Monday, September 3, 2012

हाम्रा मान्छे कहां छन् ?


श्रृजना आचार्य 
बर्दिया नौलापुर गाविस ४ रानीपुरकी ६० वर्षिया जगतकुमारी बस्नेतले आफ्ना वेपत्ता २ छोराको खोजि गर्न लागेको झण्डै ११ वर्ष भयो । २०५८ सालमा घरमै बसेका उनका लक्का जवान छोराहरुलाई तत्कालीन नेपाली सेनाले माओवादीको आरोपमा नियन्त्रणमा लिएर बेपत्ता बनाएको हो । उनका अर्का एक छोरा समेत यातनावाट अपाङ्ग बनाइएका छन् । 
छोरा केशर वहादुर बस्नेत र गणेश वहादुर बस्नेत मरेका हुन वा जिउंदै छन् भन्दै खोज्दै हिड्दा उनका पैतला खिइएका छन् । छोराको वियोगमा आंशु झार्दा झार्दा उनका आंखा समेत कमजोर भएका छन् । छोराको खोजि गरीदिन अनुनय गर्दै उनी नपुगेको कुनै सरकारी र गैरसरकारी निकाय छैन । तर उनको बिलौना अहिले सम्म कसैले सुनेको छैन । उमेरले डांडा कांडा ढाकिसक्यो तर उनको बुढेसकालमा सहारा दिने छोरा बेपत्ता छन् । बांकी रहेको एउटा छोरा पनि सेनाको यातनाले अपाङ्ग छन् । 
यस्तो अवस्थामा पनि उनको आशाको दियो अझै निभेको छैन । कुनै दिन त ति छोराहरुको अवस्था थाहा पाउन सक्छुकी भनेर उनी निरन्तर लागिरहेकी छन्. । त्यसैले कुनै पनि गैरसरकारी निकायले वेपत्ता र द्धन्द्ध पीडितका पक्षमा आयोजना गर्ने हरेक कार्यक्रममा उनी एउटा आश बोकेर जान्छिन् । कतै उनका छोराको विषयमा जानकारी पो पाइन्छकी भनेर तर फर्किदा उनी निरासा लिएर फर्किन्छिन् । छोरा छोरीको सहारामा बुढेसकाल बिताउनुपर्ने समयमा उनी छोरा जिउंदा छन् की मरेका छन् भन्दै खोज्दै हिडने गरेकी छन् । 
यस्तै आशा बोकेर यो पटकको वेपत्ता विरुद्धको अन्तराष्ट्रिय दिवस मनाउन बर्दियाको गुलरीया पुगेकी यि बुढी आमा एक पटक फेरी ति छोराको तस्बिर हेरेर रोइन् । ब्यानरमा उनका दुई छोराका तस्बिर पनि बेपत्ताका सुचिमा राखिएको थियो । दिउसो ११ वजेको टन्टलापुर घाममा त्यो ब्यानर लिएर र्यालीमा सहभागी भएर गुलरीया बजार घुमिन । ‘बेपत्तालाई सार्वजनिक गर’ भन्दै नारा लगाइन । अनि कार्यक्रम स्थल फिल्म हलमा पुगेर त्यो ब्यानर राखेर अनगिन्ति बेपत्ताको फोटोहरुमा आफ्ना छोराको तस्बिर खोज्न थालिन् । 

छोरा केशर वहादुरको तस्बिर फेला पारेपछि उनी डांको छोडेर रुन थालिन् । भनिन ‘नानी यस्तो किन गर्छन के ? खाटा लागेको घाउ यो तस्बिर हेरेर फेरी आलो भयो, ’ यस्तो फोटो नराखि दिए पनि त हुन्थ्यो नि । ’ 
केशरलाई सेनाले पक्राउ गर्दा उनको विहे गर्ने कुरा चल्दै थियो । ‘घरमा बुहारी भित्र्याउने बेला भएको थियो, तर दैवले वेपत्ता पार्यो’ धोतीको सप्कोले आंशु पुछ्दै भनिन्–‘रुदा रुदा आंखा कमजोर भइसके दर्जन पटक फुल्टेक्रा आंखा देखाउन गइसके तर सन्चो पनि हुंदैन ।’ 
केशरको तस्विर हेरेर विह्वल बनेकी जगतकुमारीले गणेशको तस्बिर हेर्न सकिनन् । ‘अर्काे छोराको फोटो पनि त होलानी नानी देख्न नपरे हुन्थ्यो’ उनले भनिन्–‘यस्ता कार्यक्रम गरेर हामीलाई रुवाएर के फाइदा होला र ? ’
मध्यपश्चिमको वर्दिया जिल्ला जहां माओवादी शसस्त्र द्धन्द्धका क्रममा सबैभन्दा बढी झण्डै २५० बेपत्ता पारीए । मध्यपश्चिम क्षेत्रवाट राष्ट्रिय मानव अधिकार आयोगमा ६ सय ९६ जना वेपत्ताको खोजि गर्न भन्दै निवेदन परेको छ । उनीहरु कसैले पनि आफन्तका विषयमा जानकारी पाउन सकेका छैनन् । 
जगतकुमारी जस्तै आफन्तको खोजि गर्दै भौतारीनेहरुको न्यायको लडाई अझै सकिएको छैन । बर्दियाको गुलरीयामा वेपत्ता दिवस मनाउन पुगेका जगतकुमारी जस्तै थुप्रै वेपत्ताका आफन्तले आफ्ना वेपत्ता भएका पति, छोरा, छोरी को तस्बिर हेरेर आंशु बगाए । 
बर्दियाकी जगतकुमारीको जस्तै अवस्था बांके कोहलपुर ३ की देविसरा बिकको पनि छ । उनले पनि आफ्ना पती धन बहादुर विकको खोजि गर्न लागेको एक दशक बितेको छ । घर भित्र सुतेका उनका श्रीमान धनवहादुरलाई सुरक्षाकर्मीले वेपत्ता पारेका हुन् । कमाएर ल्याउने श्रीमान बेपत्ता भएको पीडा एकातिर छ भने अर्काेतिर बालबच्चा हुर्काउन र पढाउने समस्या । 
माओवादी शसस्त्र द्धन्द्ध सकिएर मुलुक शान्ति प्रकृयाको बाटोमा लागिसक्दा पनि बेपत्ता परिवारको पीडा भने जस्ताको तस्तै छ । आफन्त फर्केर आउने आश बोकेर बसेका छन् यिनिहरु । 
राज्यले उनीहरुको पीडा र समस्या नसुने पछि पीडितहरु आफै भेला हुने आफ्ना दुख सुनाउने र मन हलुका गर्ने गरेका छन् । त्यही मनको गाठो फुकाउन संधैका वर्षहरुमा झै यो वर्ष पनि बेपत्ता परिवारका सदस्यहरुले २९ औ अन्तराष्ट्रिय वेपत्ता दिवस मनाएका छन् । केही अपेक्षा र केही निराशाका बिचमा दिवस मनाउन बर्दियाको गुलरीयामा पुगेका बांके, वर्दिया, दाङ्ग र सुर्खेतका हजारौ बेपत्ता परिवारका सदस्यहरुले आफन्त सम्झेर आंशु बगाएका छन् । बेपत्ता भएका आफन्तको तस्बिर हेरेर रोए,तस्बिर बोकेर जुलुसमा सहभागी भए । खाटा बसेको घाउ आलो बनाउदै आफन्तवाट वियोग हुंदाको दर्दनाक घटनाको फेहरीस्त सुनाए । वेपत्ताका आफन्तले आफ्ना लागि केही गर्न नसकेको भन्दै सरकार र माओवादी पार्टीको चर्काे आलोचना गरे । 
आफन्त बेखबर हुंदाको बेदना र पीडा मनमा राखेर राज्यलाई नम्र तरिकाले न्याय मागेका वेपत्ताका परिवारहरुले अब भने आन्दोलन गर्ने उद्घोष गरेका छन् । आफन्तको अवस्था जान्न पाउने नैसर्गिक अधिकार प्रति राज्यले वेवास्ता गरेकाले बाध्य भएर आन्दोलनको बाटो समात्नु परेको उनीहरुको भनाई छ । 
बर्दियाको गुलरीयामा वेपत्ता दिवस मनाउन भेला भएका मध्यपश्चिमका वेपत्ता परीवारका सदस्यहरुले आफ्ना माग सम्बोधनका लागि दवाव दिन आन्दोलन गर्ने उद्घोष गरेका छन् । राजनीतिका आधारमा पीडितलाई विभाजित गरेर राजनीतिक दलका नेताहरु सत्ता लिप्सामा लागेकाले आन्दोलनको विकल्प नभएको उनीहरुको भनाई छ । बेपत्ता आफन्तको बारेमा सत्य तथ्य पत्ता नलाग्दा सम्म सम्पुर्ण वेपत्ता परिवारले संयुक्त रुपमा शान्तिपुर्ण तर शसक्त आन्दोलन गर्ने उद्घोष गर्दै यो वर्षको अन्तराष्ट्रिय वेपत्ता दिवस मनाएका छन् । 


