Sunday, June 19, 2011

मरेको छैन अपनत्व


गोविन्द कुलपुजाका लागि सल्यान गएकाले मलाई केही दिन देखि एफएममा विहानको डिउटी गर्नुपर्ने अवस्था छ । परिक्षा नजिकिएको बेलामा दिनको दुइपल्ट एफएम जानुपर्दा मलाई निकै टाउको दुखाई भएको थियो । 
फुर्सद हुंदा पढ्न मन नलाग्ने जव एफएम जानुपर्ने बेला भयो अनि किताबको याद आउने । आइतवार विहान त मलाई विहान उठ्न निकै मुस्किल भइरहेको थियो । कारण के थियो भने एउटा नचिनेको मोवाइल नम्बरवाट राति १० वजे देखि ‘कल्पना हो’ भन्दै एउटा मान्छेले अनावश्यक फोन गरेर मेरो निन्द्रा खराब गरेको थियो । मध्य रातमा बारम्बार फोन गरेर निन्द्रा विथोलिएकाले विहान उठ्न निकै गाह्रो भए पनि आखिर एफएम त  नगई भएन । बल्ल बल्ल उठेर एफएम गए । विहान साढे ६ वजेको समाचार सकेपछि एक घण्टा फुर्सद भयो । फुर्सद हुनासाथ कम्प्युटर अगाडी छ भने पहिलो प्राथमिकता फेसबुक हेर्ने हुन्छ । 
फेसवुक अन गर्नासाथ राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रिय संयोजक मुरारी खरेल अनलाईन हुनुहुंदो रहेछ । औपचारीकताको अभिवादन आदान प्रदान पछि मैले आज के छ सर भनेर सोधे । मुरारी सरले एक जना मानवअधिकार रक्षकको छोरी वेपत्ता भएको खबर सुनाउनुभयो । 
बर्दिया जमुनी गाविस सितापुरकी मानवअधिकार रक्षक कौशीला सिंह ठकुरीकी ९ वर्षिया छोरी दिपशिखा बेपत्ता भएको प्रारम्भिक खबर आएको जानकारी दिनुभयो । त्यति खबर पाएपछि आफ्नो कर्तब्य निभाउन थाले । विभिन्न च्यानललाई फोन गर्दा घटना सांचो ठहरियो । समाचार प्रशारण भयो । 
पछिल्लो समय स–साना बालबालिकालाई अपहरण गरी फिरौती माग्ने गिरोह सकृय भएकाले हामी पनि शसंकित भयौ । कतै यो पनि त्यस्तै घटनाको निरन्तरता होकी भनेर । अनलाइनकै च्याटमा घटनाको स्थलगत रिपोर्टिङ्ग गर्ने निधो भयो । 
८ वजे समाचार सकेपछि मलाई लिन एकजना साथि आउनुभयो । अनि आयोगको गाडीमा लाग्यौ जमुनी तिर । गाउंमै पुगे पछि विभिन्न ठाउंमा मानिसहरुको झुण्ड देखियो । चौतारी, चौराहा र दोवाटोमा मानिसहरुको भिड थियो । हामीले कुरा गर्यौ गाउंमा एउटा घटना हुनासाथ कसरी पुरा गाउंनै प्रभावित हुन्छ । एउटालाई परेको दुख सबैले आफ्नो सम्झन्छन् । कौशीलाको दुखमा साथ दिन सबै गाउंले बाहिर निस्केका थिए । गाडी भित्रै हामीले गाउंले सहयोगी जिवन र शहरी स्वार्थी जिवनको तुलना गर्यौ । शहरमा माथिल्लो तलामा बस्नेलाई आपत विपत पर्दा एउटै घरको तल्लो तलामा बस्नेलाई वास्ता हुंदैन । तर यहां त गाउंनै पुरा उल्टिएको छ । खेतका काम गर्नुपर्ने असारको माचोमा पनि सबै गाउंले सडकमा निस्केर एक आपसमा कुरा गर्दै चिन्ता ब्यक्त गरीरहेका छन् । 
