Monday, July 16, 2012

निर्दयी नियति



श्रृजना आचार्य
भजन दाईलाई कहिले देखि चिन्थे त्यसको ठ्याक्कै मिति त मलाई याद छैन । तर म पत्रकारीता क्षेत्रमा प्रवेश गरेको एक दशक बढि अवधि भएको छ उहां संगको परिचय पनि त्यति वेला देखि नै हो । हाम्रो काम गर्ने कार्यालय फरक फरक भए पनि कामको प्रकृति उस्तै भएकाले प्राय कर्मथलोमा भजन दाई र म भेट भइरहन्थ्यौ । परिवारको जेठो सन्तान म आफै भएकाले मेरो आफ्ै दाई कोही पनि छैन त्यसैले मलाई सित्तीमित्ती कसैलाई पनि दाई भन्न आउंदैन । तर भजनदाईको म प्रतिको लगाव, झुकाव अविभावकपनले गर्दा उहांलाई दाई सम्बोधन गर्न मन लाग्यो । म जे नाताले सम्बोधन गरिन्छ त्यो नाता ब्यवहारमा पनि निभाउनुपर्छ भन्ने मान्यता राख्छु त्यसैले पनि मैले भजनदाईलाई आफ्नो अभिभावकको रुपमा नै स्विकार गरे । 
माओवादी शसस्त्रद्धन्द्ध र लोकतान्त्रीक आन्दोलनताका को मेरो पत्रकारीता र भजनदाईको मानवअधिकारकर्मीको नाताले गर्नुपर्ने भुमिका झण्डै झण्डै उस्तै भएकाले प्राय औपचारीक कार्यक्रम, आन्दोलन, सभा, सम्मेलन, जुलुसमा हामी संगै हुन्थ्यौ । दाईको एउटा अनौठो बानी थियो । आन्दोलन, जुलुस वा औपाचारीक कार्यक्रममा मैले वा म जस्तै अन्य पत्रकारले तस्विर खिच्दै गरेको, रिपोटिङ्ग गरेको , विभिन्न पोजिसनको तस्विर थाहा नपाउने गरी खिचिदिने र इमेलमा पठाइदिने । मलाई लाग्छ उहांले प्रयोग गर्ने कम्प्युटरमा तस्विरहरुको भण्डार नै छ ।
म उमेरले सानो र वहिनी भए पनि जहिले पनि दाई आफै पहिले अभिवादन गर्नुहुन्थ्यो । मलाई अप्ठेरो लाग्थ्यो । उहांको त्यो विशेषता नै हो । नम्र भएर बोल्ने, सानो होस वा ठुलो अरुको सम्मान गर्ने र कसैको चित्त नदुखाउने । अनि मनमा जति सुकै पीडा गांठो पारे पनि मुहारमा संधै मनमोहक मुस्कान । 
भजनदाईलाई महिलाले संघर्ष गरेको, समाजको अगुवाई गरेको असाध्यै मन पथ्र्याे । मलाई भन्ने गर्नुहुन्थ्यो । ‘वहिनी साह्रै राम्रो गर्नुभएको छ समस्या देखि नडराउनुहोला’ । उहांलाई आफ्ना सन्तानलाई पनि संघर्षशिल बनाउने ठुलो इच्छा थियो । दाईले कहिले काही ब्यक्त गर्नुभएको अनौपचारीक कुराकानीमा ती कुरा झल्कन्थ्यो । उहां आफ्ना सन्तानको भविष्यका लागि आधार तयार पार्न चाहनुहुन्थ्यो । 
