Sunday, May 20, 2012

के सिकाउंदैछौ यिनलाई ?


श्रृजना आचार्य 
दिनभरी बन्दको अवरोध छिचोल्दै झण्डै ३० किलोमिटरको यात्रा पार गरेर चार वजे कार्यालयमा पुगेपछि पहिलो काम संधै झै जिमेल अनि फेसबुक पेज एकै पटक अन गरे । 
जिमेलमा आएको अफिसको एड्भाइजरी हेरीसकेपछि फेसबुक तिर नियाले । सबै साथीहरुले प्राय एउटै स्टाटस लेखेका छन् । जनजाति महासंघको बन्दका क्रममा पत्रकार माथि भएको आक्रमण र महासंघका महासचिव आङ्गकाजि शेर्पाले पत्रकारलाई बांकी राख्नेछैनौ भनेर दिएको धम्कि धेरैका स्टाटसका विषय बनेका थिए ।
हुन पनि बन्द, हड्ताल निकै अराजक बन्दै गएका छन् । आफ्नो माग राख्ने नैसर्गिक अधिकार सबैलाई हुन्छ तर त्यसो गर्दा अर्काको पनि अधिकार सुरक्षित हुनुपर्छ भन्नेकुरा हामी विर्षदै गएका छौं । 
विहान झण्डै ६ वजे बांकेको वनकटवाका लागि निस्कदा मनमा अनेक त्रास बोकेर निस्किए । कति ठाउंमा बन्द आह्वानकर्ता बसेका होलान ? कस्तो ब्यवहार गर्नेहुन ? यस्तै यस्तै प्रश्न मनमा उब्जियो । तर पनि जानु त थियो नै । 
नेपालगन्ज देखि कोहलपुर पुग्दा सम्म बाटोमा कुनै बन्दकर्ता देखिएनन् । बाटो अवरोध पनि थिएन । तर कोहलपुर देखि पश्चिम लागे पछि मदनचोक नजिक सडकमा ढुंगा थुपारेको देखियो । त्यो देखेर रविन्द्र कर्णले मोटरसाइकलको गति केही कम गर्नुभयो । सडक छेकेर ढुंगा राखिएको छ तर बाटोमा कोही मानिस छैन । नजिकै पुगेका थियो । सडक किनाराको एउटा घर अगाडी बाट एउटा आवाज सुनियो,  ए रोक रोक । मोटरसाइकल रोकियो । एउटा झण्डै १५ वर्षको अल्लारे युवक हिन्दि फिल्मको हिरो सलमान खानको स्टाइलमा अगाडी आयो । 
रङ्ग हालेर रातो बनाएको लामो कपाल मिलाउंदै, टाउको हल्का कोल्टे पारेर गजक्क पर्दै बोल्यो कहांवाट आएको ? रविन्द्र सर विस्तारै बोल्नुभयो नेपालगन्ज देखि । अनि फेरी उ कड्कियो, कहां जाने ? रविन्द्र सरले फेरी विस्तारै भन्नुभयो बनकटवा जाने । हामी चढेको मोटरसाइकलमा अगाडी पछाडी दुवै तर्फ मानवअधिकारकर्मी, अनुगमनकर्ता भनेर लेखेको थियो । सलमानखान स्टाइलमा त्यो युवकले पढ्यो अ नु ग म न क र्ता । त्यति पढी सकेर उसले सोध्यो कार्ड पनि होलानी ? रविन्द्र सर र बशन्त गौतम सरले पनि आफ्नो कार्यालयको कार्ड देखाउनुभयो । मैले घांटिमा पत्रकार परिचय पत्र झुण्ड्याएकी थिए । सलमान खान संग रविन्द्र सरको कुरा भइरहेकै थियो । यतिकैमा सडक छेउको घर नजिकै बाट सडक तर्फ आउंदै अर्काे कड्कियो ए ठोक ठोक । स्कुले पोषाकमा देखिएको सो युवकले हातमा यामानको लठ्ठी बोकेको थियो । 