एउटा झुण्ड नजिक गएर कौशीलाको घर सोध्न गाडी रोकियो । त्यहां सोध्दा बालिका घरदेखि केही पर नालामा डुबेको अवस्थामा मृत भेटिएको जानकारी पायौं । नभन्दै केही पर नाला छेउमा गाउंलेको ठुलै झुण्ड देखियो । 
बालिकाको मृत्यु भइसकेको थाहा भएपछि त्यहां अब हाम्रो केही भुमिका नहुने देखियो । तर गाउंमा पुगीसके पछि केही न केही त गर्ने पर्यो । त्यसपछि चार महिना पहिला भारतीय सिमा सुरक्षा बल एसएसविले नियन्त्रणमा लिएर बेपत्ता बनाएका नागरीकको घरमा पुगेर उनीहरुको परिवारको अवस्थाका वारेमा जानकारी लियौ । फर्कने बेलामा गाउंमा पुगीसकेपछि अन्य केही भुमिका नभए पनि घटना हेरेर फर्कने निधो गरेर गरीयो । घटनास्थल नजिकै गाडी लिएर जान उचित ठानेनौ । अलिवर गाडी राखेर हिंडेर गयौं । हामी पुग्दा बालिकाको शव पानीवाट झिकेर कपडाले बांधिसकेको रहेछ । 
केहीवेर त्यहां अल्मलिएर फर्किन लागेका थियौ । दुईतिर नाला बनाएर बिचमा माटो पुरेर बनाएको बाटोमा गाडी गुड्दै थियो । बाटोको छेउ छेउमा मानिस हिंडेकाले साइड दिन चालकले गाडी किनारमा लगेछन् गाडी त हिलोमा जोतियो । निकाल्ने जति कोशिष गरे पनि गाडी निस्कने संकेत देखिएन । लौ बरवाद पार्यो हामी निकै चिन्तित भयौ । 
गाडी फसेको देखेपछि त्यहांका युवाहरुआए । कसैले धकेल्न थाले कसैले गाडी नै उचालेर निकाल्ने प्रयास समेत गरे । अचम्म रातभर बालिका खोजिमा निन्द्रां गुमाएका गाउंले शहरीया चढेको गाडी हिलोमा फसेको देखेर निकै चिन्तित थिए । वास्तवमा त्यहां अपनत्व थियो । हामी लाचार भयौ तर उनीहरुले हिम्मत हारेनन् । मानिसको भिड छंदै त्यसलाई सदुपयोग गर्न हामीलाई उल्टै सम्झाइरहेका थिए । तर जति गरे पनि पाटेको माटोमा फसेको गाडी निस्कनुको साटो झन झन हिलोमा दब्दै गयो । केही सिप नलागे पछि ट्याक्टरले निकाल्ने निधोमा पुगीयो । 
हामीसंग त्यही फसेको गाडी बाहेक अन्य केही साधन थिए्न । ट्याक्टर खोज्न कहां जांने ? त्यही भिडमा उभिएका युवा मध्यकाले आफ्नो ठुलो बुवाको ट्याक्टर भएको बताए । तर टाढा घर भएकाले साधनको आवश्यकता थियो । हाम्रै पेशाका बर्दियाका सहकर्मी मोटरसाइकल लिएर आएका थिए । उनीसंग सहयोग माग्ने निधो गरियो । 
तर त्यति धेरै सहयोगी भावनाका ब्यक्तिको बिचमा रहेर पनि ति ब्यक्तिमा आत्मै देखि मोटरसाइलक दिएर सहयोग गरौं भन्ने भावना जागेन । धेरै बेरको प्रयास पछि लाचारीका साथ बल्ल बल्ल मोटरसाइकल दिन राजि भए । सहकर्मीको मोटरसाइकलमा ति युवालाई बसालेर आयोगका मोहन जोशि जानुभयो ट्याक्टर खोज्न । 
