Sunday, March 3, 2013

संचारमा लैगिक सम्वेदनशिलता

                                       
16/09/012

श्रृजना आचार्य

पृष्ठभुमि

नेपालको सन्दर्भमा पत्रकारिताको इतिहासले एक शताब्दी पार गरिसकेको छ । तर जहाँ सम्म कस्ले, कस्का लागी भन्ने सवाल छ – त्यहाँ भने उत्तरमा पनि प्रश्नै प्रश्न रहेको पाईन्छ ।
विशेष गरी २०४६ सालको परिवर्तन पछि हाम्रो देशमा देखा परेको बहुलवादका अभियानहरुको प्रभाव नेपाली सञ्चारमा पनि पर्न गयो । २०४७ सालको संविधानले नेपालमा प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको सुनिश्चिता ग¥यो । त्यस पछि नै प्रकाशन र प्रसारणका क्षेत्रमा नीजि स्तरका मीडिया हाउसहरुको उदय हुन पुग्यो । समग्रमा यो वातावरणले संचारमा हराईरहेका महिलाहरुको पनि कुरा उठ्न थालेको छ । पछिल्लो समय संचारमाध्यमहरु लैगिक दृष्टिकोणले संवेदनशिल बन्दै गएका छन् । अधिकांश राजनीतिक विषयले मात्र भरीने अखवारका पाना र विद्युतिय संचारमाध्यमहरुमा महिलाका मुद्धाहरु पनि धेरै थोरै समावेश हुन थालेका छन् ।
महिलालाई हिंसा र मनोञ्जनका विषय वस्तुका रुप्मा संचार मध्यममा मनग्य उठाइने गरीएको छ । जव एउटी महिला हिंसामा पर्छिन अनि संचारमाध्यमको ध्यान आकर्षित हुन्छ । घरेलु हिंसा, सांस्कृतिक रुपमा महिला दमित भएका विषय, महिला असमानता, स्वास्थ्य र शिक्षामा महिलाको अवस्था र महिलाका पक्ष विपक्षमा भएका कानुनका विषयमा समाचार बन्छन् । यस्ता विषय संचारमा आउनु राम्रो कुरा हो । तर जति र जसरी उठाइनुपर्ने हो  त्यसरी आउने गरेको छैन । यस्ता विषयलाई दिंदा पनि पत्रकारीता आचार संहितामा उल्लेख गरे अनुसार पीडित महिलाको परिचय गोप्य राख्नु पर्ने विषयलाई पनि ख्याल गरेको पाइदैन । बलात्कार लगायत यौन जन्य हिंसा र सामाजिक अपहेलना एवं घृणाजन्य घटना मा परेका महिलाको परिचय र तस्विर समेत संचार माध्यममा आउने गरेका छन् । जसले पीडित महिलालाई थप पीडा पुर्याइरहेको हुन्छ ।

पत्रकार आचार संहितामा लैगिक सम्वेदनशिलता

१ सामाजिक दायित्व
अशक्त, असहाय, अपाङ्ग, बालबालिका, महिला तथा पिछडिएका वर्ग, क्षेत्र, भाषा–भाषी र अल्पसंख्यक समुदायको उत्थान र विकासमा सूचना र विचार प्रवाहद्धारा विशेष सहयोग पु¥याउनु पत्रकार र सञ्चार माध्यमको दायित्व हुनेछ ।

२ पत्रकार र आमसञ्चार माध्यमले के गर्नुहुदैन ?

पीडीतलाई थप पीडा पुग्ने गरी भाषा, ध्वनि, तस्बिर, चित्र र दृश्यसमेतको प्रयोग गरी समाचार तथा विचार प्रकाशन–प्रसारण     वा उत्पादन–वितरण गर्नुहुदैन ।
यौनजन्य अपराध र सामाजिक अपहेलना एवं घृणाजन्य घटना वा सन्र्दभमा पीडित व्यक्तिहरुको सचेत स्विकृति बिना नाम, ठेगाना र पहिचान खुल्नेगरी समाचार, तस्बिर र दृश्य प्रकाशन–प्रसारण वा उत्पादन–वितरण गर्नुहुदैन ।
सामान्यतया संचारमा महिलाका मुद्धा

१ हिंसा
२ घरेलु हिंसा
३ शिक्षा, स्वास्थ्य, राजनीतिमा महिलाको अवस्था
४ लैगिक असमानता
५ सांस्कृतिक कारणले महिला माथि भएका दुब्र्यवहार, हिंसा
६ ब्यक्तिगत, पारीवारीक सम्बन्ध
७ बलात्कार
८ फेसन, श्रृंगार, विज्ञापन