Monday, July 16, 2012

निर्दयी नियति



श्रृजना आचार्य
भजन दाईलाई कहिले देखि चिन्थे त्यसको ठ्याक्कै मिति त मलाई याद छैन । तर म पत्रकारीता क्षेत्रमा प्रवेश गरेको एक दशक बढि अवधि भएको छ उहां संगको परिचय पनि त्यति वेला देखि नै हो । हाम्रो काम गर्ने कार्यालय फरक फरक भए पनि कामको प्रकृति उस्तै भएकाले प्राय कर्मथलोमा भजन दाई र म भेट भइरहन्थ्यौ । परिवारको जेठो सन्तान म आफै भएकाले मेरो आफ्ै दाई कोही पनि छैन त्यसैले मलाई सित्तीमित्ती कसैलाई पनि दाई भन्न आउंदैन । तर भजनदाईको म प्रतिको लगाव, झुकाव अविभावकपनले गर्दा उहांलाई दाई सम्बोधन गर्न मन लाग्यो । म जे नाताले सम्बोधन गरिन्छ त्यो नाता ब्यवहारमा पनि निभाउनुपर्छ भन्ने मान्यता राख्छु त्यसैले पनि मैले भजनदाईलाई आफ्नो अभिभावकको रुपमा नै स्विकार गरे । 
माओवादी शसस्त्रद्धन्द्ध र लोकतान्त्रीक आन्दोलनताका को मेरो पत्रकारीता र भजनदाईको मानवअधिकारकर्मीको नाताले गर्नुपर्ने भुमिका झण्डै झण्डै उस्तै भएकाले प्राय औपचारीक कार्यक्रम, आन्दोलन, सभा, सम्मेलन, जुलुसमा हामी संगै हुन्थ्यौ । दाईको एउटा अनौठो बानी थियो । आन्दोलन, जुलुस वा औपाचारीक कार्यक्रममा मैले वा म जस्तै अन्य पत्रकारले तस्विर खिच्दै गरेको, रिपोटिङ्ग गरेको , विभिन्न पोजिसनको तस्विर थाहा नपाउने गरी खिचिदिने र इमेलमा पठाइदिने । मलाई लाग्छ उहांले प्रयोग गर्ने कम्प्युटरमा तस्विरहरुको भण्डार नै छ ।
म उमेरले सानो र वहिनी भए पनि जहिले पनि दाई आफै पहिले अभिवादन गर्नुहुन्थ्यो । मलाई अप्ठेरो लाग्थ्यो । उहांको त्यो विशेषता नै हो । नम्र भएर बोल्ने, सानो होस वा ठुलो अरुको सम्मान गर्ने र कसैको चित्त नदुखाउने । अनि मनमा जति सुकै पीडा गांठो पारे पनि मुहारमा संधै मनमोहक मुस्कान । 
भजनदाईलाई महिलाले संघर्ष गरेको, समाजको अगुवाई गरेको असाध्यै मन पथ्र्याे । मलाई भन्ने गर्नुहुन्थ्यो । ‘वहिनी साह्रै राम्रो गर्नुभएको छ समस्या देखि नडराउनुहोला’ । उहांलाई आफ्ना सन्तानलाई पनि संघर्षशिल बनाउने ठुलो इच्छा थियो । दाईले कहिले काही ब्यक्त गर्नुभएको अनौपचारीक कुराकानीमा ती कुरा झल्कन्थ्यो । उहां आफ्ना सन्तानको भविष्यका लागि आधार तयार पार्न चाहनुहुन्थ्यो । 
झण्डै एक वर्ष अघि एक दिन म क्याम्पसमा क्लास लिएर आएपछि उहांको कार्यालय इन्सेकमा पसे । त्यतिबेला दाई अफिस आइसक्नुभएको रहेछ । अनि दाइसंग कुराकानी हुंदै गर्दा उहांले भन्नुभयो ‘अब आफ्ना लागि पनि केही गर्नुपर्छ बहिनी अहिले नै समय छ पछि सकिदैन केही गरौं’ । मैले पनि तत्काल भने ‘दाई ल न त प्लान बनाउनु म पनि केही गर्नुपर्छ भन्ने सोच्दै छु’ । हामीले गरेको सामाजिक काम छैदैछ त्यस वाहेक आर्थिक रुपमा पनि जग बलियो बनाउन सकिने थप काम गर्नुपर्छ भन्ने सोचाई मलाई पनि थियो । त्यसैले ल संगै केही गरौ भन्ने सहमतिमा पुगेर म त्यहांवाट हिंडे । 
सायद एक महिना बितेको हुंदो हो दाइले मलाई एक दिन कार्यालयमा बोलाउनुभयो । म क्याम्पस बिदा भएपछि उहांको कार्यालयमा पसे । दाईले मैले भनेको त्यो कुरा सायद मनमा लिनुभएछ । उहांले आफुले गरेको विजनेस प्लानको बेलीविस्तार लगाउनुभयो । 
मलाई र मेरो परिवारका सदस्यलाई कृषि सम्बन्धि काम गरेको कुनै अनुभव थिएन । तर पनि दाईले ल्याउनुभएको प्लानमा मैले कुनै शंका गरिन । दाईले प्लानका विषयमा धेरै कुरा गर्नुभयो । मैला आधा बुझे आधा बुझिन । तर पनि मैले भने ‘दाई मलाई यो विषयमा केही थाहा छैन सबै चाजोपाजो तपाई मिलाउनुस मैले के गर्नुपर्छ भन्नुस् ।’ 
दाईको प्लानमा हामीले गएको मंसिर देखि बांकेको कचनापुर गाविस हरिहरपुरमा सुरु गर्र्याै ‘एलोभेरा प्लान्टेशन’को काम । त्यो गाउंलाई नै अर्गानिक गाउं बनाएर कृषिका क्षेत्रमा पनि उल्लेखनिय काम गर्ने हाम्रो योजना थियो । त्यहि योजना अनुसार कचनापुरमा संयुक्त लगानीमा हामीले घ्यु कुमारीको १५ हजार बिरुवा लगायौं । जति जति एलोभेरा(घ्यु कुमारी) हरियो हुंदै जान्छ हामी दाजु वहिनीको सम्बन्ध पनि त्यति प्रगाढ हुंदै थियो । हामी नयां नयां योजना बनाउंदै थियो । त्यो पुरा गाउंलाई किट नासक विषादी रहित गाउं बनाउने । अर्गानिक खेतीका विषयमा गाउंले किसानलाई प्रशिक्षित बनाएर ब्यवसायीक रुपमा भन्दा पनि गाउंलाई फाइदा हुने किसानलाई नयां प्रयोग गराउने, उन्नत गाई पालन गर्ने जस्ता योजना बनाएका थियांै । तर अचानक दाईले बिचैमा छोडेर जानुभयो । 
दाईको पार्थिव शरिर मेरै अगाडी अन्तिम संस्कारका लागि लगेको आंखाले देख्दा पनि मैले अहिले पनि भजन दाई यो संसारमा हुनुहुन्न भन्ने विश्वास गर्न सकिरहेको छैन । कतै औपचारीक कार्यक्रममा जांदा पनि कतै भजन दाई देखिनुहुन्छ की भनेर यि आंखाले खोजिरहन्छन् । 
दाईको घर जांदा भाउजुले त्यो अन्तिम दिन दाईको पार्थिव शरिरमा आफुले हातमा लगाएको चुरा चढाएको, सिन्दुर पखालेको याद आइरहन्छ । भाउजुको मलिनो अनुहार देखेर मलाई मन ढक्क फुलेर आउंछ । दाई अफिस जांदा वाहेक अन्यत्र जहां जांदा पनि भाउजुलाई संगै लिएर हिड्नुहुन्थ्यो । उहांको अभावमा भाउजुलाई परेको चोटको कल्पना गरेर मन कहालिएर आउंछ अनि भन्न मन लाग्छ नियति कति निर्दय होला ? 

Sunday, May 20, 2012

के सिकाउंदैछौ यिनलाई ?