ट्याक्टर आउन र गाडी निकाल्ने करिब एक घण्टाको अवधि लाग्यो । त्यो अवधिमा बालिका हराए देखिको भोलीपल्ट विहानको अवधिमा गाउंलेले निभाएको भुमिकाका बारेमा जानकारी पाइयो । बालिका हराएको थाहा पाउनासाथ गाउं भरीका कुनै महिला पुरुष घरमा बसेनन् । आफ्नै परिवारको सदस्य जस्तै सबैले रातभर बालिकाको खोजि गरे । भारतको जंगल, नाला, गाउंभरी जतासुकै खोजे पनि बालिका भेटिइनन् । हामी बसेको चौतारा नजिकैकी एक महिलाले भनिन् ‘कहां सुत्नु नानी राती एक वजे खाना खाएको । निदाउन कोशीस गरे पनि निन्द्रा लागेन । आंखा चिम्लना साथ त्यहि केटीको अनुहार झलक्क आंखामा आउंथ्यो ।’ 
दिनहुं मानिसको मृत्यु, अपहरण, हत्या जस्ता घटनाका बारेमा समाचार बनाउंदा, त्यस्ता घटना सुन्दा सुन्दा निर्जिव भइसकेको हाम्रो मन गाउंलेको त्यो अपनत्व भावना देखेर प्रभावित भयौं । ‘वास्तवमा बस्ने त गाउंमा नै हो । शहरमा यो अपनत्व कहां पाइन्छ र ? ’ मुरारीले भन्नुभयो । 
ट्याक्टर आयो गाडी निकाल्यौ । हामी चौपारीमा बसेका थियौं । तर रोक्दै नरोकी खुरुक्क ट्याक्टर गयौ । मुरारी सरले भन्नुभयो ‘पैसाको कुरा मोहन जीले मिलाउनुभएछ । ट्याक्टर त  रोक्दै नरोकी गयो ।’ 
त्यति भनेपछि मोटरसाइकल दिएर सहयोग गरेका हाम्रा सहकर्मीलाई धन्यवाद दिएर मुरारी सर र म गाडीमा चड्यौ । मोहन सर पहिल्यै गाडीमा हुनुहुन्थ्यो । गाडीमा पुगे पछि मुरारी सरले मोहनसरलाई सोध्नुभयो । ‘पैसा कति लाग्यो ? ’ तर अचम्म ट्याक्टर मालिक धनवहादुर काइलाले त एक रुपैया पनि लिएनछन् । 
कम्तिमा एक हजारको माग राखे भने पांच सयमा उम्काउंला भन्ने मुरारी सरको कल्पनाको उल्टा ब्यवहार गाउंले ट्याक्टर मालिक काईलाले देखाए पछि धन्यवाद समेत दिन नपाएकोमा मुरारी सर पछुताउनुभयो । 
बास्तवमा धनवहादुर काइला जस्ता सहयोगी भावना बोकेका नेपालीहरु अझै पनि हाम्रा समाजमा छन् । धन्यवाद छ काइला तिमिलाई ।  अनि समाजमा एउटालाई विपतपर्दा आफ्नै एउटै परिवार जस्तो गरेर दुख बांड्ने गाउंमा अपनत्व रहिरहोस । पाहुनालाई दुख पर्दा सहयोग गर्ने सहयोगी हातहरु कहिल्यै नथाकुन ।  


Thursday, June 2, 2011

नाइटो माथि कलेजो देखेपछि चिकित्सक समेत आश्चर्यमा



श्रृजना आचार्य
नेपालगन्ज,३० वैशाख–शरिर भित्र हुनुपर्ने मानिसको अंग बाहिरै बस्यो भने कस्तो देखिएला ? अझ आश्चर्यको कुरा त के भने शरिर भित्र रहेर काम गर्नुपर्ने अंग बाहीर निस्केर पनि काम गरीरहेको भन्ने सुन्दा अचम्म लाग्न सक्छ । नेपालगन्ज स्थित मेडिकल कलेजमा तीन दिन अघि त्यस्तै विरामी आएका छन् ।
दाङ्ग गोल्टाकुरी निवासी १७ वर्षिय खिमबहादुर बुढाथोकी अहिले नेपालगन्ज मेडिकल कलेजका चिकित्सकका लागि अध्ययनको विषय बनेका छन् । जन्मदै नाइटो नजिक मासुको डल्लो निस्के पछि उपचारका लागि विभिन्न अस्पताल पुगका बुढाथोकी निको नभएपछि त्यसै बसेका थिए । कक्षा १० मा अध्ययनरत बुढाथोकी विद्यालयमा खेल्ने क्रममा लोटे पछि मासुको डल्लोमा चोट लागेर दुख्न थालेपछि अस्पताल आएका हुन् ।
