Sunday, June 19, 2011

मरेको छैन अपनत्व


गोविन्द कुलपुजाका लागि सल्यान गएकाले मलाई केही दिन देखि एफएममा विहानको डिउटी गर्नुपर्ने अवस्था छ । परिक्षा नजिकिएको बेलामा दिनको दुइपल्ट एफएम जानुपर्दा मलाई निकै टाउको दुखाई भएको थियो । 
फुर्सद हुंदा पढ्न मन नलाग्ने जव एफएम जानुपर्ने बेला भयो अनि किताबको याद आउने । आइतवार विहान त मलाई विहान उठ्न निकै मुस्किल भइरहेको थियो । कारण के थियो भने एउटा नचिनेको मोवाइल नम्बरवाट राति १० वजे देखि ‘कल्पना हो’ भन्दै एउटा मान्छेले अनावश्यक फोन गरेर मेरो निन्द्रा खराब गरेको थियो । मध्य रातमा बारम्बार फोन गरेर निन्द्रा विथोलिएकाले विहान उठ्न निकै गाह्रो भए पनि आखिर एफएम त  नगई भएन । बल्ल बल्ल उठेर एफएम गए । विहान साढे ६ वजेको समाचार सकेपछि एक घण्टा फुर्सद भयो । फुर्सद हुनासाथ कम्प्युटर अगाडी छ भने पहिलो प्राथमिकता फेसबुक हेर्ने हुन्छ । 
फेसवुक अन गर्नासाथ राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रिय संयोजक मुरारी खरेल अनलाईन हुनुहुंदो रहेछ । औपचारीकताको अभिवादन आदान प्रदान पछि मैले आज के छ सर भनेर सोधे । मुरारी सरले एक जना मानवअधिकार रक्षकको छोरी वेपत्ता भएको खबर सुनाउनुभयो । 
बर्दिया जमुनी गाविस सितापुरकी मानवअधिकार रक्षक कौशीला सिंह ठकुरीकी ९ वर्षिया छोरी दिपशिखा बेपत्ता भएको प्रारम्भिक खबर आएको जानकारी दिनुभयो । त्यति खबर पाएपछि आफ्नो कर्तब्य निभाउन थाले । विभिन्न च्यानललाई फोन गर्दा घटना सांचो ठहरियो । समाचार प्रशारण भयो । 
पछिल्लो समय स–साना बालबालिकालाई अपहरण गरी फिरौती माग्ने गिरोह सकृय भएकाले हामी पनि शसंकित भयौ । कतै यो पनि त्यस्तै घटनाको निरन्तरता होकी भनेर । अनलाइनकै च्याटमा घटनाको स्थलगत रिपोर्टिङ्ग गर्ने निधो भयो । 
८ वजे समाचार सकेपछि मलाई लिन एकजना साथि आउनुभयो । अनि आयोगको गाडीमा लाग्यौ जमुनी तिर । गाउंमै पुगे पछि विभिन्न ठाउंमा मानिसहरुको झुण्ड देखियो । चौतारी, चौराहा र दोवाटोमा मानिसहरुको भिड थियो । हामीले कुरा गर्यौ गाउंमा एउटा घटना हुनासाथ कसरी पुरा गाउंनै प्रभावित हुन्छ । एउटालाई परेको दुख सबैले आफ्नो सम्झन्छन् । कौशीलाको दुखमा साथ दिन सबै गाउंले बाहिर निस्केका थिए । गाडी भित्रै हामीले गाउंले सहयोगी जिवन र शहरी स्वार्थी जिवनको तुलना गर्यौ । शहरमा माथिल्लो तलामा बस्नेलाई आपत विपत पर्दा एउटै घरको तल्लो तलामा बस्नेलाई वास्ता हुंदैन । तर यहां त गाउंनै पुरा उल्टिएको छ । खेतका काम गर्नुपर्ने असारको माचोमा पनि सबै गाउंले सडकमा निस्केर एक आपसमा कुरा गर्दै चिन्ता ब्यक्त गरीरहेका छन् । 
एउटा झुण्ड नजिक गएर कौशीलाको घर सोध्न गाडी रोकियो । त्यहां सोध्दा बालिका घरदेखि केही पर नालामा डुबेको अवस्थामा मृत भेटिएको जानकारी पायौं । नभन्दै केही पर नाला छेउमा गाउंलेको ठुलै झुण्ड देखियो । 
बालिकाको मृत्यु भइसकेको थाहा भएपछि त्यहां अब हाम्रो केही भुमिका नहुने देखियो । तर गाउंमा पुगीसके पछि केही न केही त गर्ने पर्यो । त्यसपछि चार महिना पहिला भारतीय सिमा सुरक्षा बल एसएसविले नियन्त्रणमा लिएर बेपत्ता बनाएका नागरीकको घरमा पुगेर उनीहरुको परिवारको अवस्थाका वारेमा जानकारी लियौ । फर्कने बेलामा गाउंमा पुगीसकेपछि अन्य केही भुमिका नभए पनि घटना हेरेर फर्कने निधो गरेर गरीयो । घटनास्थल नजिकै गाडी लिएर जान उचित ठानेनौ । अलिवर गाडी राखेर हिंडेर गयौं । हामी पुग्दा बालिकाको शव पानीवाट झिकेर कपडाले बांधिसकेको रहेछ । 
