Sunday, April 10, 2011

पीडा एक विभेद अनेक

श्रृजना आचार्य

सयौ चोटहरुका बिचमा डटेर बाच्न शोकलाई शक्तिमा बदल्न सक्नुपर्छ भन्ने उदाहरण द्धन्द्धको मारमा परेका महिलाहरुले प्रस्तुत गरेका छन् । माओवादी शसस्त्र द्धन्द्धका समयमा राज्य र विद्रोही पक्षको मारमा परेका सर्वसाधारण महिलाहरु अहिले समाजका अगुवा बनेका छन् । माओवादी वा राज्य दुवै पक्षवाट चोट सहेका महिलाहरुको पीडा एउटै छ । त्यसैले उनीहरु एउटै थलोमा बसेर द्धन्द्ध पीडित र वेपत्ता परिवारका चोटमा मल्हम लगाउने काममा खटिएका छन् ।
बर्दिया कालिका गाविस ४ मुनालबस्तीकी लक्ष्मीदेवि खड्का र बर्दिया वानियाभार गाविस १ जमुनीकी देविसरा वली त्यसका उदाहरण पात्र हुन् । लक्ष्मीदेवि माओवादी पीडित हुन भने देविसरालाई राज्यले चोट दिएको हो ।
शसस्त्र द्धन्द्धको समयमा यि दुई महिलालाई फरक फरक पक्षले चोट दिएको भए पनि पीडा भने एउटै छ । त्यसैले उनीहरु अहिले एउटै थलोवाट द्धन्द्ध पीडित र वेपत्ता परिवारका अधिकारका लागि वकालत गर्छन । दिनहुं हुने गोष्ठि सेमिनारका वक्ता, एकल र द्धन्द्ध पीडितहरुको अधिकारका लागि अगुवाई र सरकारी कार्यालयवाट आफ्ना समुदायका लागि प्राप्त हुने सेवा र सुविधाका लागि दवाव दिने काममा उनीहरुको दैनिकी बितेको हुन्छ ।
गत २०६० साल फागुन ३० गते राती ८ वजेपछि लक्ष्मीको जिवनमा ठुलो परिवर्तन आयो । त्यहि घटना पछि उनको बांच्ने शैली, र दैनिकीमा परिवर्तन आएको हो । राति खाना खाइसकेपछि कान्छो छोरा सुनिल, श्रीमान दिलवहादुर खड्कासंग आगो तापेर परिवारको सुखद भविष्यको योजना बनाउंदै थिइन उनी । सोही बेला तात्कालिन माओवादीका स्थानिय नेता पदम रिजाल‘नविन’ अर्का एकजना साथीलाई लिएर घरमा आइपुगे ।
चिनेजानेका र गाउंकै स्थानिय युवालाई देखेर शिष्टाचार निभाए पछि नविनले सानो काम छ भनेर लिएर गएका उनका श्रीमान दिलवहादुर अहिले सम्म फर्केर आएका छैनन् । ‘माथि सरहरुले बोलाउनुभएको छ १५ मिनेटमा दाई फर्कनुहुन्छ भनेर लिएर गएका हुन्’ लक्ष्मीले भनिन् आठ वर्ष वितिसक्यो अहिले सम्म फर्केर आएनन् ।’
त्यस्तै २०५९ साल पुष ७ गते विहान भुरीगाउं वजारमा मासु बेच्न विहान खसी डोर्याउंदै आफ्ना बाबु पदप वली संग गएका देविसराका श्रीमान सुरेशकुमार वली त्यस पछि घर फर्केनन् । साझ खसीको मासु संग रोटी खाने भन्दै देविसरालाई पिठो मुछेर राख भनेर अहएर गएका सुरेशलाई भुरीगाउं वजारवाट इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले नियन्त्रणमा लिई बेपत्ता बनाएको हो ।