श्रृजना आचार्य 
दिनभरी बन्दको अवरोध छिचोल्दै झण्डै ३० किलोमिटरको यात्रा पार गरेर चार वजे कार्यालयमा पुगेपछि पहिलो काम संधै झै जिमेल अनि फेसबुक पेज एकै पटक अन गरे । 
जिमेलमा आएको अफिसको एड्भाइजरी हेरीसकेपछि फेसबुक तिर नियाले । सबै साथीहरुले प्राय एउटै स्टाटस लेखेका छन् । जनजाति महासंघको बन्दका क्रममा पत्रकार माथि भएको आक्रमण र महासंघका महासचिव आङ्गकाजि शेर्पाले पत्रकारलाई बांकी राख्नेछैनौ भनेर दिएको धम्कि धेरैका स्टाटसका विषय बनेका थिए ।
हुन पनि बन्द, हड्ताल निकै अराजक बन्दै गएका छन् । आफ्नो माग राख्ने नैसर्गिक अधिकार सबैलाई हुन्छ तर त्यसो गर्दा अर्काको पनि अधिकार सुरक्षित हुनुपर्छ भन्नेकुरा हामी विर्षदै गएका छौं । 
विहान झण्डै ६ वजे बांकेको वनकटवाका लागि निस्कदा मनमा अनेक त्रास बोकेर निस्किए । कति ठाउंमा बन्द आह्वानकर्ता बसेका होलान ? कस्तो ब्यवहार गर्नेहुन ? यस्तै यस्तै प्रश्न मनमा उब्जियो । तर पनि जानु त थियो नै । 
नेपालगन्ज देखि कोहलपुर पुग्दा सम्म बाटोमा कुनै बन्दकर्ता देखिएनन् । बाटो अवरोध पनि थिएन । तर कोहलपुर देखि पश्चिम लागे पछि मदनचोक नजिक सडकमा ढुंगा थुपारेको देखियो । त्यो देखेर रविन्द्र कर्णले मोटरसाइकलको गति केही कम गर्नुभयो । सडक छेकेर ढुंगा राखिएको छ तर बाटोमा कोही मानिस छैन । नजिकै पुगेका थियो । सडक किनाराको एउटा घर अगाडी बाट एउटा आवाज सुनियो,  ए रोक रोक । मोटरसाइकल रोकियो । एउटा झण्डै १५ वर्षको अल्लारे युवक हिन्दि फिल्मको हिरो सलमान खानको स्टाइलमा अगाडी आयो । 
रङ्ग हालेर रातो बनाएको लामो कपाल मिलाउंदै, टाउको हल्का कोल्टे पारेर गजक्क पर्दै बोल्यो कहांवाट आएको ? रविन्द्र सर विस्तारै बोल्नुभयो नेपालगन्ज देखि । अनि फेरी उ कड्कियो, कहां जाने ? रविन्द्र सरले फेरी विस्तारै भन्नुभयो बनकटवा जाने । हामी चढेको मोटरसाइकलमा अगाडी पछाडी दुवै तर्फ मानवअधिकारकर्मी, अनुगमनकर्ता भनेर लेखेको थियो । सलमानखान स्टाइलमा त्यो युवकले पढ्यो अ नु ग म न क र्ता । त्यति पढी सकेर उसले सोध्यो कार्ड पनि होलानी ? रविन्द्र सर र बशन्त गौतम सरले पनि आफ्नो कार्यालयको कार्ड देखाउनुभयो । मैले घांटिमा पत्रकार परिचय पत्र झुण्ड्याएकी थिए । सलमान खान संग रविन्द्र सरको कुरा भइरहेकै थियो । यतिकैमा सडक छेउको घर नजिकै बाट सडक तर्फ आउंदै अर्काे कड्कियो ए ठोक ठोक । स्कुले पोषाकमा देखिएको सो युवकले हातमा यामानको लठ्ठी बोकेको थियो । 

ठोक ठोक भनेर मोटरसाइकल नजिक आएपछि बशन्त सरले किन ठोक्ने बाबु भनेर सोध्नुभयो । उसले निकै शान संग भन्यो बन्दमा मोटरसाइकल चलाउनेलाई ठोक्ने । त्यहि बेला मैले किलिक्क फोटो लिए । अनि उनीहरु केही हच्किए । बाटो छोडीदिए । अनि लाग्यौ हामी गन्तब्य तिर । रविन्द्र कर्ण जो २०४२ साल देखि महेन्द्र बहुमुखी क्याम्पसमा पढाउनुहुन्छ । झण्डै दुई दशक देखि मानवअधिकारका क्षेत्रमा काम गर्दै आउनु भएको छ । आज बन्दको क्रममा मोटरसाइकल चलाएको भन्दै १४ वर्षको ठिटोले हप्काउंदा उहां निकै नरम भएर बोल्नुभयो । उहांले आफुले कक्षामा पढाउंदा विद्यार्थीलाई अनुशासनका कुरा सिकाउनुभयो होला । आफुभन्दा ठुलालाई गर्ने आदरका विषयमा पक्कै कुरा गर्नुभयो होला । तर आज उहांले दिएको शिक्षा केही काम लागेन । 
आफ्नो बुवा समान कर्ण सरलाई हप्काउने ति युवकमा आफुभन्दा ठुलो प्रति कुनै सम्मान थिएन । बन्दको कारण समेत थाहा नभएका ति स्कुले विद्यार्थीलाई हामीले कस्तो भविष्य दिइरहेका छौं । रविन्द्र सर त्यहां वाट हिंडे पछि पनि निकै चिन्तित हुनुभयो । कुरा गर्दै हामी गन्तब्यमा पुग्यो । फर्किदा त्यो ठाउंमा ति विद्यार्थी थिएनन् । तर हवल्दारपुरमा आउंदा अर्काे हुलको सामना हामीले गर्नुपर्यो । 
शमशेरगन्जको हवल्दारपुर विद्यालय अगाडीको रुख तल मुस्किलले १५ वर्ष उमेर काटेका ३ जना त्यस बाहेक १० वर्ष नजिकका एक हुल बसेका थिए । आफु बराबरको लौरो लिएर । हामी ब्रेकर नजिकै पुगेपछि रुख तलबाट आवाज आयो । ए रोक रोक ठोक ठोक । हामी अत्तालिदै रोकियौ । 
हेछौं त ठुला मानिस कोही छैनन् । उनीहरुसंग के कुरा गर्ने ? हामी अलमलमा पर्यौ । एउटा फुच्चे बालक ठुलो लठ्ठी लिएर खडा भयो । अर्काेले रुख मुनीबाट उर्दि जारी गर्यो दुइटै मोटरसाइकलको सांचो लिएर आइज । 
हामी केही बेर केही नबोली मोटरसाइकलमा बस्यौ । केही बेर पछि बशन्त सरले भन्नुभयो हामीलाई पनि हिड्न नदिने ? उ बोल्यो । को हो तपाईहरु ? यति भन्दै गर्दा मेरो दिमागमा फुर्यो फोटो त लिनै पर्छ । अनि मोटरसाइकलवाट ओर्लिएर फोटो लिन थाले । ‘परिचय पत्र झिक्लान भनेको त क्यामेरा पो झिक्छन् ? आन्दोलनकारी बाबु बोल्यो । जसोतसो गरेर हामी त्यहांवाट पनि फुत्कियौ । 
सडकभरी अराजकताको दृष्य छिचोल्दै कार्यालय आइपुग्दा समेत अराजकताको सिलसिला रोकिएको छैन । पत्रकारलाई खुला मञ्चमा सार्वजनिक रुपमा बांकी नराख्ने धम्किका अगाडी मैले छिचोलेको अवरोध निकै भुसुना जस्तो लाग्यो । धन्य हामी कस्तो संस्कृति हुर्काइ रहेका छौं । भोलीको हाम्रो देशको भविश्य के होला ? 

