Sunday, October 14, 2012

पति मारीए सन्तानले हेर्दैनन्


श्रृजना आचार्य
माओवादीको शसस्त्र द्धन्द्धमा आफ्ना पति र छोरा गुमाएका महिलाहरु सरकारले दिएको राहत रकमका कारण पारीवारीक द्धन्द्धको शिकार भएका 
छन् । द्धन्द्धमा आफन्त गुमाएका महिलालाई सरकारले दिएको राहत रकमको लोभले परिवारका अन्य सदस्यले पीडित महिलालाई यातना दिने गरेको पाइएको छ । 
बांकेमा यस्ता धेरै उदाहरण भेटिन्छन् जहां सरकारले राहत स्वरुप दिएको सानो रकमका कारण पारीवारीक सम्बन्ध बिग्रिएको छ । राहत स्वरुप पाएको अत्यन्त न्युन रकमले महिलाको जिवन निर्वाह हुने कुरा त भएन तर पारीवारीक सम्बन्ध समेत बिग्रिएर एक्लिएका छन् । रकमकै कारण समस्या आए पनि त्यस्ता महिलाहरु त्यो पीडा मनमै लुकाएर बस्ने गरेका छन् । लुकाउनै नमिल्ने गरी छताछुल्ल भए पछि मात्र त्यस्ता समस्या बाहिर आउने गरेका छन् । 
५७ वर्षिया हरीदेवीका श्रीमान खासकुस्मा गाविसको सिक्टामा नेपाली सेनाको कारवाहीका क्रममा २०६१ सालमा मारीए । सरकारले तत्कालिन राहत स्वरुप एक लाख रुपैया दियो । त्यो रकम उनको हात परेपछि उनका जेठा छोरा लोकवहादुर टेढिन थाले । ‘एक लाख रकम बुझे पछि छोराले जे भन्यो त्यही किनिदिए तर उसको लोभ भरीएन’ हरीदेवीले भनिन्–‘त्यसका लागि पेट काटेर साइकल किने, कपडा किनिदिए तर पनि मलाई हेला गर्न छोडेन ।’ 
दोस्रो चरणमा राहत रकम बुझे पछि छोराको यातना झन बढ्न थाल्यो । जहिले पनि पैसा मागेर सताउन थालेपछि अहिले उनी एक्लै बस्दै आएकी छन् । ‘छोरालाई बाउ मरेको भन्दा पनि पैसाको चिन्ता धेरै छ, म बुढी एक्लो ज्यान काम गर्न सक्दिन कसरी काल पर्खिने हो ’ उनले दुखेसो पोखिन । 
छोरासंग बस्न नसकेर एक्लै कटेरामा बस्दा समेत उनलाई सुख संग खान छैन । बेला बेलामा छोराको धम्कि खाइरहन्छिन् । ‘घरमै आएर मार्छु भन्दै धम्क्याउंछ गाउंलेले सम्झाउंदा पनि केही लाग्दैन ’ उनले भनिन् । 
हरीदेवीको जस्तै थुप्रै उदाहरण छन् जुन वाहिर आउन समेत सकेका छैनन् । 
आफ्ना पति मारीदाको पीडा एकातिर छ भने अर्का तिर आफ्नै सन्तानले दिने लान्छना सहेर बस्न बाध्य महिलाहरुले न्याय पाउन सकेका छैनन् । खासकुस्मा २ कुशुमकी ७२ वर्षिया बृद्धा गंगी बिकको एउटा छोरा मारीए पछि त्यसको राहत स्वरुप पाएको पैसाका कारण जेठा छोरा बासु विकले दिएको यातना सहन नसकेर उनी पनि एक्लिएकी छन् । जिउदो रहेको जेठो छोराले नहेरे पछि उनी अहिले राहत स्वरुप पाएको पैसा ब्याजमा लगाएर जिउ पालेकी छन् । ‘छोराले बस्नखान दिएन अहिले छोरीको छोरासंग बसेकी छु’ बृद्धा गंगीले भनिन्–‘बुढेसकालमा सहारा देला भनेको उल्टै घरवाट निकालिदियो ।’
शारीरिक अवस्थाले निकै कमजोर, आंखा समेत देख्न नसक्ने भएकी बृद्धा गंगीले छोराको सहारा खोसिए पछि राहत स्वरुप पाएको पैसा आफ्नै ज्वाईलाई ब्याजमा लगाएकी छन् । ‘छोराले हेर्दैन त्यही पैसा पनि त्यसैलाई दिएर म कसरी बांच्ने त्यसैले ब्याजमा लगाएर घरखर्च टारेकी छु’ गंगीले भनिन्–‘नाति केटाले सांझ बिहान पकाएर खान दिन्छ ।’ गंगीका छोरा चन्द्रवहादुर विकलाई नेपाली सेनाले २०५९ सालमा मारेको हो । छोराको मृत्यु भएपछि पाएको राहत रकमका कारण उनले जेठो छोरा बासु बिकवाट यातना सहनु परेको छ । 
पारीवारीक कारणले नै कतिपय मुद्धामा पीडितले राहत रकम पाउन ढिलाई हुने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । परिवारका अन्य सदस्यहरु नै राहत रकम आउने प्रकृयाको वाधक हुने गरेको प्रशासनले जनाएको छ । 
‘सबै पारीवारीक झगडा जिल्ला प्रशासन कार्यालयमा आउंदैनन् केही उदाहरणका रुपमा आएका समस्यालाई हामीले सुल्झाएका छौं ’ सहायक प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले भने ।  
जिवनको सहयोगी गुमाउदा परेको पारीवारीक र सामाजिक जिम्मेवारीको बिचमा पारीवारीक कलहले महिलाको जिवन निकै कष्टकर बनेको छ । परिवार भित्रको समस्या न त बाहिर ल्याउन सकिने न त सहन सकिने यस्तो नियतिमा थुप्रै पीडित महिला बांचेका छन् । यस्तो अवस्थामा राज्यले झारा टार्ने राहत भन्दा परिपुरणको ब्यवस्था गरिदिए केही राहत हुने थियो । 

No comments:

Post a Comment