पुष ७ गते सुरेशसंगै नियन्त्रणमा लिएका उनका बुबा पदमलाई ११ गते जिल्ला प्रहरी कार्यालय गुलरीया वर्दियाले मुक्त गर्यो । तर संगै राखेका सुरेशभने मुक्त भएनन् । पुष १९ गते विहान सम्म परिवारको सम्पर्कमा आएका शुरेस जिल्ला प्रहरी कार्यालयवाट बेपत्ता भए ।
जीवन साथी बेपत्ता हुंदा सहनुपरेको मानसीक पीडा संगै पारीवारीक जिम्मेवारीले यि महिलाहरुलाई दरिलो बनाएको हो ।
यस्ता मानसीक र शारीरीक पीडा सहंदै बसेका लक्ष्मी र देविसरा अहिले एक अर्काका सहारा मात्र बनेका छैनन् आफुजस्तै पीडितहरुका लागि दुख साट्ने थलो बनाएका छन् । सुरु सुरुका दिनमा सुरक्षाकर्मीले बेपत्ता पारेका परिवारलाई माओवादी सम्झने लक्ष्मी र माओवादीले अपहरण पछि बेपत्ता पारेका परिवारको सम्पर्कमा आउन नचाहने देविसराको सोचाईमा ठुलो परिवर्तन आएको छ । 
‘सुरुमा सुरक्षाकर्मीले बेपत्ता पारेको परिवार सहभागी भएको कार्यक्रममा आफ्ना कुरा राख्न पनि असजिलो लाग्थ्यो’ लक्ष्मीले भनिन्–‘तर अहिले दुवैको पीडा एउटै हो भन्ने लाग्छ ।’
माओवादी र सुरक्षाकर्मी दुवै पक्षवाट आफ्नो परिवार प्रताडित भएको बताउने देविसराको अवस्था पनि त्यस्तै थियो । ‘सार्वजनिक कार्यक्रममा आफ्ना कुरा राख्दा झन समस्यामा परिने होकी भन्ने लाग्थ्यो देविसराले भनिन्–‘अहिले हामी सबै बेपत्ता परिवार एकैथलोमा छौ ।’
पहिला आफ्ना कुरा खोल्न डराउने देविसरा र लक्ष्मि पांच दिन भेट भएन भने छटपटिन्छन् । ‘कार्यक्रमहरुमा लगातार ४÷५ दिन सम्म पनि देविसरासंग भेट भएन भने मलाई त छटपटि हुन्छ’ लक्ष्मिले भनिन्–‘के गरीराखेको होला भन्ने लाग्छ अनि फोनवाट हालचाल बुझ्छु ।’
जुन पक्षवाट बेपत्ता पारेको भए पनि त्यस पछि परिवार र जिवनमा पर्ने परिवर्तन र समस्या एउटै हो । त्यसैले दुवै पक्षवाट पीडित भएका परिवारको माग र चाहना पनि एउटै छ ।‘चोट एउटै छ त्यसैले हामी एकै ठाउं छौं देविसराले भनिन्–लक्ष्मीको परिवारले मेरो श्रीमान वेपत्ता बनाएको त होइन नी ।
बर्दियामा गठन भएको द्धन्द्ध पीडित समितिमा लक्ष्मी र देविसरा जस्ता करिब दुइसय बढी महिला पुरुष संगठित भएका छन् । ‘सहकार्य गरे मात्र अधिकारका लागि लड्न सकिन्छ भन्ने बुझेर संगै हिंडेका हौं लक्ष्मिले भनिन् ।
लक्ष्मीका पति दिलबहादुर र देविसराका पति सुरेश दुवैले वर्षामा खेती किसानी गर्ने र बांकी समय भारतमा गएर कमाएर छोराछोरी पाल्दै आएका थिए । दुई छोरा र एक छोरी सहितको परिवारमा एक्लो कमाउने दिलबहादुरलाई माओवादीले बेपत्ता बनाए पछि लक्ष्मिको परिवार बिचल्लीमा पर्यो । ‘आफुले पढ्न नसके पनि छोराछोरीलाई पढाउने र सरकारी जागीर खुवाउने ठुलो रहर थियो’ लक्ष्मीले भनिन्–‘सबै चाहना र सपना चकनाचुर भए ।’
