Wednesday, January 10, 2018

श्रीमान ज्यु ! यी प्रश्नको उत्तर कहिले आउंछ ?

सानै छंदा मेरी आमाले भन्नुहुन्थ्यो रछ्यान चलायो मुखमा छिटा । त्यतिवेलाको मेरो बालमनले बुझ्न नसकेको त्यसको अर्थ अहिले डा. गोविन्द केसीले छर्लगं पारिदिए । वास्तवमा डा गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीका विषयमा जति कुरा उठाएका छन् ति मध्ये धेरै कुरा मलाई थाहा थिएन । सायद म जस्ता कति मानिस थिए होलान् सर्वोच्च अदालतको सबैभन्दा माथिल्लो कुर्चिमा आशिन हाम्रा न्यायमुर्ती यति धेरै विवादित छन् भन्ने कुरा ।
भनिन्छ जसको केही बांकी छैन उसलाई गुमाउनुको केही डर हुंदैन । डा गोविन्द केसी यस्ता ब्यक्ति भए जसले न्यायमुर्तीकै अगाडी उभिएर उनलाई नै खुइल्याइदिए । गोपाल पराजुलीले गोविन्द केसीको खोस्ने केही थिएन । त्यसैले गोविन्दलाई गुमाउनुको डर भएन । एउटा निश्कलंक ब्यक्तिले आफ्ना अगाडी भएको अनैतिक काम कसरी हेर्न सकुन । त्यस्तै भयो गोविन्द र गोपाल बिचको लडाई ।
प्रधानन्यायाधीश गोपाल पराजुलीले डा केसीलाई छापामार शैलीमा पक्राउ आदेश दिंदा सायदै सोंचेका थिए होलान डा केसीले यति सम्म आफुलाई खुइल्याउने आंट गर्लान भनेर । होइन भने कुनै ठूलै अपराधिलाई जस्तो रातारात छापामार शैलिमा पक्राउ गर्नुपर्ने त्यस्तो अवस्था नै थिएन । डा केसीलाई ९ वजे अदालतमा हाजिर हुन आदेश दिएको भए पनि उनी हाजिर हुन्थे होलान ।
 रातारात डा केसीलाई पक्राउ गर्दा नगर्दै सामाजिक संजालमा उनी विरुद्धका र विवादित त्यस्ता कुरा छताछुल्ल भए जुन कुरा केही ब्यक्तिमा मात्र सिमित थियो । अहिले उनका कर्तुत सामान्य भन्दा सामान्य मानिसले पनि जानकारी पाएको छ । त्यो भन्दा मुख्य कुरा त सर्वाच्च अदालतमै उनका ती विवादित विषय लिपिवद्ध भएर बस्ने छन् । सर्वाच्च अदालतकै इतिहांसमा यति संगिन आरोप अदालतमै लिपिवद्ध भएपछि युयौं युग ति कुराहरु रहने छन् । हाम्रा आगामी पुस्ताले पनि कुनै जमानामा यस्ता पनि प्रधानन्यायाधिश रहेछन् भन्ने कुरा थाहा पाउने भए । चौधौं पटक गत सोमवार सत्याग्रह बस्दा उनका मागहरु यस्ता थिए । १ प्रधान न्यायाधीशको तत्काल राजीनामा । तत्पश्चात उनका क्रियाकलापको छानविन र कारवाही । २ चिकित्सा शिक्षा आयोग तत्काल गठन । ३ डिनमा विधिवत्रुपमा बरिष्ठताका आधारमा नियुक्त भएका प्राडा जगदीश अग्रवाललाई कायम गर्नुपर्ने । नयाँ डिनको पुनर्वहाली तुरुन्त खारेज ४ दलीय भागवण्डामा नियुक्त भएका त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गर्नुपर्ने । यस्तै पांच बुंदे माग राखेर अनसन बसेका डा केसीलाई जव अदालतको मानहानी भयो भनेर मुद्या दर्ता गर्दै छापामार शैलीमा प्रहरीले पक्राउ गर्यो अनि प्रधानन्यायाधीशका कृयाकलाप छताछुल्ल भए । डा केसीले न्यायाधिशकै अगाडी उभिएर प्रधानन्यायाधीशका विषयमा यस्ता गम्भिर प्रश्न खडा गरीदिए । उनले उठाएका विषय यस्ता छन् । उनले प्रधानन्यायाधीश पराजुलीको दुई वटा नागरिकता लिएको, उमेर सच्याएको तथा एसएलसी पास गरे नगरेको प्रश्न उठाएका छन् । पराजुलीले आफ्नो भन्जीज्वाइँ नातेदार कहकुल सुवेदीले ६, ७ महिनाको अवधिमा रजिष्टार, मुख्य रजिष्टार हुँदै उच्च अदालतको मुख्य न्यायाधीश बनाएर न्यायिक स्वाधिनतामा कुठाराघात गरेको आरोप लगाएका छन् । जग्गा प्लटिङ काण्ड, क्यासिनो काण्ड, चुडामणि शर्माको मुद्दा, गोपाल खड्काको मुद्दा र एनसेलको मुद्दामा भएका फैसलामा पनि डा केसीले प्रश्न उठाएका छन् । यस्ता क्रियाकलापले कानुनको शासनलाई उपहास गरेको भन्दै उनले छानविनको माग गरेका हुन् । यो तिन दिनको अवधिमा सामाजिक संजाल र संचारमाध्यममा थप कुराहरु पनि वाहिर आए । सामाजिक संजालमा प्रधानन्यायधिश पराजुलीले छोडपत्र नगरी ४ वटा विवाह गरेको कुरा छताछुल्ल भयो । प्रधानन्यायधीस नियुक्ति हुने प्रकृयामा सांसदिय सुनुवाई समितिमा सभासद आरजु राणा देउवाले प्रधानन्यायाधीशलाई सो विषयमा प्रश्न समेत गरेको कुरा वाहिर आयो । प्रधानन्यायाधीशलाई यस्ता संगिन आरोप लगाएका डा केसी बुधवार साधारण तारेखमा रिहा भए । डा केसीलाई पक्राउ गरेपछि रिहा गर्दा सम्मका तीन दिन भित्र पराजुली विरुद्ध सामाजिक संजाल, संचार माध्यममा यति धेरै सूचना वाहिर आएकी प्रधानन्यायाधीशलाई राजिनामा दिने नैतिक दवाव समेत सिर्जना भएको छ । कानूनका जानकारहरुका अनुसार अब अदालती छानविनको प्रक्रियामा तानिएपछि प्रधानन्यायाधीश पराजुलीका सामु दुई विकल्प छन् एक आफूमाथिको छानविन पूरा नहुँदासम्म नैतिकरुपले अदालती प्रशासनको काम नगरिकन हाजिर मात्रै गर्ने वा विदामा बस्ने । अथवा कार्यकाल सकिन दुई ४ महिनाअगावै नैतिकताका आधारमा राजीनामा दिने । डा.केसीका कारण अहिले न्यायाधीशका नकारात्मक कृयाकलाप विरुद्ध सर्वसाधारणले समेत औला उठाउन पाउने वातावरणको सिर्जना भएको छ । यस मानेमा प्रधानन्यायाधीश पराजुलीलाई धन्यवाद दिनै पर्छ । डा केसी पक्राउ घटना नभएको भए सार्वभौम नागरिकले आफ्नो अदालतलाइ सिधा प्रश्नगर्ने अवसर पाउने सम्भावना कहां हुन्थ्यो र ? डा. केसीका का कारण अदालतलाइ शुद्ध पार्ने अभियानमा बल पुग्ने समेत देखिएको छ ।

No comments:

Post a Comment