केहीवेर त्यहां अल्मलिएर फर्किन लागेका थियौ । दुईतिर नाला बनाएर बिचमा माटो पुरेर बनाएको बाटोमा गाडी गुड्दै थियो । बाटोको छेउ छेउमा मानिस हिंडेकाले साइड दिन चालकले गाडी किनारमा लगेछन् गाडी त हिलोमा जोतियो । निकाल्ने जति कोशिष गरे पनि गाडी निस्कने संकेत देखिएन । लौ बरवाद पार्यो हामी निकै चिन्तित भयौ । 
गाडी फसेको देखेपछि त्यहांका युवाहरुआए । कसैले धकेल्न थाले कसैले गाडी नै उचालेर निकाल्ने प्रयास समेत गरे । अचम्म रातभर बालिका खोजिमा निन्द्रां गुमाएका गाउंले शहरीया चढेको गाडी हिलोमा फसेको देखेर निकै चिन्तित थिए । वास्तवमा त्यहां अपनत्व थियो । हामी लाचार भयौ तर उनीहरुले हिम्मत हारेनन् । मानिसको भिड छंदै त्यसलाई सदुपयोग गर्न हामीलाई उल्टै सम्झाइरहेका थिए । तर जति गरे पनि पाटेको माटोमा फसेको गाडी निस्कनुको साटो झन झन हिलोमा दब्दै गयो । केही सिप नलागे पछि ट्याक्टरले निकाल्ने निधोमा पुगीयो । 
हामीसंग त्यही फसेको गाडी बाहेक अन्य केही साधन थिए्न । ट्याक्टर खोज्न कहां जांने ? त्यही भिडमा उभिएका युवा मध्यकाले आफ्नो ठुलो बुवाको ट्याक्टर भएको बताए । तर टाढा घर भएकाले साधनको आवश्यकता थियो । हाम्रै पेशाका बर्दियाका सहकर्मी मोटरसाइकल लिएर आएका थिए । उनीसंग सहयोग माग्ने निधो गरियो । 
तर त्यति धेरै सहयोगी भावनाका ब्यक्तिको बिचमा रहेर पनि ति ब्यक्तिमा आत्मै देखि मोटरसाइलक दिएर सहयोग गरौं भन्ने भावना जागेन । धेरै बेरको प्रयास पछि लाचारीका साथ बल्ल बल्ल मोटरसाइकल दिन राजि भए । सहकर्मीको मोटरसाइकलमा ति युवालाई बसालेर आयोगका मोहन जोशि जानुभयो ट्याक्टर खोज्न । 
ट्याक्टर आउन र गाडी निकाल्ने करिब एक घण्टाको अवधि लाग्यो । त्यो अवधिमा बालिका हराए देखिको भोलीपल्ट विहानको अवधिमा गाउंलेले निभाएको भुमिकाका बारेमा जानकारी पाइयो । बालिका हराएको थाहा पाउनासाथ गाउं भरीका कुनै महिला पुरुष घरमा बसेनन् । आफ्नै परिवारको सदस्य जस्तै सबैले रातभर बालिकाको खोजि गरे । भारतको जंगल, नाला, गाउंभरी जतासुकै खोजे पनि बालिका भेटिइनन् । हामी बसेको चौतारा नजिकैकी एक महिलाले भनिन् ‘कहां सुत्नु नानी राती एक वजे खाना खाएको । निदाउन कोशीस गरे पनि निन्द्रा लागेन । आंखा चिम्लना साथ त्यहि केटीको अनुहार झलक्क आंखामा आउंथ्यो ।’ 
दिनहुं मानिसको मृत्यु, अपहरण, हत्या जस्ता घटनाका बारेमा समाचार बनाउंदा, त्यस्ता घटना सुन्दा सुन्दा निर्जिव भइसकेको हाम्रो मन गाउंलेको त्यो अपनत्व भावना देखेर प्रभावित भयौं । ‘वास्तवमा बस्ने त गाउंमा नै हो । शहरमा यो अपनत्व कहां पाइन्छ र ? ’ मुरारीले भन्नुभयो । 
ट्याक्टर आयो गाडी निकाल्यौ । हामी चौपारीमा बसेका थियौं । तर रोक्दै नरोकी खुरुक्क ट्याक्टर गयौ । मुरारी सरले भन्नुभयो ‘पैसाको कुरा मोहन जीले मिलाउनुभएछ । ट्याक्टर त  रोक्दै नरोकी गयो ।’ 
त्यति भनेपछि मोटरसाइकल दिएर सहयोग गरेका हाम्रा सहकर्मीलाई धन्यवाद दिएर मुरारी सर र म गाडीमा चड्यौ । मोहन सर पहिल्यै गाडीमा हुनुहुन्थ्यो । गाडीमा पुगे पछि मुरारी सरले मोहनसरलाई सोध्नुभयो । ‘पैसा कति लाग्यो ? ’ तर अचम्म ट्याक्टर मालिक धनवहादुर काइलाले त एक रुपैया पनि लिएनछन् । 
कम्तिमा एक हजारको माग राखे भने पांच सयमा उम्काउंला भन्ने मुरारी सरको कल्पनाको उल्टा ब्यवहार गाउंले ट्याक्टर मालिक काईलाले देखाए पछि धन्यवाद समेत दिन नपाएकोमा मुरारी सर पछुताउनुभयो । 
बास्तवमा धनवहादुर काइला जस्ता सहयोगी भावना बोकेका नेपालीहरु अझै पनि हाम्रा समाजमा छन् । धन्यवाद छ काइला तिमिलाई ।  अनि समाजमा एउटालाई विपतपर्दा आफ्नै एउटै परिवार जस्तो गरेर दुख बांड्ने गाउंमा अपनत्व रहिरहोस । पाहुनालाई दुख पर्दा सहयोग गर्ने सहयोगी हातहरु कहिल्यै नथाकुन ।  