२०६९÷०२÷०७

Monday, May 14, 2012

पीडा नाताको

श्रृजना आचार्य
बांके कोहलपुर ३ कि चन्द्रकला अधिकारीले दिनहुं अखबारका पाना र टेलिभिजनका पर्दामा आफ्नी भाउनु पुर्णाकुमारी सुवेदीले सम्माान र सुविधा भोग गरेको देख्छिन् । देश र नागरीकका लागि ठुलो चिन्ता ब्यक्त गरेका अभिब्यक्ति हेर्छिन । देश र जनताका मुक्तिका लागि १० वर्ष शसस्त्र आन्दोलन गरेका उनका दाजु प्रकाश सुवेदी ‘चन्द्रकान्ता’ अहिले पार्टीको जिम्मेवार तहमा छन् । भाउजु संविधान निर्माणको जिम्मेवार पद उपसभामुख भएकी छन् । तर चन्द्रकलाको दैनिकी भने विहान र सांझको छाक जुटाउने र कुटो कोदालो गर्नमै बितेको छ ।
न उनलाई राजनीतिक परिवर्तनले छोयो न शान्तिको श्वास फेर्न पाएकी छन् । जव उनका दाजु भाउजु जनताका मुक्तिका लागि युद्धका होमिएका थिए । त्यतिबेला चन्द्रकलाका दिन पनि निकै सास्ती पुर्ण भए । दिनहुं आफु बांचेकोमा धन्य सम्झनु पर्ने अवस्था थियो । निर्दाेश चन्द्रकलाले आफन्त माओवादी भएकी कारण ठुलो सास्ती भोगिन । बुुढेसकालका सहारा एउटा छोरालाई नेपाली सेनाले बेपत्ता बनायो भने एउटा छोरा अत्याधिक यातनाका कारण मानसिक रुपमा रोगि बनेका छन् ।
भाउजु पुर्णा कुमारी र दाजु प्रकाश सुवेदी माओवादी भएकै कारण नेपाली सेनाको यातनाले उनका प्रत्येक दिन मृत्यु समान बनेका थिए ।
दाजु भाउजु एउटा लक्ष्य लिएर बलिदानीमा होमिएका थिए भने तर त्यसमा उनको केही भुमिका थिएन । न कुनै राजनीतिक लक्ष्य थियो न जिवनमा कुनै ठुलो आशा । परीवारसंग बसेर जिवनका अन्तिम दिन विताउने उनको स्यानो आशामा मुलुकमा चलेको हिंसात्मक द्धन्द्धले तुसारापात पारीदियो ।
दाजु भाउजु त राजनीतिक लक्ष्य अुनसार राजनीतिमा होमिएका थिए । राजनीतिक परिवर्तन पछि बलिदानी अनुसारको अनुसारको फल पाए । तर चन्द्रकलाका दिन जस्ताको तस्तै छन् । आफन्त माओवादी भएका कारण पाएको सास्ती, यातना र त्यागको हिसाव किताव पनि गर्न पाएकी छैनन् । ति दिन सम्झिदा मुटु भक्कानिएर आउंछ । मन अमिलो हुन्छ ।
दाजु प्रकाशको नजिकै घर बनाएर बसेकी चन्द्रकला माओवादी कार्यकर्ताको वहिनी भएकै कारण आफ्नो एक छोरा गुमाइन एक छोरा अपाङ्ग जस्तै बनाइएका छन् । दाजु प्रकाशलाई खोज्दै आएका सेनाले उनका छोरा देवि प्रसाद अधिकारीलाई २०५९ सालमा बेपत्ता बनायो भने अर्का छोरा शालिकरामलाई चरम कुटपीट गर्यो ।
त्यतिबेला नेपाली कांग्रेसको राजनीति गर्ने शालिकराम पनि माओवादी कार्यकर्ताको भान्जा भएकै कारण यातनाको शिकार हुनुपर्यो । ‘मलाई माओवादी के हो भन्ने पनि थाहा थिएन’ शालिकरामले भने–‘अहिले पनि माक्र्सको सिद्धान्त मलाई थाहा छैन ।’ सेनाले अति यातना दिएका कारण सेना प्रति वितिष्णा जागेर अहिले माओवादीको भोटर भएको उनले बताए ।
बुढेसकालमा सहाराको लौरो भांचिदा पनि चन्द्रकलालाई दाजु भाउजु प्रति कुनै गुनासो छैन । ‘दाजु भाउजु मेरा लागि युद्धमा होमिनु भएको होइन । सबै नागरीक र मुलुकका लागि हो मलाई सहयोग गर भनेर मैले भन्न पनि मिल्दैन भनेकी पनि छैन’ चन्द्रकलाले भनिन् । 
‘सबै कुरा थाहा छ सबै देखेका छन् मैले के भनुं र ? उनको दुखेसो थियो यो । ‘दिनदिनै तेरो दाई खोइ भन्दै सेना आउथ्यो । मलाई र वुहारीलाई लछार पछार पार्थ्यो । शालिकरामलाई कुट्न सम्म कुटेर विरामी बनायो’ गहभरी आंशु पारेर अतित सम्झदै चन्द्रकलाले भनिन् । ‘आज समय फेरीएको छ भन्छन् तर मेरा दिन उस्तै छन् । छोरो फर्केर आएन । ’ छोरा देविप्रसादको अवस्था पत्ता लगाउने माग सहित गरीएका हरेक आन्दोलनमा यि बुढी आमा पनि सहभागी भएकी छन् ।
साना बालबालिका र मानसिक रोगी छोराको रेखदेख र पालन पोषण गर्दै आएकी चन्द्रकलाका दुःखका आंशु आफ्नै दाजु भाउजुले पुछ्न सकेका छैनन् । देश र जनताको सेवाका लागि निस्केका दाजु भाउजुलाई उनले आफ्ना वारेमा सोच्न कहिल्यै भनिनन् । सबै कुरा थाहा पाएकालाई दुख सुनाउनु पनि उनलाई उचित लागेन ।
देश र जनताको आंशु पुछ्न बलिदानी दिएका दाजु भाउजुलाई चन्द्रकलाको आंशु पुछ्ने समय छैन । देश र जनताको मुक्तिकै अभियान अझै सकिएको छैन । ‘देशमा संविधान बनाउनु छ, जनताको चाहना ठुलो छ त्यो पुरा गर्नु छ । मेरो कुरा सुन्ने फुर्सद छैन उहांहरुलाई’ चन्द्रकलाले भनिन् । दाई प्रकाश र भाउनु पुर्णाकुमारीलाई खोज्दै चन्द्रकलाका घरमा नेपाली सेनाले शंकटकालको अवधिभर १ सय ६७ पटक छापा मार्यो । ‘जतिपटक सेना घरमा आउथे उती पटक भित्तामा धर्काे तान्ने गर्थे ’ उनले भनिन्–‘शंकटकाल सकिए पछि गन्दा १ सय ६७ पुगेछ ।’ छोराहरुलाई कुटपीट गर्यो बुहारी र बृद्ध चन्द्रकलालाई समेत अभद्र ब्यवहार गर्यो । हराएका पतिको खोजि गरिदिए र पीडकलाई सजाय दिएको देख्न पाए सबै दुख बिर्सेर जिन्दगी बिताउने आशा देवि प्रसादकी श्रीमति दिलाले लिएकी छन् ।

