Friday, March 22, 2013

मेरो परिचय के ?

श्रृजना आचार्य
बांके कुशम–६ का आइतरामलाई कसैले उनको परिचय माग्यो भने उनलाई आफ्नो परिचय दिन निकै समस्या पर्छ । आफ्नो सहि परिचय के हो भनेर उनले छुट्याउनै सकेका छैनन । केही दिन अघि आफ्नै गाउंमा निर्माण हुन लागेको विद्यालय भवनमा मजदुरी गर्न आएका आइतरामलाई फेरी उही समस्या पर्यो । आरआरएनको सहयोगमा निर्माण भइरहेको सो भवनमा मजदुरी गर्न आएका आइतरामलाई संस्थाका कर्मचारी सुरेन्द्र कार्कीले बुवा हजुरको नाम केहो नी भनेर प्याट्ट सोधिहाले । अव पर्यो फसाद उनले टोपीको फेर हातले मिलाउदै भने ‘बाबु मेरो वास्तविक परिचय केहो मै आफै रनभुल्लमा छु ।’ निकै वेर गमे पछि आइतरामले भने बाबु वास्तवमा मेरो नाम त आइतराम रामीजाल पुन हो तर मेरो नागरीकतामा मेरो जात नै फेरीएको छ । नागरीकतामा मेरो परिचय  आइतराम रामिजाल कुमाल भनेर उल्लेख छ । अब भन मेरो वास्तविक परिचय के होला ? हरेक नेपाली नागरीकको पहिचानको प्रमाण नेपाली नागरीकता हो । तर त्यही नागरीकताले नागरीकको गलत पहिचान बताइदियो भने पक्कैपनि आइतरामलाई जस्तै समस्या पर्छ ।

विसं २००७ सालमा जन्मिएका आइतरामले २०४४ सालमा मात्र नागरीकता बनाए । जिल्ला प्रशासन कार्यालयवाट गाउंमै नागरीकता वनाउन आएको टोलीले उनको नागरीकता वनाईदिएको हो । अक्षर नचिनेका आइतरामलाई नागरीकता बनाउन सिफारीस गरीदिने गाविस कार्यालयले उनको थर नै परिवर्तन नै गरीदिएछ । ‘बावुका पालामा नागरीकताको जमाना थिएन, मैले सिफारीसका लागि आफ्नो नाम थर बताउंदा गाविसका कर्मचारीले अर्कै सुनेछन््’ आइतरामले भने–‘ म नपढेको मान्छेले कागजमा के लेखेको छ त्यो कुरो थाहा नै पाइन ।’
उनीवाट जात परिवर्तन हुन सुरु भएको त्यो सिलसिला बंशानुगत उनका छोरा नातीमा पनि सरेको छ । ३ भाई छोरा ४ छोरीका बुवा आइतरामको नागरीकतामा थर परिवर्तन भएपछि उनका छोरा, वुहारी, श्रीमति सवैको थर पनि परिवर्तन भयो ।
नागरीकतामा जात नै परिवर्तन भएर जति अप्ठेरो परेपनि उनले थर सच्याउने प्रयास नै गरेनन् । ‘यहि नागरीकता बनाउंदा त घरमा फलेको सिमी बेचेर बनाएको हो नानी, फेरी वजार गएर थर सच्याउन कति पैसा लाग्ने हो’ उनले आफ्नो दुखेसो सुनाए–‘नेपालगन्ज वजार पुग्ने भाडाले घरको गर्जाे टर्छ ।’
नागरीकताकै कारण पुन मगरवाट कुमाल भएका आइतरामका छोराहरुलाई भने यो कुरा मन परेको छैन । उनीहरु आफ्नै जात नागरीकतामा उल्लेख होस भन्ने चाहन्छन् । तर विवसता भने उही हो घरको गर्ज अनि प्रशासन पुग्दाको खर्च ।

‘वावुले उच्चाउनु पर्ने हो अब हामीले कसरी सच्याउने’ छोरा हिराले भने–‘अब कान्छो भाईको नागरीकता बनाउन बांकी छ मिल्यो भने भाईको सच्याउनुपर्ला ।’
तर उनीहरुका बुवा आइतराम भने विन्दास छन् । भन्छन्–‘जातमा के राखेको छ ? सवैले सवै जातको विहे गर्छन । पुन वाट कुमाल भइयो त के फरक पर्छ त्यसैले यो जात सच्याउने तिर चासो दिइन ।’




2 comments:

  1. कर्मचारी को सानो गल्ती को कारण ले निम्त्याएको ठुलो परिणाम, रिपोर्टिङ को लागी धन्यबाद श्रृजना ज्यु लाई

    ReplyDelete