Thursday, June 2, 2011

नाइटो माथि कलेजो देखेपछि चिकित्सक समेत आश्चर्यमा



श्रृजना आचार्य
नेपालगन्ज,३० वैशाख–शरिर भित्र हुनुपर्ने मानिसको अंग बाहिरै बस्यो भने कस्तो देखिएला ? अझ आश्चर्यको कुरा त के भने शरिर भित्र रहेर काम गर्नुपर्ने अंग बाहीर निस्केर पनि काम गरीरहेको भन्ने सुन्दा अचम्म लाग्न सक्छ । नेपालगन्ज स्थित मेडिकल कलेजमा तीन दिन अघि त्यस्तै विरामी आएका छन् ।
दाङ्ग गोल्टाकुरी निवासी १७ वर्षिय खिमबहादुर बुढाथोकी अहिले नेपालगन्ज मेडिकल कलेजका चिकित्सकका लागि अध्ययनको विषय बनेका छन् । जन्मदै नाइटो नजिक मासुको डल्लो निस्के पछि उपचारका लागि विभिन्न अस्पताल पुगका बुढाथोकी निको नभएपछि त्यसै बसेका थिए । कक्षा १० मा अध्ययनरत बुढाथोकी विद्यालयमा खेल्ने क्रममा लोटे पछि मासुको डल्लोमा चोट लागेर दुख्न थालेपछि अस्पताल आएका हुन् ।
हर्निया समेत भएका बुढाथोकी तीन दिन देखि अहिले मेडिकल कलेजमा उपचारार्थ छन् । चिकित्सक अरुण शर्माले नाइटो माथि थुप्रिएको मासुको डल्लो भिडियो एक्सरे(जिएसजि) गरेर हेर्दा त्यहां बांया कलेजो देखेर छक्क परे ।
‘१० वर्षको मेरो पेशाको अनुभवमा यस्तो समस्या देखेको थिइन’ शर्माले भने–‘नत मैले कतै सुनेको छु, यस्तो समस्या देखेर हामीलाई पनि आश्चर्य लागेको छ ।’
शरिर बाहिर नाइटो माथि मासुको डल्लोमा बसेको बांया कलेजोले शरिर भित्र भएको दांया कलेजोले जस्तै राम्रो संग काम गरीरहेको चिकित्सक शर्माले बताए । ‘नर्मल अवस्थामा लिभरले काम गरीरहेको छ’ शर्माले भने–‘उपचार पद्धतीका विषयमा देश वाहिरका सुविधा सम्पन्न अस्पतालका चिकित्सकसंग परामर्श गरीरहेका छौं ।’
शल्यकृयावाट कलेजो शरीर भित्र लैजाने सम्भावनाका विषयमा विदेशी चिकित्सकसंग परामर्श भइरहेको शर्माले बताएका छन् ।
१७ वर्ष देखि हर्निया सहित दुईवटा मासुकोे डल्लो शरिरमा लिएर हिंडेका खिम बहादुर र उनका परिवारलाई कलेजो शरिर बाहिरै बसेको छ भन्ने थाहा थिएन । चिकित्सकले सो कुरा बताए पछि खिमबहादुरका बुवा धरसिंह आत्तिएका छन् ।
नाइटो माथि पलाएको डल्लो निको पार्न धेरै पटक उनका बुवा धरसिंह बुढाथोकीले धेरै अस्पताल डुलाउंदा समेत निको नभएपछि तीन दिन अघि नेपालगन्ज मेडिकल कलेज पुर्याएका थिए ।
अस्पतालका चिकित्सक अरुण शर्माले युएसजि प्रविधिवाट सिटिस्क्यान गर्दा डल्लोमा बांया कलेजो रहेको पत्ता लगाएका हुन् ।
कक्षा १० मा अध्ययनरत बुढाथोकीको जन्मदै नाइटो नजिक डल्लो देखिएको थियो ।‘आमा १५ वर्षकी हुंदा छोरा जन्मिएको हो जन्मदै मासुको डल्लो देखेर नर्शहरु पनि तर्सिएका थिए’ युवकका बुवा धरसिंहले भने–‘यहांका डक्टरले अचम्मको कुरा सुनाएका छन् कसरी उपचार गर्ने ? ’ खिमबहादुरको उमेर बढ्दै जांदा मासुको डल्लो पनि ठुलो हुंदै गएको परिवारका सदस्यले बताएका छन् । अहिले सम्म यस्तो उदाहरण नदेखेका चिकित्सकहरुले उपचारका लागि भारत बैङ्गलोर स्थित अपोलो अस्पतालका चिकित्सकसंग परामर्श गरीरहेको बताएका छन् । कलेजो र मृगौलाको प्रत्यारोपण गर्ने अपोलो अस्पतालका चिकित्सको सल्लाह अनुसार अन्य थप उपचार अघि बढाउने चिकित्सक शर्माले बताए । आर्थिक अवस्था कमजोर रहेका बुढाथोकी परीवारले उपचारमा लाग्ने खर्च जुटाउन समस्या परेको बताएका छन् । ‘डक्टरले यही उपचार गरे भने औषधि गराउंछु धरसिंहले भने–‘वाहिर लैजाने म संग पैसा छैन ।’ उनले चिकित्सकले छिटो निर्णय दिए छिटै घर फर्कने मनस्थितिमा पुगेको बताए ।

