको समयमा संविधानको खाका ल्याउन अब नागरीक समाजको ठुलो भुमिका हुने देखेका छन् । ‘अब नागरीक समाजले क्याम्पेनिङ्गको काम गर्नुपर्छ’ सामाजिक कार्यकर्ता विकले भने–‘संविधानका विषयमा सामान्य जानकारी समेत नभएका नागरीकलाई सचेतीकरण गर्न जरुरी छ ।’ ब्यवसायी आचार्यले सबै क्षेत्रलाई अधिकारका कुरा संविधानमा खोज्नुपर्ने सुझाव दिए । ‘अब बन्द हड्ताल गरेर अधिकार खोज्ने होइन’ ब्यवसायी आचार्यले भने–‘संविधान निर्माणको विषयलाई प्राथमिकतामा राखेर आफ्ना कृयाकलाप अगाडी बढाउनुपर्छ ।’ उनले राजनीतिक दललाई वाटो देखाउने र समयमै संविधान जारी गर्न नागरीक समाजले अहिले नै दवाव मुलक कार्यक्रम गर्नुपर्ने बताए । अधिवक्ता बशन्त गौतमले सर्वसाधारण नागरीकलाई जागरुक गराउने काम र राजनीतिक दललाई कर्तब्य पुरा गर्न दवाव दिने काम अहिले देखि नै सुरु गर्नुपर्ने बताए । पत्रकार सुरेन्द्र काफ्ले नागरीक समाज पनि राजनीतिक विचारधारावाट प्रभावित भएकाले पहिला निष्पक्ष हुने र त्यसपछि दवाव मुलक कार्यक्रम संचालन गर्नुपर्ने बिचार राखे । उनले थपेको एक वर्षको अवधिमा संविधान निर्माणका लागि नागरीक समाजवाट दवाव नपुगेको बताए । ‘जेठ १४ नजिकिदै गए पछि मात्र नागरीक समाज पनि तातेको देखियो’ काफ्लेले भने–‘दवावमुलक कार्यक्रमका लागि नागरीक समाजले अब ढिलो गर्नुहुंदैन ।’
मध्यरात सम्म बसेर सहमति गरेका राजनीतिक दलहरुले त्यसको ६ घण्टा नबित्दै सहमतिलाई आ–आफ्नै ढंगले ब्याख्या गर्न थालिसकेका छन् । सत्तारुढ दलले यो सहमतिलाई चमत्कारीक परिवर्तनको संज्ञा दिएका छन् भने संविधान सभाको म्याद थप्ने विषयमा मतदानमा भाग नलिएका मधेसवादी दलहरुको आशा झिनो छ ।


