Tuesday, January 3, 2012


अपराधिक फाइल खोल्दै
प्रहरी प्रमुख बिक्रम
श्रृजना आचार्य 
‘कि भगत सिंह छैन कि विक्रम सिंह छैन’ भनेर नेपालगन्जका स्थानिय बासीन्दाको मन जित्ने प्रयासमा लागेका बांकेका प्रहरी प्रमुख विक्रम सिंह थापाले नेपालगन्जका ठुला अपराधका घटनाको फाइल खोल्दै छन् । नगरबासीको मनमा सन्त्रास छाउनेगरी भएका ठुला घटनाका फाइल अनुसन्धान पुरा नहुंदै थन्किएका छन् । 
प्रहरी उपरिक्षक थापाले २०६२ सालमा नेपालगन्जको त्रिभुवन चोक स्थित दिप ज्वेलर्समा भएको सामुहिक हत्याकाण्ड, २०६६ साल देखि बेपत्ता भएका गौरवकृष्ण रस्तोगी र २०६६ सालकै सुभाषचन्द्र वर्नवाल हत्या घटनाका फाइल अध्ययन गरीरहेका छन् । ‘यस्ता घटनाको अनुसन्धान पुरा नहुंदा प्रहरीले के गरीरहेको छ भन्ने प्रश्न उब्जिएको छ’ उपरिक्षक थापाले भने–‘यस्ता घटनाको अनुसन्धान सुरु गरेको छु ।’
त्यस्ता घटनाको अनुसन्धान गर्न सिनियर प्रहरी अफिसरको संयोजकत्वमा तिन सदस्यीय अनुसन्धान समुह खटाएको उनले बताए । अनुभवी र दक्ष प्रहरी खटाइएको भए पनि आवश्यक परे काठमाण्डौका विशेषज्ञको सहयोग लिने उनको योजना छ । 
ठुला अपराधिक घटना मध्ये एउटाको मात्रै भए पनि निचोडमा पुग्न सकिए स्थानियबासीन्दाको विश्वास जित्न सकिने उनको ठहर छ । ‘एउटा मात्रै घटना फाइनल भयो भने पनि त्यसवाट नागरीकको प्रहरी प्रति विश्वास जगाउन सकिन्छ’ उनले भने । 
त्यसका लागि उनले ति घटनाको फाइल मात्र हेरेका छैनन् कतिपय घटनाको स्थलगत अनुसन्धान पनि गरेका छन् । एकै परिवारको पांच जना सदस्यको सामुहिक हत्या भएको दिप ज्वैलर्स हत्याकाण्ड अनुसन्धानका लागि उनी केही दिन अघि स्थलगत अनुसन्धानमा गएका थिए । 
उनले अनुसन्धान फरक ढंगले गर्न थालेको बताएका छन् । ‘फाइलमा भएका कुराले मात्र पत्ता लाग्दैन’ उपरिक्षक थापा भन्छन्–‘फाइल एउटा माध्यम हुन सक्ला तर फरक ढंगको अनुसन्धानको जरुरी छ ।’ 
उनले यस अघि भएको यि घटनाको अनुसन्धानवाट निचोडमा पुग्न नसकिने बताएका छन् । ‘अनुसन्धान एउटा तह सम्म पुगेको भए निचोड आउथ्यो’ प्रहरी उपरिक्षक थापा भन्छन्–‘मैले फाइल बल्ल खोलेको छु अहिले यसै भन्न सकिने अवस्था छैन ।’ 
सुरक्षालाई पहिलो प्राथमिकतामा राखेका थापा यहांको संगठित अपराध निमिट्यान्न पार्ने ध्याउन्नमा छन् । ‘अपराध निर्मुल पार्न सकिन भने म यहां बस्नुको औचित्य छैन’ नेपालगन्जमा प्रहरी प्रमुख भएर आए देखिनै अलि कडा स्वभावमा प्रस्तुत भएका उपरिक्षक थापा अहिले पनि त्यहि मुडमा प्रस्तुत भए–‘भुमिगत समुहको त्रास कुनै पनि हालतमा समाप्त पार्नुछ ।’ उनी भन्छन्–‘हत्या, हिंसा, चन्दा असुली, अपहरण र विस्फाटका घटना बन्द गराउने लक्ष्य लिएको छु ।’ प्रहरी प्रमुख थापाले आफु त्यो अभियानमा सफलताको खुट्किलो चढ्न लागेको बताएका छन् । अपराधमा संलग्न केही ब्यक्ति पक्राउ पर्न थालेका छन् । 