Monday, May 30, 2011

नयां संविधानः आशा र निराशा


श्रृजना आचार्य
नेपालगन्ज,१५ जेठ–राजनीतिक दलहरुले संविधान सभाको म्याद थप्ने क्रममा गरेका पांच बुंदे समझदारी स्पष्ट  कार्ययोजना र मार्ग चित्र बिना आएका कारणले थपेको तीन महिनाको अवधिमा पनि संविधानको खाका तयार हुनेमा बांकेका धेरै नागरीक अगुवा आशावादी छैनन् ।
उनीहरुले यो समझदारी संविधान सभाको म्याद थप गर्नका लागि मात्र गरिएको समझदारी भनेका छन् । ‘प्रयास सकारात्मक हो तर कार्यान्वयन हुन्छ भन्नेमा शंका छ’ अधिवक्ता वशन्त गौतमले भने–‘पांच वुंदे सहमति अमुर्त छ ।’ उनले राजनीतिक दलले फेरी पनि पांच बुंदे सहमति पत्रमा उल्लेख भएका कुरामा टेकेर थप सहमति र सम्झौताका लागि राजनीतिक खिचातानीमा लाग्ने संकेत देखेका छन् । ‘स्पष्ट कार्ययोजना छैन सहमतिलाई जसले जसरी ब्याख्या गरे पनि हुन्छ’ अधिवक्ता गौतमले भने ।
सामाजिक कार्यकर्ता इश्वरी विकले त पांच बुंदे सहमतिलाई षडयन्त्रमुलक सहमति भनेका छन् । ‘पुर्ण निकासका रुपमा सहमतिलाई हेर्न सकिन्न, यो क्षणिक निकास हो’ विकले भने–‘स्पष्ट खाका नभएकाले भोलीका दिनमा झन संकट निम्त्याउंछ ।’
उनले सहमतिमा भएको प्रधानमन्त्रीले राजनीनामा दिने र राष्ट्रिय सरकार गठन गर्ने भन्ने विषयमा नै राजनीतिक दलहरु थपेको समय सम्म अलमलिन सक्ने बताए । ‘राजनीतिक दलहरुको चरित्र देखिएकै छ’ विकले भने–‘थपेको समयमा राष्ट्रिय सरकार पनि बन्ला भनेर ढुक्क हुन सकिन्न ।’
पत्रकार सुरेन्द्र काफ्लेले राजनीतिक दलको कृयाकलापलाई नाटक मञ्चनको संज्ञा दिए । ‘रातभरी नसुतेर टिभीमा राजनीतिक दलका कृयाकलाप हेरीयो’ पत्रकार काफ्लेले भने–‘नाटककै गरे जस्तो देखियो ।’ उनले पनि सरकार बन्ने कुराले लामो समय लिने र त्यसले संविधान निर्माणको विषयलाई पाखा लगाउन सक्ने आशंका ब्यक्त गरे । ‘विश्वास गर्ने आधार कहिं कतै देखिएन’ काफ्लेले भने–‘ कार्ययोजनाको खाका सहित सहमति आएको भए आशा गर्न सकिन्थ्यो ।’
तर उनले नागरीक संग राजनीतिक दललाई विश्वास गर्नु भन्दा अर्काे विकल्प नभएको बताए । ‘हामी नागरीक बाध्यताको घेरामा छौं’ उनले भने–‘राजनीतिक दललाई विश्वास गर्नु हाम्रो बाध्यता हो ।’ सर्वाेच्च अदालतले पनि संविधान सभाको म्याद ६ महिना भन्दा बढी थप्न नमिल्ने भनेर फैसला गरेकाले राजनीतिक दलहरुसंग तीन महिनामा संविधानको खाका ल्याउनुको विकल्प नभएको उनले बताए ।
ब्यवसायी दामोदर आचार्यले भने संविधान सभाको म्याद थपिएको विषयलाई सकारात्मक रुपमा लिएका छन् । उनले जसरी रातारात भएपनि राजनीतिक दलहरु एउटा सहमतिमा आए त्यसरीनै संविधान निर्माणको कामलाई पनि निरन्तरता दिए समयमै संविधानको खाका आउनेमा उनी विश्वस्त छन् ।
‘विश्वस्त त हुनै पर्छ’ ब्यासायी आचार्यले भने–‘राजनीतिक दललाई नकारात्मक रुपमा हेर्ने भन्दा पनि नागरीक अगुवाहरुले बाटो देखाउनुपर्छ ।’
अर्का सामाजिक कार्यकर्ता अञ्जु पाठकले अब पनि संविधानको खाका नआए मुलुक संकटमा जाने भएकाले राजनीतिक दलहरु बिच बिकल्प नभएको बताइन् । ‘संविधान सभाको बैठक समेत नबसेर सभासदहरुले तीन वर्षको महत्वपुर्ण समय खेर फालेका छन्’ पाठकले भनिन्–‘अब राजनीतिक दल र सभासदले समयको महत्वलाई बुझ्नुपर्छ ।’
बांकेका नागरीक अगुवाहरुले राजनीतिक दलको चरित्र सुधार्न र थपेको समयमा संविधानको खाका ल्याउन अब नागरीक समाजको ठुलो भुमिका हुने देखेका छन् । ‘अब नागरीक समाजले क्याम्पेनिङ्गको काम गर्नुपर्छ’ सामाजिक कार्यकर्ता विकले भने–‘संविधानका विषयमा सामान्य जानकारी समेत नभएका नागरीकलाई सचेतीकरण गर्न जरुरी छ ।’ ब्यवसायी आचार्यले सबै क्षेत्रलाई अधिकारका कुरा संविधानमा खोज्नुपर्ने सुझाव दिए । ‘अब बन्द हड्ताल गरेर अधिकार खोज्ने होइन’ ब्यवसायी आचार्यले भने–‘संविधान निर्माणको विषयलाई प्राथमिकतामा राखेर आफ्ना कृयाकलाप अगाडी बढाउनुपर्छ ।’ उनले राजनीतिक दललाई वाटो देखाउने र समयमै संविधान जारी गर्न नागरीक समाजले अहिले नै दवाव मुलक कार्यक्रम गर्नुपर्ने बताए । अधिवक्ता बशन्त गौतमले सर्वसाधारण नागरीकलाई जागरुक गराउने काम र राजनीतिक दललाई कर्तब्य पुरा गर्न दवाव दिने काम अहिले देखि नै सुरु गर्नुपर्ने बताए । पत्रकार सुरेन्द्र काफ्ले नागरीक समाज पनि राजनीतिक विचारधारावाट प्रभावित भएकाले पहिला निष्पक्ष हुने र त्यसपछि दवाव मुलक कार्यक्रम संचालन गर्नुपर्ने बिचार राखे । उनले थपेको एक वर्षको अवधिमा संविधान निर्माणका लागि नागरीक समाजवाट दवाव नपुगेको बताए । ‘जेठ १४ नजिकिदै गए पछि मात्र नागरीक समाज पनि तातेको देखियो’ काफ्लेले भने–‘दवावमुलक कार्यक्रमका लागि नागरीक समाजले अब ढिलो गर्नुहुंदैन ।’
मध्यरात सम्म बसेर सहमति गरेका राजनीतिक दलहरुले त्यसको ६ घण्टा नबित्दै सहमतिलाई आ–आफ्नै ढंगले ब्याख्या गर्न थालिसकेका छन् । सत्तारुढ दलले यो सहमतिलाई चमत्कारीक परिवर्तनको संज्ञा दिएका छन् भने संविधान सभाको म्याद थप्ने विषयमा मतदानमा भाग नलिएका मधेसवादी दलहरुको आशा झिनो छ ।