Friday, May 27, 2011

विजोग छ अवस्था


संविधान नबनेको बहाना बनाउंदै जेठ १४ आउनु केही दिन देखि लगातार बन्दै बन्द भए । कहिले कसको बन्द, कहीले कस्को बन्द । बन्दै बन्दको राजनीतिमा नेपाली नागरीकले पाउनु सम्मको सास्ती पाए ।
वर्ष भरी भारतका विभिन्न ठाउंमा गएर मजदुरी गरेर घर फर्कन लागेका नेपालीले सबै भन्दा ठुलो हण्डर खाए । घर पुग्ने उमंग लिएर नेपालगन्ज सिमाना पुगेका नेपालीहरु लगातारको बन्दको खबरले निरास भए । बल्ल बल्ल कमाएर ल्याएको दुई चार हजार रुपैया पनि नेपालगन्जका होटलमा खर्चेर घरजाउं कि भारत फर्काै भन्ने अवस्थामा पुगे ।
संविधान नबनाउने राजनीतिक दल, सभासद अनि दुख पाउने हामी यो कस्तो अन्याय ?
मुलुक भर बन्दको राजनीति चलिरहंदा काठमाण्डौमा बसेका राजनीतिक दलहरु भने कुर्चीकै राजनीतिमा ब्यस्त छन् । संविधान सभाको म्याद थप्ने प्रमुख काम, लक्ष्य, गन्तब्य भए पनि सबैले त्यसका लागि सर्त राखेका छन् । जसको फाइदा उठाउंदै बन्दको श्रृंखला पनि बढ्दो छ ।
कहिले त आयोजक बिना नै बन्द गरिए । १२ गते सांझ मलाई एक जना स्थानिय माओवादी नेताले फोन गरे । १० र ११ गतेको विश्व हिन्दु महासंघको बन्द थियो । त्यसको अगाडी थारुवानको बन्द । लगातारको बन्दले आजित परेको बेलामा अब त बन्दको सिलसिला सकियो भनेर श्वास फेर्न नपाउंदै ति नेताले प्रश्न गरे भोली कसको बन्द हो ?
लौ पार्यो वित्यास । भोलीको बन्द त मलाई थाहा छैन मैले भने । कस्तो पत्रकार तपाई बन्द कसको भन्ने पनि थाहा नपाउने । लाग्छ म आफै हुं बन्द आयोजक जसरी ती नेताले ब्यङ्ग गरे ।
लगातारको बन्दले आफ्ना आधारभुत आवश्यकताका सामान किनमेल गर्न नपाएर अप्ठेरोमा परेको बेलामा फेरी बन्दको हल्ला । मैले पनि दुई चार जनालाई फोन घुमाए । भोली कसको बन्द हो ? तर कसैवाट सहि उत्तर आएन । बन्द भन्ने सबैले सुनेका छन् तर कसले गरेको थाहा छैन ।
नभन्दै भोली पल्ट दिनभरी गाडि चलेन । हल्लै हल्लाले बन्द भए पछि यस अघि बन्दको आयोजना गरेकाहरुलाई सोधियो । बन्दको आयोजना तपाईहरुले गरेको हो ? उनीहरुले मिडियालाई बन्द आफुहरुले नगरेको स्पष्ट पारेपछि दिउसोवाट यातायात र बजार सुचारु भयो ।
यस्तो विजोग छ नेपालको अवस्था । गर्ने पर्ने काम चाहि नहुने तर गर्ने नहुने काम चाहि हल्लाका भरमा पुरा हुने कस्तो उल्टा जमाना आएछ । हल्लै हल्लाका कारण सयांै नागरीकले सास्ती पाए । त्यसको जिम्मेवारी कसले लिने ? यहां त एक जनाले नगरको चोकमा उभिएर भोली बन्द है भनेर दुई चार जनाले सुन्नेगरी भने पनि वजार ठप्प हुने अवस्था आयो । यस्तो अराजकता, कानुनको खिल्ली उडेको अवस्था कहिले सम्म हुने ?
तीन सय ६५ दिनमा मध्यपश्चिममा एक सय ३५ दिन त बन्द भए । त्यसमा पनि सबै भन्दा बढी बन्द चैतमा भएको छ । चैतमा मात्र मध्यपश्चिममा २६ दिन सम्म बन्द भयो । यस्तो तालिका हेर्दा लाग्छ अब बन्द कहिले होला भनेर खोज्नु भन्दा पनि बन्द खुल्ने दिन कहिले होला भनेर क्यालेण्डरमा चिनो लगाउनुपर्ने बेला भएको छ । नेपालगन्जवाट काठमाण्डौ जान हिंडेको मान्छे कहिले गन्तब्यमा पुग्छ कुनै ठेगान छैन । फर्कने आस त कमै गरे हुने भो । बन्दको न रुप छ रंग छ । जतिवेला मन लाग्यो त्यति बन्द । जसलाई सनक चढ्यो उसैले बन्द गरेको छ । अझै अनौठौ त कहिले कुनै जिल्ला बन्द, कहिले कुनै सडक खण्ड बन्द, कहिले कुनै नगर बन्द, कहिले क्षेत्र बन्द, कहिले अञ्चल बन्द त कहिले पुरै नेपाल बन्द ।

