Sunday, January 1, 2012


उनी प्रतिको मेरो गलत धारणा
श्रृजना आचार्य
यो पालीको सद्भाव दैनिकमा प्रकाशन गर्नुपर्ने सोमवारे स्तम्भलाई निरन्तरता दिन मैले अलि ठुलै चुनौतिको सामना गर्नुपर्यो । शनिवार अल्छिगरेकाले पनि होला आइतवार स्तम्भका लागि सामग्री तयार नगरी नहुने । अघिल्लो सोमवार प्रकाशन गर्नेगरी प्रहरी उपरिक्षक विक्रमसिंह थापासंग ब्यवसायीक सुरक्षाका विषयमा कुराकानी गर्ने प्रस्ताव राख्दा उनले तयारीका लागि एक हप्ताको समय मागेका थिए । त्यसैले शनिवार उनले मागेको म्याद सकिएकाले मैले पुन सम्झाए । तर शनिवार समय नमिलेकाले आइतवारका लागि समय तय भयो ।
आइतवार अंग्रेजी नयां वर्ष सुरु भएको दिन । केहि दिन देखि नेपालगन्जमा चैतमा जस्तै पोल्ने घाम लागेकाले आइतवार पानी पर्ला भन्ने त कल्पनै गरेको थिइन । तर आइतवार विहान १० वजे देखि नेपालगन्जमा अचानक पानी पर्न थाल्यो ।
म वाहिर निस्कदा पानीको रफ्तार त्यति ठुलो थिएन । त्यसैले यति सानो पानी छ पचाउंछु भनेर पानी छेक्ने साधन विनानै निस्किए । रेजिनाको घरमा खाना खाने तय भएकाले मलाई खाना पकाउनुपर्ने झण्झट थिएन । तर रेजिनाको घरमा खाना खाइसक्दा पानीले चुनौति दियो ।
एक घण्टा पर्खिए तर पानीको चुनौति कम भएन । मलाई काम नगरी नहुने, पानीले मेरो काममा बाधा हालिरह्यो । अब त अति भयो । मलाई पानी संग भित्रभित्रै रिस उठ्यो । तर मेरो रिससंग त्यो पानीलाई के मतलब । आफ्नो रफ्तारमा कमि ल्याउने कुनै संकेत गर्दैन ।
रेजिनाले पानीमा भिजेर नजानु भन्दै गर्दा म आफ्नै सुरमा निस्किए । अनि मोटरसाइकल स्टार्ट गरेर हुइकिए । धम्बोझि गाउंको गल्लिको बाटो गरेर जिल्ला प्रहरी कार्यालय पुग्दा मेरो शरिरको  अगाडीको भाग पुरै भिजिसकेको थिए । प्रहरी कार्यालयको भवनमा ओतिएर बसेकाहरु मलाई देखेर अचम्म परे । पानीमा भिज्दै आउनुपर्ने कुनै ठुलै कारण परेछकी भन्ने सोचे होलान भन्ने मलाई लाग्यो । तर उनीहरुतिर नहेरी म सिधै उपरिक्षकको कक्ष तिर हानीए ।
पुरै भिजेको कपडा सहित प्रहरी प्रमुखको कक्षमा उपस्थित हुंदा मलाई अलि अप्ठेरो महशुष भयो । म पुग्दा उनी कार्यालय कक्षमा बसीरहेका थिए । कोठा भित्र पुगेपछि म अलि टाढाको सोफामा बस्नै लागेको थिए उनले आफु नजिकैको सोफामा बस्न इशारा गरे । उनको कक्षमा अरु कोही थिएन । म उनी नजिकैको सोफामा गएर बसे ।
पहिलेनै कुराकानी गर्ने विषयमा छलफल भइसकेकाले त्यहां धेरै औपचारीकता निभाउनुपर्ने कुरै थिएन । सोफामा बस्ने वित्तीकै मैले डायरी निकाले । झोलामा हेर्छुछ मुभि क्यामेरा छ तर ब्याट्रि छैन । मलाई त्यति बेला रेजिना देखि झनक्क रिस उठ्यो । तर क्यामेरा त मैले नै राखेको हो । उसंग रिसाउनुपर्ने कारण त थिएन । गल्ति मेरै थियो । पत्रिकाको लागि कुरा गर्दैगर्दा टिभीको लागि पनि समाचार बनाउने मेरो योजना थियो । त्यो योजना भताभुङ्ग भयो ।
म केहीबेर अलमलमा परे ।