Friday, May 27, 2011

विजोग छ अवस्था


संविधान नबनेको बहाना बनाउंदै जेठ १४ आउनु केही दिन देखि लगातार बन्दै बन्द भए । कहिले कसको बन्द, कहीले कस्को बन्द । बन्दै बन्दको राजनीतिमा नेपाली नागरीकले पाउनु सम्मको सास्ती पाए ।
वर्ष भरी भारतका विभिन्न ठाउंमा गएर मजदुरी गरेर घर फर्कन लागेका नेपालीले सबै भन्दा ठुलो हण्डर खाए । घर पुग्ने उमंग लिएर नेपालगन्ज सिमाना पुगेका नेपालीहरु लगातारको बन्दको खबरले निरास भए । बल्ल बल्ल कमाएर ल्याएको दुई चार हजार रुपैया पनि नेपालगन्जका होटलमा खर्चेर घरजाउं कि भारत फर्काै भन्ने अवस्थामा पुगे ।
संविधान नबनाउने राजनीतिक दल, सभासद अनि दुख पाउने हामी यो कस्तो अन्याय ?
मुलुक भर बन्दको राजनीति चलिरहंदा काठमाण्डौमा बसेका राजनीतिक दलहरु भने कुर्चीकै राजनीतिमा ब्यस्त छन् । संविधान सभाको म्याद थप्ने प्रमुख काम, लक्ष्य, गन्तब्य भए पनि सबैले त्यसका लागि सर्त राखेका छन् । जसको फाइदा उठाउंदै बन्दको श्रृंखला पनि बढ्दो छ ।
कहिले त आयोजक बिना नै बन्द गरिए । १२ गते सांझ मलाई एक जना स्थानिय माओवादी नेताले फोन गरे । १० र ११ गतेको विश्व हिन्दु महासंघको बन्द थियो । त्यसको अगाडी थारुवानको बन्द । लगातारको बन्दले आजित परेको बेलामा अब त बन्दको सिलसिला सकियो भनेर श्वास फेर्न नपाउंदै ति नेताले प्रश्न गरे भोली कसको बन्द हो ?
लौ पार्यो वित्यास । भोलीको बन्द त मलाई थाहा छैन मैले भने । कस्तो पत्रकार तपाई बन्द कसको भन्ने पनि थाहा नपाउने । लाग्छ म आफै हुं बन्द आयोजक जसरी ती नेताले ब्यङ्ग गरे ।
लगातारको बन्दले आफ्ना आधारभुत आवश्यकताका सामान किनमेल गर्न नपाएर अप्ठेरोमा परेको बेलामा फेरी बन्दको हल्ला । मैले पनि दुई चार जनालाई फोन घुमाए । भोली कसको बन्द हो ? तर कसैवाट सहि उत्तर आएन । बन्द भन्ने सबैले सुनेका छन् तर कसले गरेको थाहा छैन ।
नभन्दै भोली पल्ट दिनभरी गाडि चलेन । हल्लै हल्लाले बन्द भए पछि यस अघि बन्दको आयोजना गरेकाहरुलाई सोधियो । बन्दको आयोजना तपाईहरुले गरेको हो ? उनीहरुले मिडियालाई बन्द आफुहरुले नगरेको स्पष्ट पारेपछि दिउसोवाट यातायात र बजार सुचारु भयो ।
यस्तो विजोग छ नेपालको अवस्था । गर्ने पर्ने काम चाहि नहुने तर गर्ने नहुने काम चाहि हल्लाका भरमा पुरा हुने कस्तो उल्टा जमाना आएछ । हल्लै हल्लाका कारण सयांै नागरीकले सास्ती पाए । त्यसको जिम्मेवारी कसले लिने ? यहां त एक जनाले नगरको चोकमा उभिएर भोली बन्द है भनेर दुई चार जनाले सुन्नेगरी भने पनि वजार ठप्प हुने अवस्था आयो । यस्तो अराजकता, कानुनको खिल्ली उडेको अवस्था कहिले सम्म हुने ?
तीन सय ६५ दिनमा मध्यपश्चिममा एक सय ३५ दिन त बन्द भए । त्यसमा पनि सबै भन्दा बढी बन्द चैतमा भएको छ । चैतमा मात्र मध्यपश्चिममा २६ दिन सम्म बन्द भयो । यस्तो तालिका हेर्दा लाग्छ अब बन्द कहिले होला भनेर खोज्नु भन्दा पनि बन्द खुल्ने दिन कहिले होला भनेर क्यालेण्डरमा चिनो लगाउनुपर्ने बेला भएको छ । नेपालगन्जवाट काठमाण्डौ जान हिंडेको मान्छे कहिले गन्तब्यमा पुग्छ कुनै ठेगान छैन । फर्कने आस त कमै गरे हुने भो । बन्दको न रुप छ रंग छ । जतिवेला मन लाग्यो त्यति बन्द । जसलाई सनक चढ्यो उसैले बन्द गरेको छ । अझै अनौठौ त कहिले कुनै जिल्ला बन्द, कहिले कुनै सडक खण्ड बन्द, कहिले कुनै नगर बन्द, कहिले क्षेत्र बन्द, कहिले अञ्चल बन्द त कहिले पुरै नेपाल बन्द ।