बहस
पछिल्लो समय आम सञ्चार माध्यमद्वारा महिला मुद्दालाई गरिएको उठान हेर्दा निरास भै हाल्नु पर्ने अवस्था छैन । तर, मुख्य प्रश्न ती समाचारहरु महिलाहरुप्रति कत्तिको संवेदनशील छन् भन्ने हो ।
राजनीतिमा महिलाहरु विस्तारै सकृय हुन थालेका छन् । खासगरी २०६२÷०६३ सालको जनआन्दोलन पछि ३३ प्रतिशत महिला सभासद भए । राज्यका अन्य संरचनामा पनि ३३ प्रतिशत महिला सहभागीताको कुरा अन्तरीम संविधानमा पनि सुरक्षित छ । तर  पनि नेतृत्व तहमा पुगेका महिलाको संख्या भने औलामा गन्न सकिने छन् । जसका कारण राजनीतिक महिलाहरुको ब्यक्तित्व संचारमा आउनु पर्ने जति आउन सकेको छैन । माओवादीको दश वर्षे शसस्त्र आन्दोलनमा महिलाले खेलेका भुमिका, महिलामा आएको परिवर्तन, महिलाले सामाजिक र पारीवारीक दायित्व वहन गरेका सामग्री, महिलाका कारण आएको सामाजिक सांस्कृतिक परीवर्तनका समाचारहरुले तुलनात्मक रुपमा बढी स्थान लिन थालेका छन् ।
महिलालाई पीडित दमित पात्रका रुपमा उतार्न संचारमाध्यमले राम्रै ठाउ दिन्छन् । तर कुनै महिला सामाजिक र विकासका काममा अग्रसर भएको समाचार निकै काम आउने गरेका छन् ।
महिलाका सबै भन्दै बढी कभर हुने मनोरञ्जनका सामग्री हुन् । महिला कलाकारको पारीवारीक र ब्यक्तिगत विषयवस्तु समाचार सामग्री हुने गर्छन । तर पुरुष कलाकारका सामग्री त्यसरी प्रस्तुत गरीदैन ।
दोस्रो जनआन्दोलन २०६२÷२०६३ पछि आएको राजनीतिक परिवर्तन पछि महिलाका मुद्धाहरु संचार माध्यममा आउने क्रम विस्तारै बढ्न थालेको छ । तर, सकारात्मक सामग्री भन्दा महिलाहरुलाई सञ्चार माध्यममा पीडित, निरिह र दुखीका रुपमा देखाउने चलन विद्यमान छ । जस्तै कतै सवारी दुर्घटना भएर मानिसहरुको मृत्यु भयो भने, छापा माध्यममा रुँदै गरेकी महिलाको फोटोले प्राथमिकता पाउँछ । मनोरन्जन दिने अखबारहरु महिलाहरुकै तस्वीर मात्रै छापिन्छन् । विद्युतीय सञ्चार माध्यममा पनि महिलावारेकै नराम्रा पक्षहरु खोजेर त्यसवारे चर्चा परिचर्चा हुने गरेको छ । सञ्चार माध्यममा आइरहेका समाचार शैलीले श्रृजना गरेका वहसबारे केही बुँदा तल उल्लेख गर्न चाहन्छु–
     केही समय अघि नेपालगन्जमा भएको यौटा वलत्कारको घटना समाचार बन्यो । समाचारमा कक्षा नौ मा पढ्ने एक किशोरीलाई एक युवाले रातभरी कोठामा थुनेर वलात्कार गरेको कुरा उल्लेख थियो । त्यस समाचारमा केटीको नाम, उमेर, घरको ठेगाना, विद्यालयको नाम समेत खुलाइएको थियो । समाचारका कारण ती किशोरी विद्यालय छाड्न बाध्य मात्र भइनन् समाजका अगाडी लाजका कारण उनी बिस्थापित समेत भइन् । हाल उनी नेपालगन्ज छोडेर कोहलपुर आफन्तकहाँ बसोवास गरिरहेकी छिन् ।
     बाँके जिल्लामा भएको अर्को घटनामा महिलालाई हाँसोको पात्र बनाइयो । प्रसुति अवस्थामा बच्चा जन्माउने क्रममा शल्यक्रिया गरिएको एक महिलाको योनी डाक्टरले सिलाइदिएपछि यो समाचार बन्यो । समाचारमा महिलाको नाम, ठेगाना, पतिको नाम सवै खुलाइएको थियो । यसले महिलाको सामाजिक प्रतिष्ठामा कस्तो असर पुग्छ भन्ने पटक्कै ख्याल गरिएन ।
     समाजका हुने गरेका घटनाहरुलाई महिलाको आँखाबाट हेर्न नसकिरहेको अवस्था विद्यमान छ । दृष्टिदोषका कारण छोरा र छोरी विचको विभेद, छोराको चाहनामा छोरी जन्माइरहनमा, शैक्षिक विभेद तथा घरेलु हिंसामा पनि महिलाकै दोष भएका समाचारहरु देखिन्छन् । महिलाहरुका सवालमा समाचार आएमा पीडितहरुको भनाई उद्धृत नगरि एक तर्फी समाचार श्रोतकै आधारमा समाचार आइरहेको पनि पाइन्छ ।

महिलाका मुद्धा संचार माध्यममा आउन नसक्ने कारण
१ संचार माध्यममा महिलाको कमि
२ राजनीतिक नेतृत्वमा महिलाको कमि
३ समाचारका श्रोत महिला बन्न नसक्नु
४ महिला आफै पनि अगाडी आउन नसक्नु
५ काठमाण्डौ केन्द्रित संचार माध्यम र समाचार श्रोत

सुझावहरु
     सञ्चार माध्यममा आउने समाचारहरुलाई महिला मैत्री बनाउन तथा समाचारदाताहरुलाई लैङ्गीक संवेदनशीलतालाई ख्याल राख्नसक्ने बनाउन उनीहरुको यस बिषयमा क्षमता अभिबृद्धि आवश्यक छ । नेपालका सन्दर्भमा विद्यमान कानुन र प्रावधानहरुको जानकारीको अभावमा पुष्ट तथा पूर्ण समाचार सम्प्रेषणमा समस्या देखिएको छ ।
     महिला संवेदनशीलता महिलाले जत्ति पुरुषले कहिल्यै बुझ्न सक्दैनन् । त्यसैले समाचार कक्षहरु पनि समावेशी बनाइनु आवश्यक छ ।
     नीति निर्माता तथा समाचारका सम्भावित श्रोतहरुलाई प्रचलित ऐन, कानुन र विद्यमान अभ्यासका बारेमा अभिमुखीकरण आवश्यक देखिन्छ ।

धन्यवाद
श्रृजना आचार्य
अध्यक्ष
संचारीका समूह मध्यपश्चिम क्षेत्रिय समिति

No comments:

Post a Comment