Friday, February 24, 2012

परालको त्यान्द्रो

ठुलो समुन्द्रको छालमा परेर अन्तिम श्वास लिइरहको उसले त्यही छालमा बग्दै आएको सानो परालको त्यान्द्रोमा आफ्नो जिवन देख्छ । आफ्नो शरीरको तौल र त्यो परालको त्यान्द्रोको क्षमताको आकलन गर्न समेत चाहदैन । किनभने त्यो उसको चाहनाको विपरीत हुन पुग्छ ।
यो जिन्दगी र संसार देखि विरक्तिएर आफै देह त्याग गर्न खोजेको त्यो पल विर्सन्छ । मित्रता र विश्वासको बदलामा यो संसारवाट पाएको घात र तिरस्कार विर्सन्छ । हरेक पाइलामा गडेको कांडाको घाउ निको भएको छैन भन्ने विर्सन्छ । परालको त्यान्द्रो समातेर फेरी फर्कन लागेको यो संसारले उसलाई चिन्दैन, बुझ्दैन अनि यहां उसको कोही छैन भन्ने कुरा समेत विर्सन्छ । उसको आंखा अगाडी परेको त्यो परालको त्यान्द्रोले मरेको उसको मनमा फेरी जीवन भरीदिन्छ । आशा जगाई दिन्छ । उसले छोड्न चाहेको संसारमा चमत्कारीक परिवर्तन भएको महशुष गर्छ । यो संसारलाई उसको आवश्यकता छ र त जिवन बनेर परालको त्यान्द्रो उसको अगाडी देखा पर्यो भन्ने आफु अनुकुल परिस्थितिलाई ब्याख्या गर्छ । उसको प्रतिक्षामा कोही बसेको छ, उसको वियोगमा कोही छटपटिदैछ कल्पना सजाउन थाल्छ । यो स्वार्थी र घातक संसारमा अब कहिल्यै फर्केर आउदिन भनेर गरेको त्यो प्रण बिर्सन्छ । बिस्तारै हात अघि बढाउंछ । परालको त्यान्द्रोको सहारावाट त्यो विशाल समुन्द्रमा डुबिरहेको विशाल शरीरलाई पार लगाउने असफल प्रयास गर्छ । अनि अन्तिम पटक उसका ति कल्पना भताभुङ्ग हुन्छन् । सपना चकनाचुर हुन्छन् । परालको त्यान्द्रो देखेर प्राण भरीएको उसको मन अन्तिम पटक टुक्रिन्छ । विस्तारै विस्तारै त्यो समुन्द्रको गहिराईमा शरिर धसिदै जान्छ विलिन हुदै जान्छ । फेरी कहिल्यै नफर्किने गरी । 