Sunday, May 8, 2011

पुष्पलाल चोकमा सभासदको चर्तिकला


श्रृजना आचार्य
उनी घरी रिक्सामा चढ्थिन अनि ओर्लन्थिन । मानौ कुनै महत्वपुर्ण कुरा विर्सिरहेकी छन् । हातमा रहेको मोवाइलमा कुरा गरिरहन्थीन मानौ कसैलाई अर्ति उपदेश दिंदैछन् । तर उनको मोवाइलमा नम्बर डायल भने भएको हुदैनथ्यो ।
पुष्पलाल चोकको वल्लो छेउ र पल्लो छेउ ओहोर दोहोर गर्दा लाग्थ्यो कसैको प्रतिक्षाका लागि समय कटाउन उनलाई मुस्किल परिरहेको छ । बोलीरहन्थीन तर बोली बुझिदैनथ्यो ।
एउटा सामान्य मानिसले यस्तो चर्तिकला गरेको भए सर्वसाधारण मानिसलाई उनी मानसिक सन्तुलन ठिक नभएकी महिला हुन भनेर अड्कल लगाउन कुनै मुस्किल पर्दैनथ्यो । तर उनी त असाधारण मानिस थिइन । हामी सबैले हाम्रा लागि संविधान लेख्न भनेर संसदमा पठाएकी सभासद् ।
असाधारण भएकै कारण उनलाई आफु असुरक्षित छु भन्ने लागेको हुनसक्छ । त्यसैले असुरक्षित भएको भन्दै सभासद सारदा नेपालीले नगरको ब्यस्त पुष्पलाल चोकमा निस्केर सुरक्षाकर्मीको खोजि गर्न निस्कदा  वरपरका दर्शकहरुलाई समेत दंग पारिन ।
चोकमा सुरक्षाका लागि तैनाथ सुरक्षाकर्मीलाई आफु सभासद भएको कुरा गर्वका साथ भन्दै सुरक्षा दिन आदेश दिंदै गर्दाको यो सब चर्तिकला देखेर वरपरका दर्शकले निकै मनोरञ्जन लिए । वैशाख २५ गते विहान सात वजेकै थिएन । शनिवारको विहानी पलमा नसामा लठ्ठिीएको अवस्थामा देखिएकी शारदाको कृयाकलाप हेर्नेको भिडै लाग्यो । नजिकैको एउटा होटलवाट निस्केर सडकमा पुगेकी  ती सभासदलाई सुरुमा धेरैले चिनेनन् ।
प्रहरीलाई आफ्नो परिचय दिंदै सुरक्षाका लागि आदेश दिएपछि सर्वसाधारण नागरीकले उनी त आफ्नै सभासद रहेछन् भन्ने थाहा पाए । नसाको तालमा कुनै बेला सडकका रिक्सामा चढ्ने र झर्ने गरीरहेकी उनी त्यति गर्दा गर्दै नजिकैको विरेन्द्र प्रहरी ब्यायामशाला अगाडी पुगेर आफुलाई सुरक्षा नदिएकोमा ठुलो गुनासो गरिन् । प्रहरी संग अंगरक्षकको माग गरिन । लोग्नेवाट असुरक्षित भएको भन्दै  सभासद प्रहरी गुहार्न पुगेकी हुन् ।
‘म सभासद हुं, वर्दिया प्रहरीले मलाई सुरक्षा गार्ड दिन्थ्यो यहां पाइन्’ शारदा भन्दैथिइन ।झण्डै दुई घण्टाको उक्त हर्कत पछि दंगा नियन्त्रण प्रहरी गणले आफुले सुरक्षा दिन नमिल्ने बताएर जिल्ला प्रहरीलाई खबर गरेको थियो ।  
नेकपा माले समाजबादी पार्टीवाट समानुपातिक सभासद सारदा त्यस पछि रिक्सा चढेर बजार तिर लागीन । रक्सीको नासमा  दुई घण्टा सम्म सुरक्षा खोजिन् प्रत्यक्षदर्शी जनार्दन पाण्डेले भने–‘सुरक्षा नपाए पछि रिक्सा चढे्र वजार तिर लागीन ।’
गृह जिल्ला वर्दियावाट काठमाण्डौ जान आएकी शारदा अघिल्लो दिन देखि पुष्पलाल चोक नजिकैको न्यू नेपाल गेष्टहाउसमा श्रीमानसंगै बास बसेकी थिइन । तर, विहान उठेर सडकमा आउंदा विछिप्त अवस्थामा देखिइन ।
संबिधानसभामा प्रधानमन्त्रीको सृङ्खलाबद्ध निर्बाचनका बेला पनि आत्महत्याको प्रयास गरेर चर्चा बटुलेकी शारदाको यो हर्कत पनि अखबारका पानामा ठुला ठुला अक्षरमा छापिएका छन् । प्रहरीको टाउको दुखाई बनेका कारण प्रहरी प्रमुख महेश विक्रम शाहले मेडिकल चेक गराएर खोरमा जाक्ने धम्कि दिउपछि माया नपाएर विछिप्त भएको बताएकी शारदा शनिवार सांझ काठमाण्डौ फर्कने बताए पनि नेपालगन्ज छोडिनन् ।