देविसरालाई भने श्रीमान बेपत्ता भएपछि जिवनमा सबैभन्दा ठुलो कष्ट पर्यो । तीन छोरीको भविष्य लिएर एक्लै बाचेकी देविसरालाई परिवारका अन्य सदस्यको साथ चाहिने बेलामा झन पारीवारीक प्रताडना समेत सहनु परेको बताइन् । ‘घरमा कमाउने कोही नभएकाले छोरी पढाउने विषयमा पारीवारीक कलह सुरु भयो’ देविसराले भनिन् । अहिले एउटै घरलाई आधा–आधा बारेर परिवारका अन्य सदस्य एकातिर र देविसरा आफ्ना छोरी सहित अर्कातिर बस्दै आएका छन् ।  
‘राज्यले हामी जस्ता बेपत्ता परिवारलाई विभेद गरेको छ’ लक्ष्मिले भनिन् –‘मृत्यु भएका परिवारले राहत क्षतिपुर्ती र सहानुभुति पाउंछन् बेपत्ताका लागि त्यस्ता सुविधा सिमित छन् ।’ मुख्य जिम्मेवारी छोरोछोरीको पढाई हो । छात्रवृत्ती पाउन १८ वर्ष भन्दा कम उमेर हुनुपर्ने सर्त छ ।
श्रीमान बेपत्ता हुंदा लक्ष्मीको कान्छो छोरा १० वर्षका थिए । तर सरकारले छात्रवृत्ती दिने निर्णय गर्दा उनको उमेर १८ पुग्यो । छोराको पढाईखर्च धान्ने आर्थिक हैसियत नभए पनि उनले त्यो सेवावाट बञ्चित हुनुपर्यो ।
देविसराको पनि त्यस्तै अवस्था छ । जेठी छोरी विवाह भएर गइन भने माइली र कान्छी छोरीले पनि उमेरका कारणले सरकारी छात्रवृत्ती पाएनन् । 
मरेको बांचेको थाहा नहुंदाको पिडा खपेर बसेका लक्ष्मी र देविसरा जस्ता महिलालाई राज्यको कानुन र नीतिले झन अप्ठेरो पारेको छ । छोरा छोरीको नागरीकता बनाउन बाबु माग्ने प्रशासनले बेपत्ता भएका बाबु खोज्ने जिम्मेवारी लिन सकेन । ‘नागरीकता बनाउन जांदा प्रशासनले बाबु खोज्यो लक्ष्मीले भनिन–‘गैरसरकारी संस्थाको निकै ठुलो दवाव परेपछि प्रमुख जिल्ला अधिकारी नागरीकता दिन राजी भए ।’
आफ्नो नागरीता माइतीको नामवाट बनाएकी देविसराले पनि छोरीको नागरीकता बनाउंदा छिमेकीलाई आफन्त भनेर सनाखत गर्नुपरेको बताइन् । ‘गाउंकै मोहन वलीले मेरो छोरी हो भनेर प्रशासनमा गए पछि नागरीकता बनाईदिए’ देविसराले भनिन् । आफ्नो र पतिका नाममा समेत सम्पत्ती नभएकाले अपहेलना सहेर भए पनि एउटै घरमा बस्नुपरेको उनले बताइन् । ‘छोरी विहे गरेर जान्छन् तलाई सम्पत्ती किन चाहियो भनेर परिवारका सदस्यले भन्छन्’देविसराले भनिन् ।