Monday, February 13, 2012

बिचरा भेरी अञ्चल अस्पतालका कर्मचारी




श्रृजना आचार्य 
नेपालगन्ज स्थित भेरी अञ्चल अस्पतालमा आजकल धेरै कर्मचारीले बिदा लिएका छन् । म्यानेजमेन्ट सेक्टरमा काम गर्नेलाई निकै ठुलो समस्या आइलागेको छ । अस्पतालका सुपरीटेण्डेण्टको कोठामा काम लिएर जानुपर्यो भने कर्मचारीका लागि ठुलो टाउको दुखाई 
हुन्छ । सुपरिटेण्टेण्डको कोठामा जानु पुर्व नै के वहाना बनाएर निस्कने हो भनेर उपाय पहिले नै ठिक्क पारेर जानुपर्छ । नत्र फसीने डर हुन्छ । ‘दुई साता भयो धेरै कर्मचारीले वहाना बनाएर बिदा लिएका छन् ’ एक जना चिकित्सकले भने । 
म कार्यरत कान्तिपुर टिभीका लागि अस्पतालको अवस्थाका बिषयमा रिपोर्ट बनाउनुपर्ने थियो । त्यसैले एक साता अघि म अस्पताल पुगे । मध्य र सुदुरपश्चिमका विरामीलाई निको पार्न स्थापना गरीएको रेफर अस्पताल आफै बिरामी जस्तो छ । जता सुकै फोहर , अब्यवस्थित, विषयगत चिकित्सक छैनन्, दाताले दिएका प्रविधि पनि प्राविधिक नभएर संचालनमा छैनन् । 
त्यही विषयलाई रिपोर्ट बनाउने बिचार गरे । त्यहां पुगेर सुरुमा अस्पताल विकास समितिका अध्यक्षलाई भेटेर मलाई चाहिने सुचना लिए । सोही अनुसार भिजुअल पनि संकलन गरे । अब अस्पतालका सुपरीटेण्डेण्टलाई भेटेर उनको ‘वाइट’ लिनुपर्ने थियो । मलाई सुरुमै त्यहां कार्यरत कर्मचारीले देखाएको असजिलो पन देखेर अप्ठेरो लागिरहेको थियो । त्यसैले पुर्व सुपरीटेण्डेण्ट डा.श्याम सुन्दर यादवलाई भेट्ने योजना बनाए । तर उहां भेट हुनुभएन । अब पर्यो फसाद अस्पताल प्रमुखलाई नभेटी मेरो सामग्री पुरा नहुने । 
जे त पर्ला लागियो अस्पताल प्रमुख डा. नरेन्द्र रायको कोठामा । म लगायत हामी चार जना थियौ । सुरुमा कोठामा पसेर नमस्ते टक्रयायौ । हामी कोठा भित्र पसेको देखेर अस्पतालका केही कर्मचारी अस्पताल प्रमुखको कोठा अगाडी बाहिर राखिएको बेञ्चमा आएर बसे । डक्टर राय संगको हाम्रो भलाकुसारी बडो रुचिका साथ वाहिरवाट हेरीरहेका थिए । हाम्रो समाचारका लागि आवश्यक पर्ने प्रश्न मात्र राखेर बाहिर निस्कने योजना बनाएर हामी अस्पताल प्रमुखको कोठामा प्रवेश गरेका थियौ । तर हाम्रो योजना सबै बिफल भए । 
रिपोर्टिङ्गको क्रममा विषय अनुसार हामीले धेरै मानिस संग भेटघाट र कुराकानी गर्नुपर्छ । पत्रकारीता पेशा नै यस्तो हो त्यो क्रममा अनौठो अनौठो बानी ब्यहोरा भएका मानिसहरु संग जम्का भेट गर्ने मौका मिल्छ । यस्तो मौका कहिले मेरो लागि राम्रो अवसर हुनेगरेको छ भने कहिले ब्यवस्थापन गर्न निकै अप्ठेरो समेत पर्ने गरेको छ । आजको भेटको ब्यवस्थापनका लागि मलाई निकै कठिन भयो । 
मानसिक बिरामीका लागि डा. राय निकै सफल चिकित्सक हुन् यसमा कुनै दुई मत छैन । रायको कुशलता नेपालमै कहलिएका चिकित्सक मध्ये पर्छ । एउटा बिरामीको हैसीयतले उनिं संगको भेट सहज हुन्थ्यो होला तर अस्पताल प्रमुखसंग एउटा संचारकर्मीले हैसीयतले भेट्दा मैले लिन चाहेको सुचना लिन मलाई निकै कठिन भयो । 