झण्डै एक वर्ष अघि एक दिन म क्याम्पसमा क्लास लिएर आएपछि उहांको कार्यालय इन्सेकमा पसे । त्यतिबेला दाई अफिस आइसक्नुभएको रहेछ । अनि दाइसंग कुराकानी हुंदै गर्दा उहांले भन्नुभयो ‘अब आफ्ना लागि पनि केही गर्नुपर्छ बहिनी अहिले नै समय छ पछि सकिदैन केही गरौं’ । मैले पनि तत्काल भने ‘दाई ल न त प्लान बनाउनु म पनि केही गर्नुपर्छ भन्ने सोच्दै छु’ । हामीले गरेको सामाजिक काम छैदैछ त्यस वाहेक आर्थिक रुपमा पनि जग बलियो बनाउन सकिने थप काम गर्नुपर्छ भन्ने सोचाई मलाई पनि थियो । त्यसैले ल संगै केही गरौ भन्ने सहमतिमा पुगेर म त्यहांवाट हिंडे । 
सायद एक महिना बितेको हुंदो हो दाइले मलाई एक दिन कार्यालयमा बोलाउनुभयो । म क्याम्पस बिदा भएपछि उहांको कार्यालयमा पसे । दाईले मैले भनेको त्यो कुरा सायद मनमा लिनुभएछ । उहांले आफुले गरेको विजनेस प्लानको बेलीविस्तार लगाउनुभयो । 
मलाई र मेरो परिवारका सदस्यलाई कृषि सम्बन्धि काम गरेको कुनै अनुभव थिएन । तर पनि दाईले ल्याउनुभएको प्लानमा मैले कुनै शंका गरिन । दाईले प्लानका विषयमा धेरै कुरा गर्नुभयो । मैला आधा बुझे आधा बुझिन । तर पनि मैले भने ‘दाई मलाई यो विषयमा केही थाहा छैन सबै चाजोपाजो तपाई मिलाउनुस मैले के गर्नुपर्छ भन्नुस् ।’ 
दाईको प्लानमा हामीले गएको मंसिर देखि बांकेको कचनापुर गाविस हरिहरपुरमा सुरु गर्र्याै ‘एलोभेरा प्लान्टेशन’को काम । त्यो गाउंलाई नै अर्गानिक गाउं बनाएर कृषिका क्षेत्रमा पनि उल्लेखनिय काम गर्ने हाम्रो योजना थियो । त्यहि योजना अनुसार कचनापुरमा संयुक्त लगानीमा हामीले घ्यु कुमारीको १५ हजार बिरुवा लगायौं । जति जति एलोभेरा(घ्यु कुमारी) हरियो हुंदै जान्छ हामी दाजु वहिनीको सम्बन्ध पनि त्यति प्रगाढ हुंदै थियो । हामी नयां नयां योजना बनाउंदै थियो । त्यो पुरा गाउंलाई किट नासक विषादी रहित गाउं बनाउने । अर्गानिक खेतीका विषयमा गाउंले किसानलाई प्रशिक्षित बनाएर ब्यवसायीक रुपमा भन्दा पनि गाउंलाई फाइदा हुने किसानलाई नयां प्रयोग गराउने, उन्नत गाई पालन गर्ने जस्ता योजना बनाएका थियांै । तर अचानक दाईले बिचैमा छोडेर जानुभयो । 
दाईको पार्थिव शरिर मेरै अगाडी अन्तिम संस्कारका लागि लगेको आंखाले देख्दा पनि मैले अहिले पनि भजन दाई यो संसारमा हुनुहुन्न भन्ने विश्वास गर्न सकिरहेको छैन । कतै औपचारीक कार्यक्रममा जांदा पनि कतै भजन दाई देखिनुहुन्छ की भनेर यि आंखाले खोजिरहन्छन् । 
दाईको घर जांदा भाउजुले त्यो अन्तिम दिन दाईको पार्थिव शरिरमा आफुले हातमा लगाएको चुरा चढाएको, सिन्दुर पखालेको याद आइरहन्छ । भाउजुको मलिनो अनुहार देखेर मलाई मन ढक्क फुलेर आउंछ । दाई अफिस जांदा वाहेक अन्यत्र जहां जांदा पनि भाउजुलाई संगै लिएर हिड्नुहुन्थ्यो । उहांको अभावमा भाउजुलाई परेको चोटको कल्पना गरेर मन कहालिएर आउंछ अनि भन्न मन लाग्छ नियति कति निर्दय होला ?