Monday, May 2, 2011


आतंककारी सन्जाल अलकायदाका नाईके ओसामा विन लादेन मारीएको समाचारले विश्वभर शान्तिको सन्चार भएको छ । नेपाल ,भारत पाकिस्तान जस्ता मूलकुमा आफनो सन्जाल बिस्तार प्रयासमा रहेका आतंकबादका नाईकेलाई अन्तगरेको अमेरीकी राष्टपति बाराक ओमाले  आतंकबादको एउटा रुख ढलेको घोषणा गर्न साथ सन्सारका सडकमा खुशि ब्यक्त गर्नेहरुको ओईरो लाग्यो । 
 अमेरिका जस्तो शक्ति सम्पन्न मूलूकलाई ओसामाबिन खोज्न पुरा दशबर्ष लाग्यो  । तर, ढिलै भएपनि आतंको सत्रन्जबाट एउटा राजा ढलेको छ ।  त्यसैले पनि  अमेरीकाका राष्ट्रपति वराक ओवामाले आतंकवाद अझै समाप्त नभएको बताएका छन । पकिस्तानमा लुकेर बसेका लादेको  मृत्युको खबरले अमेरीकामा मात्र नभई शान्ति चाहने हरेक मूलकमा  खुसी छाएको छ । 
अमेरीकाले ढिलै भए पनि आतंकवाद विरुद्धको एक खुड्कीलो चढेको टिप्पणी गरेको छ  । उनको यो वक्तब्यले के संकेत गर्छ भने आतंकवाद ब्यक्ति होइन प्रवृत्ति हो । गरिबी, भोक, रोग र शोकले पनि आतंकवाद जन्माउंछ । त्यसैले  आतंकवाद जन्माउने कारक तत्कलाई निमिट्यान्न पार्ने तर्फ अभियान थाल्नु सान्दर्भिक हुन्छ । 
शक्तिशाली अमेरीकालाई चुनौति दिएकाले ओसामा विन लादेन विश्व परिचित आतंकवादी बने । गरिबि, अशिक्षा, वेरोजगार र अवसरको अभावमा नेपालका कुना कन्दरामा पनि त्यो प्रवृत्ती मौलाई रहेको छ । शिक्षित बेरोजगार मुलुक छोडेर हिडेका छन् भने अशिक्षित बेरोजगार युवा युवतीमा वितिष्णा जागीरहेको छ । यो गम्भिर समस्यालाई बेलैमा नबुझ्ने हो भने ओसामाविनका रक्त विजहरु नेपालमा पनि नबिउझिएलान भन्न सकिन्न । अर्कातिर नेपाली सुरक्षा  निकायले बिभिन्न रुप रुंगमा  आतंकबाद फल्छ फूल्छ भन्ने कुराको हेक्का राखेर कुनै आतककारी समाप्त गर्न दश बर्ष मेहनतगर्नु नपर्ने ढंगले तयारी गर्नु जारुरी छ । तराईको आंतक पनि ओसामा बिन दालेदको भन्दा फरक छैन । जात धर्म र गरिबीका निहु र आडमा हुर्केने  अराजक समूहनै पछि आतंकबादको रुपमा उदय हुने गरका धेरै उदाहरण छन ।  यो घटनाबाट सबैले सिक्नु आबश्यक छ । 