न उनी मेरो प्रश्न राम्रो संग सुन्छन् नत उनंले बोलेको कुरा मैले ने बुझ्छु । कस्तो आपत पर्यो भने विषय केन्द्रित कुराकानी नै हुन सकेन । समाचारलाई चाहिएको विषय बस्तुमा कुराकानी गर्न गएका हामी बिचरा उनंको कुरा पो सुनेर बस्नु पर्ने अवस्था आयो । 
१० मिनटमा निस्कने भनेर गएका हामी आधा घण्टा बित्यो हाम्रो विषय बस्तुमा कुरा नै गर्न सकेनौ । त्यो क्रममा उनले आफ्नो ससुरालिको नाताका कारण अहिले सम्मका अस्पताल प्रमुखले गर्न नसेको ठुलो योजना भित्र्याएको खबर सुनाए । सामान्य औषधि उपचारको ब्यवस्था समेत नभएर सर्वसाधारणले मुद्धा हाल्नुपर्ने अवस्थामा पुगेको अस्पतालाई मेडिकल कलेज बनाउने योजना रहेको उनले सुनाए । 
आधाघण्टा सम्म यस्तै भलाकुसारी भइरहे । म आफ्नो समाचारको विषय केन्द्रित प्रश्न राख्दै जान्थे तर त्यो प्रश्नको जवाफ दिनुको साटो उनी आफ्नै कुरा अगाडी सार्थे । उनी भन्दै थिए ‘म अस्पताल प्रमुख भएर आएदेखि ब्यवस्थापनमा निकै कडा गरेको छु, विरामीको गुनासो त सुन्नै सक्दिन’ त्यति भन्दै गर्दा एकजना बिरामी गुनासो लिएर आइपुगे । ‘कि यहां निको हुंदैन भन्नु पथ्र्याे एक हप्ता उपचार गराइसके अझै डाक्टरले केही भन्दैनन् बिरामीका आफन्तको गुनासो थियो । ’ 
यति सुनीसके पछि उनी छेवैको सोफामा बसेकी एक जना महिला कर्मचारीसंग निकै कड्कीए । ‘तत्काल जानुस के भएको हो हेर्नुस ।’ 
उनी विरामीको आफन्त र महिला कर्मचारीसंग ब्यस्त हुन थालेपछि बाहिर निस्कने उपयुक्त समय यहि हो भन्ने सम्झेर म झोला बोकेर ढोकै निर पुगेको थिए । उनले देखेर बोलाए । मलाई तपाईको फोन नम्बर, इमेल आइडि सबै दिनुस् । तपाई संग कुरा गर्नुछ एक छिन बस्नु भन्दै थिए  म भने मैले मेरो नाम र अफिसको फोन नम्बर सबै लेखिदिएको छु भन्दै उनको कुरा सुनेको नसुन्यै गरेर बाहिर निस्कीए । म बाहिर निस्कदा सम्म पनि उनी के के भन्दै थिए । म हुन्छ सर भन्दै वाहिर वाहिरीए । मलाई त्यसरी निस्कीएको देखेका उनका कर्मचारी किन भाग्नुभयो भन्दै सोध्न थाले ? 
मेरो जस्तै हालत त्यहां काम गर्ने कर्मचारीले दिनहुं भोग्नुपर्ने रहेछ । एउटा काम लिएर प्रमुखको कोठामा गयो उनले नै अनेक कुरा सुनाउने । अनेक बहाना गरेर झमेला लगाउने । हस्ताक्षर गर्नुपर्ने कागजातमा हस्ताक्षर नगरीदिने । ‘तपाई एक छिन भेट्न आउंदा त भाग्नुपर्ने अवस्था आयो हामी कसरी दिनहुं काम गर्छौ होला एक जना कर्मचारीले गुनासो पोखे ।’ धेरै कर्मचारी यस्तै अवस्था आएकाले वहाना बनाएर बिदामा बसेका छन् । दुई साता भयो हाम्रो दुर्गती भएको छ । कर्मचारी गनथन गर्दै थिए । े
भेरी अञ्चल अस्पताल मध्य र सुदुरपश्चिमको केन्द्रबिन्दु । दिनहुं हजारौ नागरीक स्वास्थ्य सेवाका लागि पुग्छन् । दर्जनौ काम कर्मचारीले भ्याउनुपर्ने हुन्छ । त्यसका लागि एउटा कर्मचारीलाई दर्जनौ पटक अस्पताल प्रमुखलाई भेट्नुपर्ने हुन्छ । तर कर्मचारी उनको कोठामै जान चाहंदैनन् । 
‘अस्पतालको सबै काम चौपट छ’ खाजा खान जिल्ला अदालतको क्यान्टिनमा जांदा भेटिएका एक जना चिकित्सकले गुनासो सुनाए–‘हामीले त हुंदैन भनेका थियौं तर मन्त्रालयवाट आदेश आएकाले स्विकार गर्न कर लाग्यो ।’ 





Thursday, January 19, 2012

धुमिल पार्ने तत्व खोजौ


श्रृजना आचार्य 
जनवरी ८ तारिखको दिन नेपालगन्जका केही पत्रकारको फेसवुकको वालमा देखियो ‘भन्सार प्रमुखले अर्थमन्त्रिलाई भने भुमिगत समुहले चन्दा माग्छन् र पत्रकारले घुस माग्छन् ।’ अर्थमन्त्री वर्षमान पुनसंग नेपालगन्ज भन्सार प्रमुख पुरुषोत्तम श्रेष्ठले व्रिफिङ्गको बेला भनेको अभिब्यक्ति पछि यस्तो प्रतिकृया सामाजिक संजाल फेसबुकमा आएको हो । 
ब्रिफिङ्गको समयमा म त्यहां थिइन त्यसैले भन्सार प्रमुखले ठ्याक्कै यहि भने भनेर चाहि म भन्ने सक्दिन । तर भोलीपल्टको दैनिक पत्रिकामा छापियो ‘भन्सार प्रमुख श्रेष्ठद्धारा आत्मालोचना ।’ भन्सार प्रमुख श्रेष्ठको प्रेस विरोधी अभिब्यक्ति प्रति नेपाल पत्रकार महासंघ बांकेले आवश्यक स्पष्टिकरणको पहल गरेको भन्दै समाचार बनाइएको थियो । केही पत्रकारहरुको उपस्थितिमै भन्सार प्रमुख श्रेष्ठले मन्त्री समक्ष दिएको सो अभिब्यक्ति आफैमा निकै गम्भिर हो । तर महासंघले थालेको स्पष्टिकरण प्रकृया प्रति भने ब्यक्तिगत रुपमा मेरो पटक्कै चित्त बुझेन । 
मन्त्री संगको ब्रिफिङ्गमा भन्सार प्रमुखले आफ्नो समस्या बताए । तर त्यसको भोलीपल्टै उनी आत्मआलोचित हुनुपर्यो । त्यहां पत्रकार महासंघको भुमिका भन्सार प्रमुखलाई आत्मआलोचित गराउने भन्दा पनि वास्तविकता पत्ता लगाउने तर्फ हुनुपथ्र्याे भन्ने मलाई लाग्छ । 
दैनिक नेपालगन्जमा प्रकाशित त्यस विषयको समाचारमा उल्लेख गरिएको छ ‘भन्सार प्रमुख श्रेष्ठले आफु आए पछि भुमिगत शसस्त्र समुहको चन्दा आतंक रोकिएको र पत्रकारको चन्दा पनि कम भएको’ अभिब्यक्ति अर्थ मन्त्री समक्ष ब्यक्त गरेपछि जिल्लाका पत्रकाहरुले कडा आपत्ती जनाएका थिए । 
सो समाचारलाई राम्रो संग पढ्ने हो भने पनि पत्रकारको चन्दा रोकिएको त रहेनछ केही कम मात्रै भएको रहेछ । तर यो विषयलाई महासंघले ध्यान दिनुभन्दा पनि भन्सार प्रमुखलाई माफि मगाउनु प्रमुख दायित्व ठान्यो । 
कुनै पनि पेशा ब्यवसायमा सय पं्रतिशत ब्यक्ति असल हुन्छन् भन्ने छैन । हाम्रो पत्रकारीता जगत पनि त्यो अवस्थावाट अछुतो रहन सक्दैन । म कतिपटक बसमा यात्रा गर्दा देखेको छु प्रेस कार्ड देखाएर केही ब्यक्ति बसको भाडा छुट गराउन बार्गेनिङ्ग गरिरहेका हुन्छन् । त्यो देखेर म लाजले पानी पानी हुन्छु । केही सरकारी कार्यालयमा रिपोटिङ्गको क्रममा जांदा कर्मचारीले केही पत्रकारको नाम नै तोकेर कार्यालयवाट दिइने सुचना र केही आर्थिक सुविधा पनि दिएको कुरा गर्छन । त्यतिवेला रातो मुख लाएर बाहिर निस्कनु बाहेक अर्काे बिकल्प हुंदैन । 
समाजमा भएका बिकृति विरुद्ध कलम चलाउने पत्रकारीता जगत भित्र थुप्रै विकृति छन् जसलाई केलाउन जरुरी छ । त्यसमा पत्रकार महासंघले पहल गर्न जरुरी छ । भन्सार प्रमुखले दिएको अभिब्यक्तिलाई गलत ठहर्याउने भन्दा पनि सो अभिब्यक्ति आउनुको कारण खोज्नु जरुरी ठान्छु म । 
जनआन्दोलन २०६२÷२०६३ मा बन्दका क्रममा मोटरसाइकलमा प्रेस टांसेर हिड्ने गैरपत्रकार उपर पत्रकार महासंघले छानविन गरेको थियो । सो क्रममा पत्रकारीताको नाम बेचेर फाइदा उठाएका थुप्रै गैरपत्रकारहरु देखिएका थिए । हाम्रो मर्यादित पेशालाई धुमिल पार्ने त्यस्ता ब्यक्ति हुन सक्छन् जसले भन्सार प्रमुखबाट लाभ लिएर हाम्रो पेशालाई बदनाम गरिरहेका छन् । त्यस तर्फ महासंघले पहल चाल्न जरुरी छ । जुनसुकै पेशालाई मर्यादित बनाउन समाजको आलोचनात्मक टिप्पणी सुन्न सक्ने क्षमता राख्नुपर्छ । अनि मात्र आफुमा भएको कमी कमजोरी हटाउन सकिन्छ । 
भन्सार प्रमुख श्रेष्ठ त्यस्ता ब्यक्ति हुन जसले सार्वजनिक रुपमा पत्रकारीता माथि टिप्पणी गर्ने हिम्मत गरे । कसैको आलोचनात्मक टिप्पणीलाई दबाउने भन्दा पनि वास्तविकता पत्ता लगाएर पत्रकारीता पेशालाई बदनाम गर्ने तत्वलाई सचेत गराउन जरुरी छ ।