Monday, November 14, 2011

सफलता तिर रचना


श्रृजना आचार्य 
नयां ब्राण्ड आएको छ । ह्वाइट रम हो । कलर नखानेहरुका लागि । ब्ल्याकमा पनि छ । र्याकको छेवैमा लहरै राखिएका पेय पदार्थ भरीएको बोतल हेर्दै गरेका ग्राहकलाई उनले आफ्नो ब्राण्डको विज्ञापन गरीहालीन् । तर ग्राहक भने उनी तिर हेरेकै छैन । सांझको करिब सात वजेको हुंदो हो । उनको पसलमा पेय पदार्थ लिन आउनेहरुको ‘पिक आवर’ हो । 
‘आज शनिवार दिनभर पसल बन्द थियो । एकै छिन खोलेको हो’  उनीसंग कुराकानी गर्न पुगेकी संवाददातासंग पनि भलाकुसारीलाई निरन्तरता राखेकै छन् । 
उनले नयां ब्राण्ड भनेर विज्ञापन गरेको ‘रम’ ग्राहकको रोजाइमा परेन  । ‘रेड वाइन’ प्याक गर्न लगाएर हिडे । 
‘दिनभरी १० थरी मान्छे आउंछन् । सवैसंग राम्रो ब्यवहार गर्नुपर्छ’ उनले पेशाको बाध्यता छलैङ्ग पारीन । ‘सामान बेच्दा राम्रो छ भन्नुपर्छ । नयां ब्राण्डको बारेमा जानकारी दिंदा टेष्ट गर्नुभएको छ भन्छन् अलि अप्ठेरो हुन्छ’ उनले आफ्नो बाध्यता यसरी खोलिन । 
नेपालगन्जको धम्बोझी चोक नजिक रहेको ‘न्यु सन्देश सेन्टरमा’ तपाई जानुभयो भने ३२ वर्षिया रचना श्रेष्ठ यसरी नै प्रस्तुत हुन्छिन् । बाबु मणिन्द्रलाल श्रेष्ठको पत्रकार वनाउने रहरलाई भन्दा आफ्नो सफल ब्यवासायी बन्ने चाहनालाई प्राथमिकता दिएकी रचनालाई अहिले आफ्नो रोजाई प्रति कुनै पछुतो छैन । 
भन्छिन् ‘आर्थिक पक्षलाई ध्यान दिएर सफल ब्यवसायी बन्ने सपना साकार पार्न तिर लागे’ । उनी आफु एक सफल ब्यवसायी भएकोमा गर्व गर्छिन । ‘मेरो आइडियल भवानी राणा हो । एउटी महिलाले नेपाल उद्योग वाणीज्य महासंघको नेतृत्व हाक्नुभएको छ ।’ अवसर आफै आउंदैन अवसर खोज्न आफै जानुपर्छ भन्ने सोचाई राख्ने रचना नेपालगन्ज उद्योग वाणीज्य संघकी सदस्य हुन् । 
कुनै ब्यवसायीक जमघट होस वा सामाजिक जमघट । रचना नभएको जमघट खल्लो हुन्छ । सुन्दर र फरासिली रचनासंग वातावरण नै सुन्दर बनाउने खुबी छ । खुलेर कुरा गर्न मन पराउने रचना सफल ब्यवसायी हुनुमा उनको यो गुण पनि सहयोगी भएको छ । त्यसमा पनि उनको यो सपना साकार पार्न पति युवराज कार्कीले निकै सहयोग पुर्याएका छन् । समाज सेवालाई पनि उत्तिकै महत्व दिने रचना पति युवराजलाई पसलमा राखेर समाजसेवामा निस्कन्छिन् । 