भारतसंग सिमाना जोडिएको बांकेमा यस्ता घटनाको अनुसन्धान गर्न चुनौति भने कम छैन । यि घटनामा पेशेवर अपराधिको संलग्नता भएकाले पनि अनुसन्धान चुनौतिपुर्ण छ । 
नगरमा ढुक्क संग पेशा ब्यवसाय संचालन गर्ने वातावरण बनाउन केही नया योजना पनि उनी सामु छन् । वित्तीय संस्थाहरुमा सिभिल प्रहरी परिचालन, औद्योगिक, ब्यवसायीक र बैङ्किक क्षेत्रमा सिभिल प्रहरीको परिचालनलाई प्रथमिकतामा राखेका छन् । त्यसवाहेक औद्योगिक क्षेत्रमा काम गर्ने सुरक्षा गार्डलाई पनि सुरक्षा तालिम दिने योजना सार्वजनिक गरेका छन् । 
कुराकानीको क्रममा उनले भुमिगत समुहका नाइके भगतसिंहको नाम धेरै पटक लिए । ‘भगत सिंह कानुनी दायरामा आउनुपर्छ’ उनले भने–‘सिमापारी लुकेर संधै साध्य हुंदैन उ नेपालमै आउंछ ।’ भगत सिंहले वार्तामा आउने कुरा गर्ने तर अपराधिक कृयाकलाप जारी राखेकोमा उपरिक्षक थापालाई पटक्कै चित्त बुझेको छैन । ‘राजनीतिक रुपमा आउने हो भने अपराधिक कृयाकलाप छोड्नु पर्छ’ उनले भने–‘सबै छोडेर वातावरण बनायो भने हामीलाई कुनै आपत्ती छैन । 
निकै संवेदनशिल क्षेत्रमा बसेर काम गरिसकेको अनुभव भएकाले नेपालगन्जमा पनि ब्यवसायी र स्थानियबासीन्दा लगायतको सहयोग पाए आफ्नो मिसनमा सफल हुने उनको आशा छ । ‘ब्यवसायीवाट सहयोगको प्रतिवद्धता पाएको छु ’ उनले भने–‘हामीले सुरुवात गरीसकेका छौं अव सबैको साथ चाहिन्छ ।’ प्रहरी नै कतै भुमिगत समुहसंग मिलेका छन् कि भन्ने नागरीकको आशंका निर्मुल पार्न पट्टि ध्यान केन्द्रित भएको उनले बताए । 
२२ वर्ष देखि प्रहरी सेवामा लागेका थापा ४ वर्ष देखि उपरिक्षकको भुमिकामा छन् । प्रहरी निरिक्षकवाट प्रहरी सेवा सुरु गरेका उनीसंग चुनौतिसंग जुधेका थुप्रै अनुभव छन् । ‘इनिस्पेक्टर हुंदा काठमाण्डौमा पनि म फेमस भएको मान्छे हुं’ उनले भने–‘मेरो काम गर्ने आफ्नै तरीका छ, त्यसैले सफल पनि भएको छु ।’ 
गुल्मी धुर्काेटका थापा यस अघि काठमाण्डौका सबै युनिट, सप्तरी, कपिलबस्तु लगायतका ठाउंमा बसेर काम गरीसकेका छन् । हाइटि, कोशोभो, बोस्नियन लगायतका ठाउंमा मिसनको अनुभव पनि संगालेका छन् । ‘प्रहरीको जागीर अप्ठेरो छ’ प्रहरी उपरिक्षक थापा भन्छन्–‘सफल हुन सुरक्षा रणनीति राम्रो हुनुपर्छ ।’ 

1 comment:

  1. Chunauti lai sajilai lina sakne 6emata bhayeka prahari ma tyo chunauti paar garna sakne 6emata aawashye hun6........Confidence is required to accomplish the work.....But take care of over confidient....The difference between confidence and overconfidence is just the difference between solid and liquid...

    ReplyDelete