Friday, May 27, 2011

विजोग छ अवस्था


संविधान नबनेको बहाना बनाउंदै जेठ १४ आउनु केही दिन देखि लगातार बन्दै बन्द भए । कहिले कसको बन्द, कहीले कस्को बन्द । बन्दै बन्दको राजनीतिमा नेपाली नागरीकले पाउनु सम्मको सास्ती पाए ।
वर्ष भरी भारतका विभिन्न ठाउंमा गएर मजदुरी गरेर घर फर्कन लागेका नेपालीले सबै भन्दा ठुलो हण्डर खाए । घर पुग्ने उमंग लिएर नेपालगन्ज सिमाना पुगेका नेपालीहरु लगातारको बन्दको खबरले निरास भए । बल्ल बल्ल कमाएर ल्याएको दुई चार हजार रुपैया पनि नेपालगन्जका होटलमा खर्चेर घरजाउं कि भारत फर्काै भन्ने अवस्थामा पुगे ।
संविधान नबनाउने राजनीतिक दल, सभासद अनि दुख पाउने हामी यो कस्तो अन्याय ?
मुलुक भर बन्दको राजनीति चलिरहंदा काठमाण्डौमा बसेका राजनीतिक दलहरु भने कुर्चीकै राजनीतिमा ब्यस्त छन् । संविधान सभाको म्याद थप्ने प्रमुख काम, लक्ष्य, गन्तब्य भए पनि सबैले त्यसका लागि सर्त राखेका छन् । जसको फाइदा उठाउंदै बन्दको श्रृंखला पनि बढ्दो छ ।
कहिले त आयोजक बिना नै बन्द गरिए । १२ गते सांझ मलाई एक जना स्थानिय माओवादी नेताले फोन गरे । १० र ११ गतेको विश्व हिन्दु महासंघको बन्द थियो । त्यसको अगाडी थारुवानको बन्द । लगातारको बन्दले आजित परेको बेलामा अब त बन्दको सिलसिला सकियो भनेर श्वास फेर्न नपाउंदै ति नेताले प्रश्न गरे भोली कसको बन्द हो ?
लौ पार्यो वित्यास । भोलीको बन्द त मलाई थाहा छैन मैले भने । कस्तो पत्रकार तपाई बन्द कसको भन्ने पनि थाहा नपाउने । लाग्छ म आफै हुं बन्द आयोजक जसरी ती नेताले ब्यङ्ग गरे ।
लगातारको बन्दले आफ्ना आधारभुत आवश्यकताका सामान किनमेल गर्न नपाएर अप्ठेरोमा परेको बेलामा फेरी बन्दको हल्ला । मैले पनि दुई चार जनालाई फोन घुमाए । भोली कसको बन्द हो ? तर कसैवाट सहि उत्तर आएन । बन्द भन्ने सबैले सुनेका छन् तर कसले गरेको थाहा छैन ।
नभन्दै भोली पल्ट दिनभरी गाडि चलेन । हल्लै हल्लाले बन्द भए पछि यस अघि बन्दको आयोजना गरेकाहरुलाई सोधियो । बन्दको आयोजना तपाईहरुले गरेको हो ? उनीहरुले मिडियालाई बन्द आफुहरुले नगरेको स्पष्ट पारेपछि दिउसोवाट यातायात र बजार सुचारु भयो ।
यस्तो विजोग छ नेपालको अवस्था । गर्ने पर्ने काम चाहि नहुने तर गर्ने नहुने काम चाहि हल्लाका भरमा पुरा हुने कस्तो उल्टा जमाना आएछ । हल्लै हल्लाका कारण सयांै नागरीकले सास्ती पाए । त्यसको जिम्मेवारी कसले लिने ? यहां त एक जनाले नगरको चोकमा उभिएर भोली बन्द है भनेर दुई चार जनाले सुन्नेगरी भने पनि वजार ठप्प हुने अवस्था आयो । यस्तो अराजकता, कानुनको खिल्ली उडेको अवस्था कहिले सम्म हुने ?
तीन सय ६५ दिनमा मध्यपश्चिममा एक सय ३५ दिन त बन्द भए । त्यसमा पनि सबै भन्दा बढी बन्द चैतमा भएको छ । चैतमा मात्र मध्यपश्चिममा २६ दिन सम्म बन्द भयो । यस्तो तालिका हेर्दा लाग्छ अब बन्द कहिले होला भनेर खोज्नु भन्दा पनि बन्द खुल्ने दिन कहिले होला भनेर क्यालेण्डरमा चिनो लगाउनुपर्ने बेला भएको छ । नेपालगन्जवाट काठमाण्डौ जान हिंडेको मान्छे कहिले गन्तब्यमा पुग्छ कुनै ठेगान छैन । फर्कने आस त कमै गरे हुने भो । बन्दको न रुप छ रंग छ । जतिवेला मन लाग्यो त्यति बन्द । जसलाई सनक चढ्यो उसैले बन्द गरेको छ । अझै अनौठौ त कहिले कुनै जिल्ला बन्द, कहिले कुनै सडक खण्ड बन्द, कहिले कुनै नगर बन्द, कहिले क्षेत्र बन्द, कहिले अञ्चल बन्द त कहिले पुरै नेपाल बन्द ।

No comments:

Post a Comment