ठुलो चोट र चुनौती सहेका लक्ष्मी र देविसरा जस्ता महिलालाई गैरसरकारी संस्थाले गरेको पैरवीले ठुलो साहस दिएको छ । ‘घरमा रोएर बसेका हामीलाई संघसंस्थाले बाहिर ल्याएर अधिकार केहो भन्ने सिकाए लक्ष्मीले भनिन्–‘राज्य भने प्रमुख दायित्ववाट पन्छिएको छ ।’
‘द्धन्द्धले गर्दा जिवन साथी गुमाईयो तर धेरै कुरा पाईएको छ । कमजोर मन अहिले शसक्त भएको छ । ठाउं र मानिस चिनियो । बोल्न र जुध्न सक्ने साहस पलाएको छ’ लक्ष्मीले द्धन्द्ध पछि जिवनमा आएको परिवर्तन केलाउंदै भनिन् ।
आफु तर छोराछोरीको भविष्य हेरेर संघर्षमा लागेको भए पनि सरकारी वेवास्ताले गर्दा छोराछोरीमा भने वदलाको भावना विकास भएको देख्दा उनीहरुलाई डर लागेको छ । ‘नविनलाई देख्दा उनको पनि त्यतिबेला मेरो श्रीमान लैजानुपर्ने बाध्यता थियो होला भन्ने सम्झन्छु तर छोरा छोराको मन भने बदलिएको छ लक्ष्मीले भनिन्–‘कान्छो छोराले पैसा दिनुस ममि म बन्दुक किन्छु भन्छ ।’
उनका जेठो छोरालाई पनि लक्ष्मी द्धन्द्ध पीडित भएर समाजमा हिडेको र सार्वजनिक भएको मन परेको छैन । राज्यले तत्काल बेपत्ता परिवारका माग सम्बोधन नगरे अझ ठुलो बिद्रोह हुनसक्ने सम्भावना उनीहरुले देखेका छन् ।
‘हामी त छोराछोरीको भविष्य हेरेर सहेर बस्यौ तर छोराछोरीले के हेरेर चित्त बुझाउने’ देविसराले भनिन–‘राज्यले तत्काल निर्णय नगरे अर्काे विद्रोह हुनसक्छ ।’
आफ्ना श्रीमान दिलबहादुरका सम्बन्धमा आइसिआरसीले सार्वजनिक गरेको प्रतिवेदनमा लक्ष्मीको चित्त बुझेको छैन । आइसीआरसीले दिलबहादुरलाई अपहरण गरेकै दिन बाटोमै हत्या गरेको जानकारी लक्ष्मीलाई दिएको छ । तर, अपहरण गरेको तीन दिन सम्म पनि आफ्ना श्रीमान जिवितै रहेको जानकारी आफुहले पाएको लक्ष्मीले बताइन् । ‘अपहरण गरेर लगेपछि बर्दियाको डेउढाकला गाविसको तोरैया गाउंमा श्रीमान लगायत ५ जनालाई तीन दिन सम्म संगै राखेको जानकारी मैले पाएकी छु’ लक्ष्मीले भनिन्–‘यस्तो अवस्थामा मैले कसरी आइसीआरसीको कुरा पत्याउने ?
आफुजस्तै पीडितहरुको सहारा बनेका यि महिलाहरुलाई अझै पनि आफ्ना श्रीमान फर्केर आउछन् की भन्ने आशा भने अझै मरेको छैन । ‘आखाले लास नदेख्दा सम्म आश लाग्दो रहेछ’ लक्ष्मीले भनिन्–‘मानिसहरुको भिडमा म आफ्ना पतिको अनुहार खोजिरहन्छु ।’ राति कुकुर भुक्दा पनि देविसरालाई आफ्ना पति फर्केर आए की भनेर मन झसंग हुन्छ । ‘नयां नम्बरवाट मोवाइलमा फोन आए पनि कतै पति हुन की भनेर सम्झन्छु’ देविसराले भनिन् ‘अहिले सम्म पतिले लगाउने कपडा, उनका सामान जस्ताको तस्तै सम्हालेर राखेकी छु । ’

No comments:

Post a Comment