लायन्स क्लव र जेसिस मार्फत उनले समाजसेवामा आफ्ना हात अगाडी बढाएकी छन् । ‘जेसिसले मलाई धेरै कुरा सिकायो’ भन्छिन्–‘महिलाका लागि अति कठिन मेरो पेशामा सामाजिक कामले सहयोग पर्याएको छ ।’ क्षेत्रिय कृकेट विकास समितिमा आवद्ध भएर खेलकुद क्षेत्रलाई पनि सहयोग पु¥याएकी छन् ।  
सामाजिक जागरणमा निस्कने रचनालाई ब्यवसायीक महिला प्रति हेर्ने समाजको दृष्टिकोण नफेरीएकोमा निकै चिन्तित बनाएको छ । ‘पुरुषलाई जस्तो सजिलो कहां छ र ? हामीलाई हेर्ने आंखा थरीथरीका छन् ।’ 
यसैका कारण हो ब्यवसायीक क्षेत्रमा महिला अघि आउन नसकेको । तर पनि विस्तारै परिवर्तन हुंदैछ । उनी भन्छिन् – ‘२०६३ सालमा म उद्योग वाणीज्य संघको सदस्य हुंदा संघमा जम्मा ९५ जना थिए अहिले ३ सयको हाराहारीमा छौं ।’ तर नेतृत्वमा जान भने धेरै संघर्ष गर्नुपर्ने उनको धारणा छ । 
कोल्ड स्टोरको सम्पुर्ण बागडोर सम्हालेकी रचनाले ग्राहक र डिलरका ब्यवसायीसंग आफै डिलिङ्ग गर्छिन । ‘पार्टीका (ब्यवसायी) मान्छेले त सम्मानजनक ब्यवहार गर्छन’ उनी भन्छिन्–‘ग्राहकको नियत थाहा हुंदैन ।’ 
२०५४ सालमा युवराजसंग विवाह भएपछि ब्यवसायीक क्षेत्रमा लागेकी रचना अहिले छुट्टै उद्योग पनि दर्ता गर्दैछन् । ‘पिउने पानी सम्बन्धि उद्योग दर्ता भइसक्यो’ उनले आफ्नो आगामी योजना सुनाइन्–‘अनमोल ड्रिङकिङ्ग वाटर’ ‘गत वर्ष दर्ता गरे’ उनले भनिन्–‘अब सोडा र पानी सम्बन्धि अर्काे उद्योग दर्ता गर्दैछु ।’ 
महेन्द्र उच्च माविमा कक्षा १० मा पढ्दा पढ्दै युवराज संग माया बसेछ । ‘ममीको पसल थियो । ममिलाई सघाउन पसलमा बस्थे उहां (युवराज) आउनुहुन्थ्यो’ उनले आफ्नो ति पल सम्झदै भनिन्–‘माया बस्यो र विवाह भयो ।’ 
विवाह पछि भने उनले पठाईलाई निरन्तरता दिन सकिनन् । ‘मेरो ब्यवसायका लागि आवश्यक शिक्षा छ’ प्रमाणपत्र तह उतिर्ण गरेकी रचनाले भनिन्–‘विवाह पछि पढाईलाई भन्दा ब्यवसायलाई प्राथमिकता दिए ।’ 
कुराकानीको क्रम टुंगीदै गर्दा उनले आफ्नो पसलको विशेषता बताउन भने चुकिनन् । मेरो पसलमा एउटा घरमा आवश्यक पर्ने खाद्यान्न सम्बन्धि सबै सामान पाइन्छ ’ भन्छिन््–‘गुणस्तरलाई म निकै महत्व दिन्छु ।’ क्यानका आइटम, विदेशी रक्सि, नाम चलेका ब्राण्डका पेय पदार्थ सबै पाइन्छ । आफुले उत्पादन भएको मिती हेरेर डिलर संग सामान राख्ने गरेको बताउने रचनाले आफ्ना ग्राहकलाई पनि सामान किन्दा उत्पादन मिति हेरेरै लैजान सुझाव दिन्छिन् । भन्छिन् –‘उपभोक्ताको स्वास्थ्यलाई संधै ख्याल गर्छु ।’ 

No comments:

Post a Comment