Friday, February 24, 2012

परालको त्यान्द्रो

ठुलो समुन्द्रको छालमा परेर अन्तिम श्वास लिइरहको उसले त्यही छालमा बग्दै आएको सानो परालको त्यान्द्रोमा आफ्नो जिवन देख्छ । आफ्नो शरीरको तौल र त्यो परालको त्यान्द्रोको क्षमताको आकलन गर्न समेत चाहदैन । किनभने त्यो उसको चाहनाको विपरीत हुन पुग्छ ।
यो जिन्दगी र संसार देखि विरक्तिएर आफै देह त्याग गर्न खोजेको त्यो पल विर्सन्छ । मित्रता र विश्वासको बदलामा यो संसारवाट पाएको घात र तिरस्कार विर्सन्छ । हरेक पाइलामा गडेको कांडाको घाउ निको भएको छैन भन्ने विर्सन्छ । परालको त्यान्द्रो समातेर फेरी फर्कन लागेको यो संसारले उसलाई चिन्दैन, बुझ्दैन अनि यहां उसको कोही छैन भन्ने कुरा समेत विर्सन्छ । उसको आंखा अगाडी परेको त्यो परालको त्यान्द्रोले मरेको उसको मनमा फेरी जीवन भरीदिन्छ । आशा जगाई दिन्छ । उसले छोड्न चाहेको संसारमा चमत्कारीक परिवर्तन भएको महशुष गर्छ । यो संसारलाई उसको आवश्यकता छ र त जिवन बनेर परालको त्यान्द्रो उसको अगाडी देखा पर्यो भन्ने आफु अनुकुल परिस्थितिलाई ब्याख्या गर्छ । उसको प्रतिक्षामा कोही बसेको छ, उसको वियोगमा कोही छटपटिदैछ कल्पना सजाउन थाल्छ । यो स्वार्थी र घातक संसारमा अब कहिल्यै फर्केर आउदिन भनेर गरेको त्यो प्रण बिर्सन्छ । बिस्तारै हात अघि बढाउंछ । परालको त्यान्द्रोको सहारावाट त्यो विशाल समुन्द्रमा डुबिरहेको विशाल शरीरलाई पार लगाउने असफल प्रयास गर्छ । अनि अन्तिम पटक उसका ति कल्पना भताभुङ्ग हुन्छन् । सपना चकनाचुर हुन्छन् । परालको त्यान्द्रो देखेर प्राण भरीएको उसको मन अन्तिम पटक टुक्रिन्छ । विस्तारै विस्तारै त्यो समुन्द्रको गहिराईमा शरिर धसिदै जान्छ विलिन हुदै जान्छ । फेरी कहिल्यै नफर्किने गरी । 

2 comments: