Thursday, January 19, 2012

धुमिल पार्ने तत्व खोजौ


श्रृजना आचार्य 
जनवरी ८ तारिखको दिन नेपालगन्जका केही पत्रकारको फेसवुकको वालमा देखियो ‘भन्सार प्रमुखले अर्थमन्त्रिलाई भने भुमिगत समुहले चन्दा माग्छन् र पत्रकारले घुस माग्छन् ।’ अर्थमन्त्री वर्षमान पुनसंग नेपालगन्ज भन्सार प्रमुख पुरुषोत्तम श्रेष्ठले व्रिफिङ्गको बेला भनेको अभिब्यक्ति पछि यस्तो प्रतिकृया सामाजिक संजाल फेसबुकमा आएको हो । 
ब्रिफिङ्गको समयमा म त्यहां थिइन त्यसैले भन्सार प्रमुखले ठ्याक्कै यहि भने भनेर चाहि म भन्ने सक्दिन । तर भोलीपल्टको दैनिक पत्रिकामा छापियो ‘भन्सार प्रमुख श्रेष्ठद्धारा आत्मालोचना ।’ भन्सार प्रमुख श्रेष्ठको प्रेस विरोधी अभिब्यक्ति प्रति नेपाल पत्रकार महासंघ बांकेले आवश्यक स्पष्टिकरणको पहल गरेको भन्दै समाचार बनाइएको थियो । केही पत्रकारहरुको उपस्थितिमै भन्सार प्रमुख श्रेष्ठले मन्त्री समक्ष दिएको सो अभिब्यक्ति आफैमा निकै गम्भिर हो । तर महासंघले थालेको स्पष्टिकरण प्रकृया प्रति भने ब्यक्तिगत रुपमा मेरो पटक्कै चित्त बुझेन । 
मन्त्री संगको ब्रिफिङ्गमा भन्सार प्रमुखले आफ्नो समस्या बताए । तर त्यसको भोलीपल्टै उनी आत्मआलोचित हुनुपर्यो । त्यहां पत्रकार महासंघको भुमिका भन्सार प्रमुखलाई आत्मआलोचित गराउने भन्दा पनि वास्तविकता पत्ता लगाउने तर्फ हुनुपथ्र्याे भन्ने मलाई लाग्छ । 
दैनिक नेपालगन्जमा प्रकाशित त्यस विषयको समाचारमा उल्लेख गरिएको छ ‘भन्सार प्रमुख श्रेष्ठले आफु आए पछि भुमिगत शसस्त्र समुहको चन्दा आतंक रोकिएको र पत्रकारको चन्दा पनि कम भएको’ अभिब्यक्ति अर्थ मन्त्री समक्ष ब्यक्त गरेपछि जिल्लाका पत्रकाहरुले कडा आपत्ती जनाएका थिए । 
सो समाचारलाई राम्रो संग पढ्ने हो भने पनि पत्रकारको चन्दा रोकिएको त रहेनछ केही कम मात्रै भएको रहेछ । तर यो विषयलाई महासंघले ध्यान दिनुभन्दा पनि भन्सार प्रमुखलाई माफि मगाउनु प्रमुख दायित्व ठान्यो । 
कुनै पनि पेशा ब्यवसायमा सय पं्रतिशत ब्यक्ति असल हुन्छन् भन्ने छैन । हाम्रो पत्रकारीता जगत पनि त्यो अवस्थावाट अछुतो रहन सक्दैन । म कतिपटक बसमा यात्रा गर्दा देखेको छु प्रेस कार्ड देखाएर केही ब्यक्ति बसको भाडा छुट गराउन बार्गेनिङ्ग गरिरहेका हुन्छन् । त्यो देखेर म लाजले पानी पानी हुन्छु । केही सरकारी कार्यालयमा रिपोटिङ्गको क्रममा जांदा कर्मचारीले केही पत्रकारको नाम नै तोकेर कार्यालयवाट दिइने सुचना र केही आर्थिक सुविधा पनि दिएको कुरा गर्छन । त्यतिवेला रातो मुख लाएर बाहिर निस्कनु बाहेक अर्काे बिकल्प हुंदैन । 
समाजमा भएका बिकृति विरुद्ध कलम चलाउने पत्रकारीता जगत भित्र थुप्रै विकृति छन् जसलाई केलाउन जरुरी छ । त्यसमा पत्रकार महासंघले पहल गर्न जरुरी छ । भन्सार प्रमुखले दिएको अभिब्यक्तिलाई गलत ठहर्याउने भन्दा पनि सो अभिब्यक्ति आउनुको कारण खोज्नु जरुरी ठान्छु म । 
जनआन्दोलन २०६२÷२०६३ मा बन्दका क्रममा मोटरसाइकलमा प्रेस टांसेर हिड्ने गैरपत्रकार उपर पत्रकार महासंघले छानविन गरेको थियो । सो क्रममा पत्रकारीताको नाम बेचेर फाइदा उठाएका थुप्रै गैरपत्रकारहरु देखिएका थिए । हाम्रो मर्यादित पेशालाई धुमिल पार्ने त्यस्ता ब्यक्ति हुन सक्छन् जसले भन्सार प्रमुखबाट लाभ लिएर हाम्रो पेशालाई बदनाम गरिरहेका छन् । त्यस तर्फ महासंघले पहल चाल्न जरुरी छ । जुनसुकै पेशालाई मर्यादित बनाउन समाजको आलोचनात्मक टिप्पणी सुन्न सक्ने क्षमता राख्नुपर्छ । अनि मात्र आफुमा भएको कमी कमजोरी हटाउन सकिन्छ । 
भन्सार प्रमुख श्रेष्ठ त्यस्ता ब्यक्ति हुन जसले सार्वजनिक रुपमा पत्रकारीता माथि टिप्पणी गर्ने हिम्मत गरे । कसैको आलोचनात्मक टिप्पणीलाई दबाउने भन्दा पनि वास्तविकता पत्ता लगाएर पत्रकारीता पेशालाई बदनाम गर्ने तत्वलाई सचेत गराउन जरुरी छ ।  

No comments:

Post a Comment