Sunday, May 8, 2011

पुष्पलाल चोकमा सभासदको चर्तिकला


श्रृजना आचार्य
उनी घरी रिक्सामा चढ्थिन अनि ओर्लन्थिन । मानौ कुनै महत्वपुर्ण कुरा विर्सिरहेकी छन् । हातमा रहेको मोवाइलमा कुरा गरिरहन्थीन मानौ कसैलाई अर्ति उपदेश दिंदैछन् । तर उनको मोवाइलमा नम्बर डायल भने भएको हुदैनथ्यो ।
पुष्पलाल चोकको वल्लो छेउ र पल्लो छेउ ओहोर दोहोर गर्दा लाग्थ्यो कसैको प्रतिक्षाका लागि समय कटाउन उनलाई मुस्किल परिरहेको छ । बोलीरहन्थीन तर बोली बुझिदैनथ्यो ।
एउटा सामान्य मानिसले यस्तो चर्तिकला गरेको भए सर्वसाधारण मानिसलाई उनी मानसिक सन्तुलन ठिक नभएकी महिला हुन भनेर अड्कल लगाउन कुनै मुस्किल पर्दैनथ्यो । तर उनी त असाधारण मानिस थिइन । हामी सबैले हाम्रा लागि संविधान लेख्न भनेर संसदमा पठाएकी सभासद् ।
असाधारण भएकै कारण उनलाई आफु असुरक्षित छु भन्ने लागेको हुनसक्छ । त्यसैले असुरक्षित भएको भन्दै सभासद सारदा नेपालीले नगरको ब्यस्त पुष्पलाल चोकमा निस्केर सुरक्षाकर्मीको खोजि गर्न निस्कदा  वरपरका दर्शकहरुलाई समेत दंग पारिन ।
चोकमा सुरक्षाका लागि तैनाथ सुरक्षाकर्मीलाई आफु सभासद भएको कुरा गर्वका साथ भन्दै सुरक्षा दिन आदेश दिंदै गर्दाको यो सब चर्तिकला देखेर वरपरका दर्शकले निकै मनोरञ्जन लिए । वैशाख २५ गते विहान सात वजेकै थिएन । शनिवारको विहानी पलमा नसामा लठ्ठिीएको अवस्थामा देखिएकी शारदाको कृयाकलाप हेर्नेको भिडै लाग्यो । नजिकैको एउटा होटलवाट निस्केर सडकमा पुगेकी  ती सभासदलाई सुरुमा धेरैले चिनेनन् ।
प्रहरीलाई आफ्नो परिचय दिंदै सुरक्षाका लागि आदेश दिएपछि सर्वसाधारण नागरीकले उनी त आफ्नै सभासद रहेछन् भन्ने थाहा पाए । नसाको तालमा कुनै बेला सडकका रिक्सामा चढ्ने र झर्ने गरीरहेकी उनी त्यति गर्दा गर्दै नजिकैको विरेन्द्र प्रहरी ब्यायामशाला अगाडी पुगेर आफुलाई सुरक्षा नदिएकोमा ठुलो गुनासो गरिन् । प्रहरी संग अंगरक्षकको माग गरिन । लोग्नेवाट असुरक्षित भएको भन्दै  सभासद प्रहरी गुहार्न पुगेकी हुन् ।
‘म सभासद हुं, वर्दिया प्रहरीले मलाई सुरक्षा गार्ड दिन्थ्यो यहां पाइन्’ शारदा भन्दैथिइन ।झण्डै दुई घण्टाको उक्त हर्कत पछि दंगा नियन्त्रण प्रहरी गणले आफुले सुरक्षा दिन नमिल्ने बताएर जिल्ला प्रहरीलाई खबर गरेको थियो ।  
नेकपा माले समाजबादी पार्टीवाट समानुपातिक सभासद सारदा त्यस पछि रिक्सा चढेर बजार तिर लागीन । रक्सीको नासमा  दुई घण्टा सम्म सुरक्षा खोजिन् प्रत्यक्षदर्शी जनार्दन पाण्डेले भने–‘सुरक्षा नपाए पछि रिक्सा चढे्र वजार तिर लागीन ।’
गृह जिल्ला वर्दियावाट काठमाण्डौ जान आएकी शारदा अघिल्लो दिन देखि पुष्पलाल चोक नजिकैको न्यू नेपाल गेष्टहाउसमा श्रीमानसंगै बास बसेकी थिइन । तर, विहान उठेर सडकमा आउंदा विछिप्त अवस्थामा देखिइन ।
संबिधानसभामा प्रधानमन्त्रीको सृङ्खलाबद्ध निर्बाचनका बेला पनि आत्महत्याको प्रयास गरेर चर्चा बटुलेकी शारदाको यो हर्कत पनि अखबारका पानामा ठुला ठुला अक्षरमा छापिएका छन् । प्रहरीको टाउको दुखाई बनेका कारण प्रहरी प्रमुख महेश विक्रम शाहले मेडिकल चेक गराएर खोरमा जाक्ने धम्कि दिउपछि माया नपाएर विछिप्त भएको बताएकी शारदा शनिवार सांझ काठमाण्डौ फर्कने बताए पनि नेपालगन्ज छोडिनन् ।