Wednesday, April 27, 2011

भासिएकी अनुजा

श्रृजना आचार्य 

सन्चार माध्यमलाई टेकेर कथित इमान्दारीताको उचाई चुम्ने नाटकिय प्रयास गरेको तेस्रो दिनै अनुजा बानिया बेईमानिको ठूलो दलदलमा भासिन पुगीन् । सकारात्मक समाचारको खडेरीमा  अनपढ अनुजाले पत्रकारलाई ठूलो शिक्षा दिदै रचेको घटना सञ्चार माध्यमले महत्वका साथ प्रकाशित गरेर भ्रष्ट समाजमा अझै आदर्श लुकेको रहेछ भन्ने गहिरो छाप सबैका मन मस्तिष्कमा पार्न सफल भयो ।  
घर छिमेकमा मुस्किलले परिचित अनुजालाई उक्त कथित आर्दश बोकेको समाचारले विश्व ब्यापि बनायो । विश्वासमा ख्याति कमाएका सन्चारमाध्यमका लागि उनको कोरा दिमागको खुराफात ठूलो खुराक बन्न पुग्यो ।  
समाजमा जरो गाड्दै गएको बेइमानी, फटाई र भ्रष्टाचार लगायत नकारात्मक कुरा मात्र समाचारका बिषय बनाउने संचार माध्यमलाई अनुजाको चुतु¥याई युक्त आदर्श  महत्वको बिषय यसकारण बन्यो कि समाजमा कतै अझै  निष्ठाको  अबशेष बाकि छ । 
सत्य भईदिएको भए यो घटना बिश्व मानव समाजकै लागि पाठ हुने थियो । तर, रहस्य खुल्दा  केवल आफूलाई चर्चामा ल्याउन अनैतिक ढंगले गरेको अभिनय पुष्टि भयो । जे होस यसलाई दुई बेग्ला बेग्लै तर सकारात्मक रुपमा बुझन र ग्रहण गर्न सकिन्छ ।  
ईमान देखाउने कथाबुन्दा झन बेईमान हुन पुगेकी अजुनाको समाचार अन्य अपराध र नकारात्क समाचार भन्दा बढी प्रभाबकारी साबित भएको छ । हत्या अपहरण र भ्रष्टचारका समाचार पढदा सुन्दा र हेर्दा मानिस दिक्क मान्ने भएकाले त्यसको प्रभाव वा प्रतिकृया निकै न्यून देखिन्थो । तर, बईमानिनै  गरेको भएपनि अनुजालाई लाखौ लाख पाठकले एकाएक  आदर्श पात्रको सर्बोतकृष्ठ उदाहरणका रुपमा लिए । वाह वाह वाह अनुजा घर सडक पसल जताततै उनको नाम लिनेहरुको लहरनै देखियो । नकिन्ने मानिसले पत्रिका किने भने एउटा अखबारले छापेको समाचार नछाप्ने अखवारले पनि अर्को दिन  प्रकाशित गरे ।  
अनुजा प्रकरणले पाठक, दर्शक र श्रोता सधै आदर्शको पक्षमा रहेको  स्पष्ट देखायो । कमै सञ्चार माध्यमले सकारात्मक कुरालाई प्रथामिकता दिने पत्रकारितको सस्कृति मौलाई रहेका बेला अपवाद स्वरुप अनुजा समाचार बन्न पुगेकी हुन ।  असत्य साबीत भएको यो प्रकरणमा सबै भन्दा ठूलो चोठ सञ्चारकर्मीले सहनु परेको छ ।  चोट वा लगनशिलताले नै खार्ने भएकाले पनि पत्रकारले  भावनात्मक रुपमा  नभई  सत्यताको गहिराईमा  छोएर सम्प्रेषण गर्न पे्ररित गरेकी छिन अनुजाले  । 
अनुजा प्रकरणमा समाचार प्रतिको बिश्वास देखियो  । मानिस कति बिश्वास गर्छन सञ्चार माध्यमलाई  भन्ने उदाहरण राष्ट्रपति बने । तर, उनले जस्तालई आधार मानेर बिश्वास गरे पछि त्यहि  माध्यमले बिश्वासमा चोट पुराएको महसुस गरे ।  
कथित इमान्दारीताको सानो प्रकाशले सर्बत्र ठुलो रिफ्ल्याक्सन देखायो । एक अशिक्षित युवती संग संसार झुक्याउने  चतुर दिमाग पनि देखियो  । नकारात्मक कुराको विकिरणले विशुद्ध भएको समाजमा उक्त कथित समाचारले सबैको मनमा फरक भावनाको जन्म गरायो । 
जनताले भोट दिएर  चुनेका दूई सभासदले पंैसाकै लागि आफ्नो इमान बेचेको खबर पछि बेईमानि प्रमाणित भएलगतै  पक्राउ परेको समाचार सेलाउन नपाउदै अनुजा सबैलाई झुक्काउने पंतिमा अग्रणी बनेर उदाईन । 
सार्वजनिक सवारी साधनमा ९१ लाख रुपैया र हिराको हार फेला पारेर पनि सम्बन्धित धनिलाई त्यो रकम फिर्ता गरिदिएको घटनाले अनुजा चर्चामा आएकी हुन् । भोजपुर झुल्के घर भई धरानमा बस्दै आएकी २१ वर्षिय अनुजा अहिले शंकाको घेरामा छन् । किनकी उनले जसलाई रकम फिर्ता गरिदिए भनिन ति ब्यक्ति अहिले सम्म सार्वजनिक भएका छैनन् । 
धेरै राम्रो र धेरै नराम्रो दुबै कामले मानिसलाई बिख्यात र कुख्यात बनाउछ  । तर, अनुजाले गरेको कामलाई के भन्ने ? उनी त कुनै कामनै  नगरी चर्चित भइन् । काम गरेको भन्ने हावा मात्र फैलाइन भन्ने आरोप उनलाई लागेको छ । 
अरुलाई जे लागे पनि एक दिन भए पनि अपत्यारीलो, उदाहरणीय समाचार त पढ्न सुन्न पाउदा मलाई खुसीनै लाग्यो । पैसाकै लागि पांच वर्षिय बालक समेत अपहरण गर्न तयार हुने अपराधि, आफनो पासपोर्ट समेत बिक्रिगर्ने सभासद र अन्य भ्रष्टनेताको तुलनामा अनुजाले आफुलाई चर्चाको चुलीमा पुर्याउन गरेको प्रयासलाई अपराध भन्न सकिएला ?