Sunday, April 10, 2011

श्रृजना आचार्य
नेपालगन्ज,२५ चैत–कल्पना बिना कथाको संसार पुरा हुंदैन । नेपालगन्जमा कल्पनाको महल बनाउन विहिवार देखि मध्य र सुदुरपश्चिमका ६ जिल्लावाट करिब एक सय जना साहित्यिक अनुरागी जम्मा भएका छन् । सुर्खेत रोड स्थित एक होटलको हलमा जम्मा भएका उनीहरु कहिले कल्पनाको गहिरो तलाउमा डुबुल्कि मार्छन भने कहिले सगरमाथाको चुचुरोमा पुगेर संसारको आनन्द लिन्छन् । मानौं अहिले विश्व सागुरीएर होटलको यहि कोठमा समेटिएको छ ।
त्यहि भित्र चराहरुको चिरविर छ त्यहिं सुन्दर फुलहरुको संसार बाग समेटिएको छ । सबैका पात्रमा घर परिवार र समाज, प्रकृति, सहमति, बिमती सबै अटाएको छ ।
राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले पहिलो पटक आयोजना गरेको कथा तथा बालकथा लेखन कार्यशालामा सहभागी भएका बांके, वर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुरका साहित्यीक अनुरागीहरुले तीन दिन सम्म कल्पनाको सागरमा चुर्लुम्म डुबेर कथाको संसार नियाल्दै छन् ।
डा. दायाराम श्रेष्ठले डोर्याएको बाटोमा धेरै युवा युवतीहरु ताते ताते पाइला चाल्ने प्रयास गर्दैछन् । ‘आज सम्म कथा भनेर मैले कलम चलाईन गजल विधावाट आफुलाई परिचित बनाएका बर्दियाका मिनराज पौडेलले भने–दयाराम सरको प्रेरणाले पहिलो पटक कथा कोरेको हुं ।’ उनले नाबालकमै आमाको काख छुटेको बालकको मनोविज्ञान उतारेर कथा तयार पारेका थिए । उनी जस्तै पहिलो पटक कथाको विधामा पाइला बढाएका थुप्रै साहित्यकार त्यहां भेटिए । बर्दिया शिवपुरका अञ्जान स्नेहले पनि यहि कोठावाट बालकथा लेख्ने प्रयन्त गरेको बताए । ‘गजल लेख्न भन्दा सजिलै लाग्यो । गजलमा थोरै शब्दमा धेरै शन्देश दिनुपर्छ ’ उनले भने– ‘कथामा ब्यापकता रहेछ ।’ कथाका विषयमा सैद्धान्तिक ज्ञान पाएका स्नेहले साधना र अध्ययन गरेर बाल कथालाई पनि आफ्नो विधा बनाउने मनसाय ब्यक्त गरे ।
पठन संस्कृति हराउदै गएको आजको युगमा बालकथा र कथालाई ब्युझाउने प्रयास स्वरुप नेपालगन्जमा पहिलो पटक कार्यक्रम गर्न पाएकोमा प्राज्ञ सनत रेग्मी प्रफुल्ल छन् । पहिले मनोरञ्जनका लागि किताव पढ्ने जमात अहिले टिभीमा झुम्मिएको छ । कथा पढ्नकै लागि किताव पल्टाउनेहरुको संख्या घट्दै गएको छ । ‘हिंजो प्रेम प्रशंगलाई फुलको बगैचा चाहिन्थ्यो अहिले मोवाइल भए पुग्छ ’ प्राज्ञ सनत रेग्मीले भने–‘कथा पढ्न चाहनेले मात्र कथा पढ्छन् ।’  तर बालकथाले भने अहिले आफ्नो वजार विस्तार गर्दै गएको रेग्मीको ठहर छ । ‘नीजि विद्यालयहरुमा बाल कथाको बढि माग छ उनले भने–‘बालकथाको भविष्य भने राम्रो छ ।’ तर मध्य र सुदुरपश्चिमले भने त्यसवाट फाइदा लिन सकेको छैन । कथामा पश्चिम निकै कमजोर छ’ उनले भने–‘राष्ट्रिय साहित्कि पत्रिकाहरुमा यस क्षेत्रका रचना कम देख्न पाइन्छ ।’ मध्य र सुदुरपश्चिम गजलमै रमाएको उनको ठम्याई छ । हुन पनि कथाको साहित्कि ज्ञान लिन आएकाहरु मध्ये धेरै जसो गजलमै रमाउनेहरु भेटिए ।
कथाको सैद्धान्तिक ज्ञान दिन पहिलो पटक आयोजना गरीएको साहित्कि कार्यक्रममा बांकेमा रहेर साहित्यका माध्यमवाट नाम कमाएकाहरुको उपस्थिती कम देखियो । प्रतिष्ठानले स्थानिय आयोजक छनौटमा मनोमानी गरेको भन्दै बांकेका करिब एक दर्जन साहित्कि संस्थाले कार्यक्रम वहिष्कारको घोषणा गरे । 

No comments:

Post a Comment