कुराकानी सुरु गरौ है सर ? मैले भने । उनले हुन्छ भन्ने संकेत गरे । म प्रश्न राख्दै जान थाले । उनको ब्यवहार अलि अनौठो लाग्न थाल्यो मलाई । मैले प्रश्न राख्दा उनी अस्वभाविक ढंगले आफ्नो घुम्नेकुर्चि सारेर मेरो निकै नजिक आइपुग्थे । तर म सामान्य ब्यवहार देखाउंदै थिए । प्रत्येक पटक प्रश्न राख्दा उनी मेरो नजिक आउंथे अनि जवाफ दिन फेरी कुर्ची सारेर पर जान्थे । मलाई अप्ठेरो लागिरहेको थियो । सोध्नुपनी भएन । कतिपय बेला उनले मेरो प्रश्नमा ध्यान नदिए जस्तो लाग्थ्यो । किनभने मैले गरेको प्रश्नमा उनि अर्कै जवाफ दिन्थे । त्यति बेला मैले सोंचे उनको ध्यान मेरो प्रश्न प्रति छैन अरुनै केही सोचिरहेको हुनुपर्छ । त्यहि क्रममा कुराकानी सकियो । मैले सोधेका करिब २५ प्रतिशत प्रश्नको जवाफ उनले ‘अफ द रेकर्डमा’ दिए ।
मेरो कुराकानी सकिएको थियो त्यहि बेला नेपाली कांग्रेसका नेता महेन्द्र मल्ल सहित दुई जना उपरिक्षक थापालाई भेट्न कार्यकक्षमा आए । उनीहरु आए पछि मेरो काम पनि सकिएकाले म वाहिर निस्कन खोजे । तर उनले मलाई चिया खाएर जानुस् भने ।
मैले सोचे उनको कक्षमा रहेका मल्ल र उनका साथि सहित सबैलाई चियाको अफर गरे होलान । त्यसैले हुन्छ भनेर केहीबेर बसे । पानीले भिजेकोले पनि जाडो भइरहेको थियो । त्यसैले चिया मेरो लागि फाइदाजनक देखेर उनको प्रस्ताव स्विकार गरे । तर मल्ल र उनका साथी केहीबेर कुराकानी गरेर बिदा मागे । उनीहरुलाई चिया खाएर जानुस् भनेनन् ।
अनि मेरो मनमा फेरी उनीप्रति अर्काे बिचार जन्मियो । किन उनीहरुलाई भनेनन् मलाई मात्र चियाको अफर गरे । मलाई कतिवेला त्यहांवाट उठेर जाउं जस्तो भएको थियो । महेन्द्रहरु उपरिक्षक थापाको कोठाबाट बाहिरीएपछि उनी अनौपचारीक कुराकानी तिर लागे । केहीबेर अनौपचारीक कुराकानी भएपछि चिया आयो । म चिया खाएर निस्कनै लागेको थिए । उनीसंग अब म जान्छु है सर भने । उनले सुनेनन् । फेरी भने अनि फेरी सुनेनन् । किनभने म उठेर उनीदेखि केही टाढा उभिएको थिए । अनि उनले भने श्रृजना जी द्धन्द्धकालको समयमा म दुई पटक एम्बुसमा परेकोले मलाई केही समस्या छ । त्यसैले म कान अलि कम सुन्छु ।
‘सरी सर’ मैले भने अनि त्यहांबाट निस्किए । पानी परिरहेकै थियो । म भिज्दै भिज्दै मेरो कार्यालय आए । बाटोभरी सोचे वास्तविकता थाहा नहुंदा मानिसले कसरी कसैप्रति नकारात्मक धारणा विकास गर्दाै रहेछ । एउटा राम्रो उदाहरण मैले मेरो अनुभवमा संगाल्ने मौका पाए ।
कार्यालय पुगेर पत्रिकाको लागि सामग्री तयार गर्नुपुर्व मेरो मनमा खेलेका यि अनगिन्ती भावना लेख्न उपयुक्त लागेर किबोर्डमा औला दौडाउन थाले ।





1 comment:

  1. SRI = Sweet, Ready, Intelligent
    Srijana ji,
    Man6e ko maan ho sansarik bandhan bhanda tadha pugna khoj6...yesto sochai bhayeka man6e haru na hune hoina...samajik ra bashtugat hisab le ni tyo sochda galat bhane thiyena....Reality bujhe pa6i galti bhayeko swikar garnu thulo kura ho...And article euta mano bhawana ho...good

    ReplyDelete