हर्निया समेत भएका बुढाथोकी तीन दिन देखि अहिले मेडिकल कलेजमा उपचारार्थ छन् । चिकित्सक अरुण शर्माले नाइटो माथि थुप्रिएको मासुको डल्लो भिडियो एक्सरे(जिएसजि) गरेर हेर्दा त्यहां बांया कलेजो देखेर छक्क परे ।
‘१० वर्षको मेरो पेशाको अनुभवमा यस्तो समस्या देखेको थिइन’ शर्माले भने–‘नत मैले कतै सुनेको छु, यस्तो समस्या देखेर हामीलाई पनि आश्चर्य लागेको छ ।’
शरिर बाहिर नाइटो माथि मासुको डल्लोमा बसेको बांया कलेजोले शरिर भित्र भएको दांया कलेजोले जस्तै राम्रो संग काम गरीरहेको चिकित्सक शर्माले बताए । ‘नर्मल अवस्थामा लिभरले काम गरीरहेको छ’ शर्माले भने–‘उपचार पद्धतीका विषयमा देश वाहिरका सुविधा सम्पन्न अस्पतालका चिकित्सकसंग परामर्श गरीरहेका छौं ।’
शल्यकृयावाट कलेजो शरीर भित्र लैजाने सम्भावनाका विषयमा विदेशी चिकित्सकसंग परामर्श भइरहेको शर्माले बताएका छन् ।
१७ वर्ष देखि हर्निया सहित दुईवटा मासुकोे डल्लो शरिरमा लिएर हिंडेका खिम बहादुर र उनका परिवारलाई कलेजो शरिर बाहिरै बसेको छ भन्ने थाहा थिएन । चिकित्सकले सो कुरा बताए पछि खिमबहादुरका बुवा धरसिंह आत्तिएका छन् ।
नाइटो माथि पलाएको डल्लो निको पार्न धेरै पटक उनका बुवा धरसिंह बुढाथोकीले धेरै अस्पताल डुलाउंदा समेत निको नभएपछि तीन दिन अघि नेपालगन्ज मेडिकल कलेज पुर्याएका थिए ।
अस्पतालका चिकित्सक अरुण शर्माले युएसजि प्रविधिवाट सिटिस्क्यान गर्दा डल्लोमा बांया कलेजो रहेको पत्ता लगाएका हुन् ।
कक्षा १० मा अध्ययनरत बुढाथोकीको जन्मदै नाइटो नजिक डल्लो देखिएको थियो ।‘आमा १५ वर्षकी हुंदा छोरा जन्मिएको हो जन्मदै मासुको डल्लो देखेर नर्शहरु पनि तर्सिएका थिए’ युवकका बुवा धरसिंहले भने–‘यहांका डक्टरले अचम्मको कुरा सुनाएका छन् कसरी उपचार गर्ने ? ’ खिमबहादुरको उमेर बढ्दै जांदा मासुको डल्लो पनि ठुलो हुंदै गएको परिवारका सदस्यले बताएका छन् । अहिले सम्म यस्तो उदाहरण नदेखेका चिकित्सकहरुले उपचारका लागि भारत बैङ्गलोर स्थित अपोलो अस्पतालका चिकित्सकसंग परामर्श गरीरहेको बताएका छन् । कलेजो र मृगौलाको प्रत्यारोपण गर्ने अपोलो अस्पतालका चिकित्सको सल्लाह अनुसार अन्य थप उपचार अघि बढाउने चिकित्सक शर्माले बताए । आर्थिक अवस्था कमजोर रहेका बुढाथोकी परीवारले उपचारमा लाग्ने खर्च जुटाउन समस्या परेको बताएका छन् । ‘डक्टरले यही उपचार गरे भने औषधि गराउंछु धरसिंहले भने–‘वाहिर लैजाने म संग पैसा छैन ।’ उनले चिकित्सकले छिटो निर्णय दिए छिटै घर फर्कने मनस्थितिमा पुगेको बताए ।