Thursday, June 2, 2011

नाइटो माथि कलेजो देखेपछि चिकित्सक समेत आश्चर्यमा



श्रृजना आचार्य
नेपालगन्ज,३० वैशाख–शरिर भित्र हुनुपर्ने मानिसको अंग बाहिरै बस्यो भने कस्तो देखिएला ? अझ आश्चर्यको कुरा त के भने शरिर भित्र रहेर काम गर्नुपर्ने अंग बाहीर निस्केर पनि काम गरीरहेको भन्ने सुन्दा अचम्म लाग्न सक्छ । नेपालगन्ज स्थित मेडिकल कलेजमा तीन दिन अघि त्यस्तै विरामी आएका छन् ।
दाङ्ग गोल्टाकुरी निवासी १७ वर्षिय खिमबहादुर बुढाथोकी अहिले नेपालगन्ज मेडिकल कलेजका चिकित्सकका लागि अध्ययनको विषय बनेका छन् । जन्मदै नाइटो नजिक मासुको डल्लो निस्के पछि उपचारका लागि विभिन्न अस्पताल पुगका बुढाथोकी निको नभएपछि त्यसै बसेका थिए । कक्षा १० मा अध्ययनरत बुढाथोकी विद्यालयमा खेल्ने क्रममा लोटे पछि मासुको डल्लोमा चोट लागेर दुख्न थालेपछि अस्पताल आएका हुन् ।
हर्निया समेत भएका बुढाथोकी तीन दिन देखि अहिले मेडिकल कलेजमा उपचारार्थ छन् । चिकित्सक अरुण शर्माले नाइटो माथि थुप्रिएको मासुको डल्लो भिडियो एक्सरे(जिएसजि) गरेर हेर्दा त्यहां बांया कलेजो देखेर छक्क परे ।
‘१० वर्षको मेरो पेशाको अनुभवमा यस्तो समस्या देखेको थिइन’ शर्माले भने–‘नत मैले कतै सुनेको छु, यस्तो समस्या देखेर हामीलाई पनि आश्चर्य लागेको छ ।’
शरिर बाहिर नाइटो माथि मासुको डल्लोमा बसेको बांया कलेजोले शरिर भित्र भएको दांया कलेजोले जस्तै राम्रो संग काम गरीरहेको चिकित्सक शर्माले बताए । ‘नर्मल अवस्थामा लिभरले काम गरीरहेको छ’ शर्माले भने–‘उपचार पद्धतीका विषयमा देश वाहिरका सुविधा सम्पन्न अस्पतालका चिकित्सकसंग परामर्श गरीरहेका छौं ।’
शल्यकृयावाट कलेजो शरीर भित्र लैजाने सम्भावनाका विषयमा विदेशी चिकित्सकसंग परामर्श भइरहेको शर्माले बताएका छन् ।
१७ वर्ष देखि हर्निया सहित दुईवटा मासुकोे डल्लो शरिरमा लिएर हिंडेका खिम बहादुर र उनका परिवारलाई कलेजो शरिर बाहिरै बसेको छ भन्ने थाहा थिएन । चिकित्सकले सो कुरा बताए पछि खिमबहादुरका बुवा धरसिंह आत्तिएका छन् ।
नाइटो माथि पलाएको डल्लो निको पार्न धेरै पटक उनका बुवा धरसिंह बुढाथोकीले धेरै अस्पताल डुलाउंदा समेत निको नभएपछि तीन दिन अघि नेपालगन्ज मेडिकल कलेज पुर्याएका थिए ।
अस्पतालका चिकित्सक अरुण शर्माले युएसजि प्रविधिवाट सिटिस्क्यान गर्दा डल्लोमा बांया कलेजो रहेको पत्ता लगाएका हुन् ।
कक्षा १० मा अध्ययनरत बुढाथोकीको जन्मदै नाइटो नजिक डल्लो देखिएको थियो ।‘आमा १५ वर्षकी हुंदा छोरा जन्मिएको हो जन्मदै मासुको डल्लो देखेर नर्शहरु पनि तर्सिएका थिए’ युवकका बुवा धरसिंहले भने–‘यहांका डक्टरले अचम्मको कुरा सुनाएका छन् कसरी उपचार गर्ने ? ’ खिमबहादुरको उमेर बढ्दै जांदा मासुको डल्लो पनि ठुलो हुंदै गएको परिवारका सदस्यले बताएका छन् । अहिले सम्म यस्तो उदाहरण नदेखेका चिकित्सकहरुले उपचारका लागि भारत बैङ्गलोर स्थित अपोलो अस्पतालका चिकित्सकसंग परामर्श गरीरहेको बताएका छन् । कलेजो र मृगौलाको प्रत्यारोपण गर्ने अपोलो अस्पतालका चिकित्सको सल्लाह अनुसार अन्य थप उपचार अघि बढाउने चिकित्सक शर्माले बताए । आर्थिक अवस्था कमजोर रहेका बुढाथोकी परीवारले उपचारमा लाग्ने खर्च जुटाउन समस्या परेको बताएका छन् । ‘डक्टरले यही उपचार गरे भने औषधि गराउंछु धरसिंहले भने–‘वाहिर लैजाने म संग पैसा छैन ।’ उनले चिकित्सकले छिटो निर्णय दिए छिटै घर फर्कने मनस्थितिमा पुगेको बताए ।

No comments:

Post a Comment