ठोक ठोक भनेर मोटरसाइकल नजिक आएपछि बशन्त सरले किन ठोक्ने बाबु भनेर सोध्नुभयो । उसले निकै शान संग भन्यो बन्दमा मोटरसाइकल चलाउनेलाई ठोक्ने । त्यहि बेला मैले किलिक्क फोटो लिए । अनि उनीहरु केही हच्किए । बाटो छोडीदिए । अनि लाग्यौ हामी गन्तब्य तिर । रविन्द्र कर्ण जो २०४२ साल देखि महेन्द्र बहुमुखी क्याम्पसमा पढाउनुहुन्छ । झण्डै दुई दशक देखि मानवअधिकारका क्षेत्रमा काम गर्दै आउनु भएको छ । आज बन्दको क्रममा मोटरसाइकल चलाएको भन्दै १४ वर्षको ठिटोले हप्काउंदा उहां निकै नरम भएर बोल्नुभयो । उहांले आफुले कक्षामा पढाउंदा विद्यार्थीलाई अनुशासनका कुरा सिकाउनुभयो होला । आफुभन्दा ठुलालाई गर्ने आदरका विषयमा पक्कै कुरा गर्नुभयो होला । तर आज उहांले दिएको शिक्षा केही काम लागेन । 
आफ्नो बुवा समान कर्ण सरलाई हप्काउने ति युवकमा आफुभन्दा ठुलो प्रति कुनै सम्मान थिएन । बन्दको कारण समेत थाहा नभएका ति स्कुले विद्यार्थीलाई हामीले कस्तो भविष्य दिइरहेका छौं । रविन्द्र सर त्यहां वाट हिंडे पछि पनि निकै चिन्तित हुनुभयो । कुरा गर्दै हामी गन्तब्यमा पुग्यो । फर्किदा त्यो ठाउंमा ति विद्यार्थी थिएनन् । तर हवल्दारपुरमा आउंदा अर्काे हुलको सामना हामीले गर्नुपर्यो । 
शमशेरगन्जको हवल्दारपुर विद्यालय अगाडीको रुख तल मुस्किलले १५ वर्ष उमेर काटेका ३ जना त्यस बाहेक १० वर्ष नजिकका एक हुल बसेका थिए । आफु बराबरको लौरो लिएर । हामी ब्रेकर नजिकै पुगेपछि रुख तलबाट आवाज आयो । ए रोक रोक ठोक ठोक । हामी अत्तालिदै रोकियौ । 
हेछौं त ठुला मानिस कोही छैनन् । उनीहरुसंग के कुरा गर्ने ? हामी अलमलमा पर्यौ । एउटा फुच्चे बालक ठुलो लठ्ठी लिएर खडा भयो । अर्काेले रुख मुनीबाट उर्दि जारी गर्यो दुइटै मोटरसाइकलको सांचो लिएर आइज । 
हामी केही बेर केही नबोली मोटरसाइकलमा बस्यौ । केही बेर पछि बशन्त सरले भन्नुभयो हामीलाई पनि हिड्न नदिने ? उ बोल्यो । को हो तपाईहरु ? यति भन्दै गर्दा मेरो दिमागमा फुर्यो फोटो त लिनै पर्छ । अनि मोटरसाइकलवाट ओर्लिएर फोटो लिन थाले । ‘परिचय पत्र झिक्लान भनेको त क्यामेरा पो झिक्छन् ? आन्दोलनकारी बाबु बोल्यो । जसोतसो गरेर हामी त्यहांवाट पनि फुत्कियौ । 
सडकभरी अराजकताको दृष्य छिचोल्दै कार्यालय आइपुग्दा समेत अराजकताको सिलसिला रोकिएको छैन । पत्रकारलाई खुला मञ्चमा सार्वजनिक रुपमा बांकी नराख्ने धम्किका अगाडी मैले छिचोलेको अवरोध निकै भुसुना जस्तो लाग्यो । धन्य हामी कस्तो संस्कृति हुर्काइ रहेका छौं । भोलीको हाम्रो देशको भविश्य के होला ? 

२०६९÷०२÷०७

2 comments:

  1. malai yo din thaa chha.bankatuwa pugnai lagdai yahi keta haru le malai lakhaate kaa thiye...ajha lathi pani hirkaayeka thiye..tara mero baani kada lai naram bolne thiyena..tyasaile maile motorcycle huikaaundai garda beskana tesko kaan futne gari fohor gaali gareko thiye tyo fuchhe akka nabaak bhayeko thiyo..

    ReplyDelete
    Replies
    1. http://nepalgunjeyes.blogspot.com
      https://www.facebook.com/pages/Satyam-Photography/248062651921983

      Delete