Monday, May 2, 2011


आतंककारी सन्जाल अलकायदाका नाईके ओसामा विन लादेन मारीएको समाचारले विश्वभर शान्तिको सन्चार भएको छ । नेपाल ,भारत पाकिस्तान जस्ता मूलकुमा आफनो सन्जाल बिस्तार प्रयासमा रहेका आतंकबादका नाईकेलाई अन्तगरेको अमेरीकी राष्टपति बाराक ओमाले  आतंकबादको एउटा रुख ढलेको घोषणा गर्न साथ सन्सारका सडकमा खुशि ब्यक्त गर्नेहरुको ओईरो लाग्यो । 
 अमेरिका जस्तो शक्ति सम्पन्न मूलूकलाई ओसामाबिन खोज्न पुरा दशबर्ष लाग्यो  । तर, ढिलै भएपनि आतंको सत्रन्जबाट एउटा राजा ढलेको छ ।  त्यसैले पनि  अमेरीकाका राष्ट्रपति वराक ओवामाले आतंकवाद अझै समाप्त नभएको बताएका छन । पकिस्तानमा लुकेर बसेका लादेको  मृत्युको खबरले अमेरीकामा मात्र नभई शान्ति चाहने हरेक मूलकमा  खुसी छाएको छ । 
अमेरीकाले ढिलै भए पनि आतंकवाद विरुद्धको एक खुड्कीलो चढेको टिप्पणी गरेको छ  । उनको यो वक्तब्यले के संकेत गर्छ भने आतंकवाद ब्यक्ति होइन प्रवृत्ति हो । गरिबी, भोक, रोग र शोकले पनि आतंकवाद जन्माउंछ । त्यसैले  आतंकवाद जन्माउने कारक तत्कलाई निमिट्यान्न पार्ने तर्फ अभियान थाल्नु सान्दर्भिक हुन्छ । 
शक्तिशाली अमेरीकालाई चुनौति दिएकाले ओसामा विन लादेन विश्व परिचित आतंकवादी बने । गरिबि, अशिक्षा, वेरोजगार र अवसरको अभावमा नेपालका कुना कन्दरामा पनि त्यो प्रवृत्ती मौलाई रहेको छ । शिक्षित बेरोजगार मुलुक छोडेर हिडेका छन् भने अशिक्षित बेरोजगार युवा युवतीमा वितिष्णा जागीरहेको छ । यो गम्भिर समस्यालाई बेलैमा नबुझ्ने हो भने ओसामाविनका रक्त विजहरु नेपालमा पनि नबिउझिएलान भन्न सकिन्न । अर्कातिर नेपाली सुरक्षा  निकायले बिभिन्न रुप रुंगमा  आतंकबाद फल्छ फूल्छ भन्ने कुराको हेक्का राखेर कुनै आतककारी समाप्त गर्न दश बर्ष मेहनतगर्नु नपर्ने ढंगले तयारी गर्नु जारुरी छ । तराईको आंतक पनि ओसामा बिन दालेदको भन्दा फरक छैन । जात धर्म र गरिबीका निहु र आडमा हुर्केने  अराजक समूहनै पछि आतंकबादको रुपमा उदय हुने गरका धेरै उदाहरण छन ।  यो घटनाबाट सबैले सिक्नु आबश्यक छ ।